ओलीको आरोप– तिन (खनाल–नेपाल समूह)ले खाएको शपथ झुटो हो, बेइमानी हो, तिनका शपथभित्र स्वार्थ पूरा गर्ने कपट लुकेको हुन्छ

सोमबार, १७ जेठ, २०७८
डिजिटल संस्करण

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले पछिल्लो राजनीतिक संकटका लागि आफ्नै पार्टीका शीर्ष नेताहरू जिम्मेवार रहेको बताएका छन् । एमालेभित्रैका नेताहरूले देशमा अनिष्ट निम्त्याउने काम गरिरहेको ओलीको आरोप छ । आइतबार राजधानीमा भएको कार्यक्रममा ओलीले कारबाही गरिएका नेता माधवकुमार नेपाल र झलनाथ खनाललगायतले विपक्षीको नेतृत्वमा सरकार बनाउन अराजक गतिविधि गरिरहेको आरोप पनि लगाए ।

‘तिन (खनाल–नेपाल समूह)ले खाएको शपथ झुटो हो, तिनको शपथ बेइमानी हो । तिनका शपथभित्र स्वार्थ पूरा गर्ने कपट लुकेको हुन्छ । अहिले तिनले खाएका शपथ सम्झनुहोस् त ! तिनले कहाँ–कहाँ शपथ खाए होलान्,’ तेस्रो राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने, ‘तर, देशको विरुद्ध बहुतै ठूलो अनिष्टको काम गरिरहेका छन् । जब नेतृत्व तहबाट त्यस प्रकारका कामहरू हुन्छन्, नेतृत्व तह अनुशासनहीन र अराजकतामा उत्रिन्छ ।’

कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षरसहित शीतलनिवास पुगेका नेपाललाई लक्षित गर्दै प्रधानमन्त्री ओलीले भने, ‘सम्माननीय राष्ट्रपतिज्यूकोमा गएर एकजनाले म विरोधमा आएको छु भन्नुभएछ गर्वसाथ । शरम छैन । जब नेतृत्व तह यस्तो हुन्छ माथिबाटै धमिलो पानी बगेपछि तल सङ्लो कहाँबाट आउँछ ? माथिबाटै धमिलो पानी बग्ने, बगाउने काम भइरहेको छ । यो चिन्ताको विषय छ ।’

राजनीतिक दल र तिनका नेताहरू अनशासनहीन, अराजक, पार्टी निर्देशनविपरीत फ्लोर क्रस गर्ने, पार्टी अनुशासन नमान्ने र पार्टी फोड्ने, पार्टीका विरुद्ध जाने, अर्कै उम्मेदवार उठाउनेजस्ता दुनियाँको कुनै इतिहासमा नभएको घटना नेपालमा भएको उनको भनाइ छ । ओलीले राजनीतिक स्वतन्त्रतासँग सामाजिक न्याय र समानता भएपछि मात्रै वास्तवमा लोकतान्त्रिक समाज निर्माण हुने र जनताको व्यवस्था हुने बताए । समृद्धि र समानता भएको स्थानमा लोकतान्त्रिक समाज हुने भन्दै उनले प्रजातान्त्रिक समाज निर्माणका लागि नागरिक स्वतन्त्रता, राजनीतिक हक–अधिकार, सामाजिक हक–अधिकार, समृद्धि र न्यायसहितको समानताको सुनिश्चितता हुनुपर्ने बताए । 

सुझावित समाचार