बिग्रिएका कोरोना उपचारका उपकरण मर्मत गर्ने कांग्रेसको अभियान

मंगलबार, १८ जेठ, २०७८
डिजिटल संस्करण

 कांग्रेसले बायो मेडिकल इन्जिनियरहरूको स्वयंसेवी समूह निर्माण गरी ‘स्वास्थ्य उपकरण सहजीकरण अभियान’ थालेको छ । कोरोना उपचारका उपकरणहरूको पुनर्निर्माणमा अस्पताल, स्वास्थ्य संस्थाहरू एवं आवश्यक व्यक्तिहरूलाई देशव्यापी रूपमा निःशुल्क सेवाका लागि अभियान थालिएको हो ।

अभियानअन्तर्गत बायो मेडिकल इन्जिनियरहरूले देशभरका अस्पताल, स्थानीय स्वास्थ्य संस्थाहरू वा होम आइसोलेसनमा रहेका संक्रमित कसैले पनि प्रयोग गरिरहेका उपकरणहरूमा कुनै पनि प्रकृतिको प्राविधिक समस्या भए निःशुल्क मर्मत र समाधान गर्ने कांग्रेसका प्रवक्ता एवं सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख विश्वप्रकाश शर्माले जानकारी दिए । उनका अनुसार उपकरणको सही ढंगले प्रयोग गर्न आवश्यक ज्ञान जरुरी परेकालाई स्थिति अनुकूल प्रत्यक्ष अथवा वाट्सएप, भाइभर, इमो, म्यासेन्जर, फोन आदि कुनै माध्यमबाट प्रशिक्षित गर्ने व्यवस्थासमेत मिलाइएको छ । 

अभियानको नेतृत्व कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागले गरेको छ भने शुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन)को सहभागितामा देशैभरि बायो मेडिकल इन्जिनियरहरू परिचालित हुनेछन् । ‘कोरोनाको महामारीबाट दैनिक रूपमा सयभन्दा बढीको मृत्यु भइरहेको छ । यो स्थिति नियन्त्रण गर्दै नागरिकको जीवनरक्षा गर्न र महामारीउपर विजय हासिल गर्न हरसम्भव उपाय अवलम्बन गर्न जरुरी छ । त्यस क्रममा विषयगत सेवा उपलब्ध गराउन बायो मेडिकल इन्जिनियरहरूको स्वयंसेवी समूह निर्माण गरेर निःशुल्क सेवाको ‘स्वास्थ्य उपकरण सहजीकरण अभियान’ प्रारम्भ गरिएको छ,’ प्रवक्ता शर्माले विज्ञप्तिमार्फत भनेका छन् । 

कोरोनाको उपचारमा जरुरी मेडिकल उपकरणहरूको प्रयोगमा कतिपय ठाउँमा दक्ष जनशक्ति अपुग भएको, कतिपय ठाउँमा उपकरणहरूको प्रयोगमा व्यावहारिक कठिनाइ उत्पन्न भएको र कैयौँ ठाउँमा अत्यावश्यक उपकरणहरूमा खराबी उत्पन्न हुँदा त्यसलाई मर्मत गर्न नसकिएकोजस्ता समाचार र सूचना आएपछि कांग्रेसले यस्तो अभियान थालेको हो । 

‘होम आइसोलेसनमा रहेका लाखभन्दा बढी संक्रमितमध्ये उपकरण प्रयोग गर्नुपर्ने अवस्थाका कैयौँले पनि यस्तै समस्या भोग्नुपरेको छ । यही तथ्यलाई ध्यानमा राखेर यो अभियान सुरु गरिएको हो,’ विज्ञप्तिमा भनिएको छ । 

यस्ता निःशुल्क सेवा लिनका लागि अस्पताल, स्थानीय स्वास्थ्य संस्था, संक्रमित व्यक्ति, संक्रमितका परिवार या स्थानीय स्वयंसेवीले ‘केन्द्रीय रेस्पोन्स टिम’ वा अभियानको प्रदेश संयोजक या सदस्यलाई सम्पर्क राख्नुपर्नेछ । त्यसपछि सम्भव भएसम्मका ठाउँमा बायो मेडिकल इन्जिनियरहरूले भौतिक रूपमै पुगेर सेवा दिने र नभए प्रविधिका अन्य विविध माध्यमबाट सेवा दिने प्रबन्ध गरिएको छ । 

सूचना, सञ्चार तथा प्रचार विभाग सदस्य एवं प्रविधि उपसमितिका संयोजक ई. दीपेश विष्ट ९९८५१०७६०३००, सिडेनका अध्यक्ष ई. उमेशप्रसाद थानी ९९८५१०८९४४८० र विभाग सदस्य तथा नेपाल मेडिकल एसोसिएसनका पूर्व अध्यक्ष डा. अन्जनीकुमार झा ९९८५१११७५३८० रहेको ‘मूल समन्वय समिति’ निर्माण गरिएको छ भने बायोमेडिकल इन्जिनियरहरूको देशव्यापी रूपमा संयोजन इन्जिनियर हरिराम दवाडीले गर्नेछन् ।

अभियानअन्तर्गत केन्द्रीय रेस्पोन्स टिमको संयोजन इन्जिनियर हरिराम दवाडी ९९८५१०६५२०८० ले गरेका छन् । केन्द्रीय रेस्पोन्स टिम १५ सदस्यीय छ । यस्तै, प्रदेशमा पनि छुट्टै टिम परिचालन गरिएको छ । 

सुझावित समाचार