कोभिड उदगमसम्बन्धी बहस फेरि किन तात्यो ?

कोरोना भाइरसको उत्पत्तिलाई लिएर पश्चिमी वैज्ञानिक समुदाय तथा आमसर्वसाधारण विभाजित देखिएका छन्

सोमबार, १७ जेठ, २०७८
डिजिटल संस्करण

जो बाइडेन कोरोना भाइरस महामारी प्रयोगशालाबाट उत्पत्ति भएको हो कि होइन भन्नेबारे स्पष्ट हुन चाहन्छन् । बिहीबार उनले अमेरिकी गुप्तचर एजेन्सीलाई भाइरस पहिलोपटक मानिसमा कहिले र कसरी स¥यो भन्ने पत्ता लगाउन थप मिहिनेत गर्न निर्देशन दिए । एक वर्षअघि यस्तो विचार राख्ने जोकोहीलाई मूर्ख वा षड्यन्त्रवादी सिद्धान्तकारको आरोप लाग्ने गथ्र्यो । तर, अहिले आएर बिस्तारै मिडियादेखि प्रभावशाली वैज्ञानिक र सरकारी अधिकारी (जस्तो– अमेरिकाका प्रमुख चिकित्सकीय सल्लाहकार एन्थोनी फाउची) ले भाइरस प्रगोगशालामा उत्पत्ति भएको भन्नेबारे बोल्न सुरु गरेका छन् । तिनका विचारमा भाइरस चीनको प्रयोगशालाबाट लिक भएको हुन सक्ने सम्भावनालाई नकार्न सकिँदैन । 

महामारीका सुरुवाती दिनमा लगभग सबै वैज्ञानिक र मिडियाले महामारी प्राकृतिक रूपमा उत्पत्ति भएको स्विकार्थे । यसअनुसार चमेरालाई संक्रमित गर्ने कोरोना भाइरसको एक प्रजातिमा सामान्य उद्विकास भएपछि त्यसले मानिसलाई पनि संक्रमित गर्ने क्षमता हासिल ग¥यो । विगतमा सार्स र मर्स भाइरस पनि यसरी नै सुरु भएको थियो । साथमा चिनियाँ वैज्ञानिकले महामारीका प्रारम्भिक दिनमा अन्य देशलाई अध्ययनका लागि दिएको कोरोना भाइरल जिनोममा कुनै स्पष्ट छेडखानीको संकेत भेटिएको थिएन ।

 वैज्ञानिकले भाइरसमाथि नियमित अध्ययन अनुसन्धान गरिरहेका हुन्छन् । यस क्रममा भाइरसलाई थप प्रभावकारी पार्न तिनको मूल संरचनामा समेत हस्तक्षेप गरिन्छ । भाइरस मानिसमा कति सर्छ भनेर पनि परीक्षण भइरहेको हुन्छ । भाइरसको चरित्र र महामारी कसरी विकास हुन सक्छ भन्ने अध्ययनका लागि यसो गरिने वैज्ञानिकहरू बताउँछन् । तर, यस्तो अनुसन्धानलाई कैयौँले खतरनाक मान्ने गरेका छन् । 

अर्को के पनि स्पष्ट छ भने कोरोना पहिलोपटक पहिचान भएको स्थान वुहान इन्स्टिच्युट अफ भाइरोलोजीबाट नजिकै रहेको छ । यो इन्स्टिच्युटमा जंगली चमेरालाई लाग्ने कोरोना भाइरसको राम्रो संकलन रहेको छ । (तर, अहिले महामारीका लागि जिम्मेवार कोरोना भाइरसभन्दा त्यो निकै फरक रहेको बताइएको छ ।) इन्स्टिच्युटसँग भाइरसलाई बदलेर त्यसको संक्रामक स्थिति परीक्षण गर्ने विज्ञता रहेको छ ।

प्रयोगशालाबाट भाइरस फैलिएको भन्नेहरूको संकेत यही इन्स्टिच्युटतर्फ छ । प्रयोगशालाबाट कसरी भाइरस बाहिर आयो भन्नेबारे पनि अलग–अलग धारणा देखिन्छन् । अब कुन सिद्धान्तलाई पत्याउने भन्नेमा तपाईं कस्तो व्यक्ति हुनुहुन्छ भन्नेले निर्धारण गर्छ । जस्तो– तपार्इं मूलधारका विचारलाई सजिलै विश्वास गर्नुहुन्छ भने तपाईंले प्राकृतिक उत्पत्तिको कथालाई विश्वास गर्नुहुनेछ । वैज्ञानिकका अनुसार प्राकृतिक रूपमा पाइने भाइरसले पनि महामारी निम्त्याउँछ । विगतमा यस्तो भएको छ । तर, तपाईं विभिन्न प्रकारका षड्यन्त्रमा विश्वास गर्नुहुन्छ भने प्रयोगशालाबाट लिक भएको सिद्धान्त सही मान्ने सम्भावना बढी रहन्छ । 

दुवै पक्ष अर्को विचारलाई गलत ठान्छन् र विज्ञानका आधारमा पनि दुवै पक्षलाई गलत देखाउन सकिन्छ । जस्तो– भाइरस कैयौँ कारणले प्रकृतिमा परिवर्तनबाट गुज्रिरहेको हुन्छ । केही अवस्थामा भाइरसलाई प्रयोगशालामै पनि पुनर्संरचना गर्न सकिन्छ । पश्चिमका शीर्ष वैज्ञानिक पनि अहिले पक्ष र विपक्षमा तर्क गरिरहेका छन् । यसले पनि दुवै पक्षलाई आफ्नो मत सही हो भन्ने परेको छ । यो विवादले कसरी टुंगो लाग्ला, प्रस्ट छैन । 

प्राकृतिक रूपमा भाइरस उत्पन्न भएको प्रमाणित हुन वर्षौं लाग्न सक्छ । त्यस्तै प्रयोगशालाबाट भाइरस चुहिएको विषय प्रमाणित हुनका लागि वुहान इन्स्टिच्युट अफ भाइरोलोजीमाथि पहुँच पाउनुपर्छ । यो तत्कालै सम्भव देखिँदैन । वैज्ञानिक, अमेरिकी सरकार र विश्व स्वास्थ्य संगठनले चीन सरकारले यस विषयमा सहकार्य र पारदर्शिताको माग गरेका छन् । तर, चीनले यस विषयमा जवाफ दिइरहेको छैन । 

त्यसैले यस विषयमा तत्कालै स्पष्ट जवाफ भेटिने स्थिति छैन । महामारी विज्ञानका अनुसार भने भाइरस प्राकृतिक रूपमा उत्पत्ति हुनु वा प्रयोगशालाबाट चुहिनुले केही फरक पार्दैन । उत्पत्तिको स्रोत जे भए पनि महामारीले बिकराल रूप लियो र अझै चलिरहेको छ । तर, महामारीको उत्पत्ति कसरी भयो भन्ने कुराले धेरै अर्थ राख्छ । प्राकृतिक उत्पत्ति भएको प्रमाणित भयो भने यसले हाम्रो प्रकृतिमा धेरै महामारी गराउने सामथ्र्य भएको सूक्ष्म जीव भएको पुष्टि गर्छ ।

प्रयोगशालाबाट लिक भएको भन्ने प्रमाणित भयो भने वैज्ञानिक अनुसन्धानलाई लामो समय बदनाम बनाउनेछ र षड्यन्त्रवादी सिद्धान्तकारलाई सही साबित गराउनेछ । मलाई व्यक्तिगत रूपमा भाइरस प्राकृतिक रूपमा उत्पन्न भएको होस् भन्ने लाग्छ, तर म पनि सत्य के हो जान्न चाहन्छु । 
(वुरान्यी विज्ञान तथा पर्यावरण विषयका लेखक हुन्) गार्जियनबाट

सुझावित समाचार