बारबरा फाउन्डेसनले कोभिड महामारीविरुद्ध अग्रपंक्तिमा खटिने सरकारी तथा सामुदायिक अस्पतालमा कार्यरत डाक्टर, नर्स, स्वास्थ्य कर्मचारी, एम्बुलेन्सचालकको सम्मानमा एक करोड राशिको पुरस्कार घोषणा गरेको छ । उद्यमी सुहृद घिमिरेबाट पुरस्कारका लागि रकम प्राप्त हुने बारबरा फाउन्डेसनका अध्यक्ष डा. सन्दुक रुइतले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
पुरस्कार राशि घोषणा गर्ने घिमिरेले देशभरका एक सय स्वास्थ्यकर्मीलाई सम्मान गर्न आफूले फाउन्डेसनलाई सुझाब दिएको जानकारी दिए । ‘पहिला म ह्याम्स अस्पतालको अध्यक्ष थिएँ । यसबीचमा कोभिडका बिरामीलाई बेड मिलाइदिनुप¥यो भनेर धेरैको अनुरोध आयो । हरेक दिन म २–३ घन्टा अस्पताल जानुपर्यो ।
परिवारका सदस्य नै नजिक जान डराइरहेका बिरामीलाई नर्सहरूले सम्हालेर बेडमा लगेर उपचार गरिरहेको देखेँ,’ उनले भने, ‘वास्तवमा स्वास्थ्यकर्मीहरूले ठूलो जोखिम लिएर बिरामीको उपचार गरिरहेका छन् । यस्तो सेवा गरिरहेका स्वास्थ्यकर्मीलाई सम्मान गर्नुपर्छ भन्ने विषयमा परिवारमा पनि छलफल भयो । तपाईंले कमाएको पैसा मैरै लागि हो, त्यसो हँुदा त्यो पैसाबाट स्वास्थ्यकर्मीलाई सम्मान गरौँ भन्ने सल्लाह छोरीले दिइन् । त्यसैले हामीले स्वास्थ्यकर्मीलाई सम्मान गर्ने घोषणा गरेका हौँ ।’
सरकारी र सामुदायिक अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमध्येबाट पुरस्कृत व्यक्तित्व छनोट गर्न नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्रा.डा. भगवान कोइरालाको अध्यक्षतामा निर्णायक समिति गठन गरिएको छ । जसमा नेपाल मेडिकल एसोसिएसनका अध्यक्ष डा.लोचन कार्कीलगायत रहनेछन् । निर्णायक समितिबाट छानिने व्यक्तित्व महामारीको अग्रपंक्तिमा डटेर खट्ने सम्पूर्ण स्वास्थ्यकर्मीहरूप्रति विशेष सम्मान हुने फाउन्डेसनको विश्वास रहेको डा.रुइतले जनाएका छन् ।