रासायनिक मल खरिद गर्न १२ अर्ब बिनियोजन, अर्थमन्त्रीको गृहजिल्लामा देशकै सबैभन्दा ठूलो कृषि थोक बजार बन्ने

शनिबार, १५ जेठ, २०७८
डिजिटल संस्करण

अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षका लागि रासायनिक मल खरिद गर्न १२ अर्ब रुपैयाँ विनियोजन गरेको बताएका छन् । आगामी आर्थिक बर्षको बजेट सार्वजनिक गर्दै मन्त्री पौडेलले यस्तो बताएका हुन् । यो रकमले ६ लाख मेट्रिकटन मल खरिद गर्न सकिन्छ ।

चालू आवमा ११ अर्ब रुपैयाँ रासायनिक मलका लागि अनुदान विनियोजन भएको छ । यसबाट करिब पाँच लाख टन मल आयात भएको छ । आगामी तीन वर्षभित्र रासायनिक मलको कारखाना खोल्न आवश्यक बजेट विनियोजन भएको उनले बताए ।

त्यस्तै, अर्थमन्त्री पौडेलको गृहजिल्ला रुपन्देहीको पर्साघाटमा आधुनिक कृषि थोकबजार खोल्ने गरी बजेट विनियोजन गरिएको छ । यस्तो बजार देशभरकै सबैभन्दा आधुनिक र ठूलो हुने गरी अध्ययन भइरहेको छ । यसमा दातृ संस्थाहरूले समेत लगानी गर्ने सुनिश्चित भइसकेको छ ।

त्यस्तै, धानलगायत प्रमुख खाद्यबालीको उन्नत बिउ खरिद गर्ने किसानलाई स्थानीय तहबाटै ५० प्रतिशत अनुदान उपलब्ध गराउने उनले जानकारी दिए । कृषि प्राविधिक अध्ययन गरिरहेका तीन सय विद्यार्थीलाई इन्टर्नका रूपमा खटाउने उनले बताए ।

त्यस्तै, देशभित्रै जैविक मल कारखाना खोल्ने निजी क्षेत्रलाई ५० प्रतिशत अनुदान दिने र पाउडर दूध कारखाना खोल्न चाहने निजी क्षेत्रलाई ८० प्रतिशतसम्म पुँजीगत अनुदान उपलब्ध गराउने उनले बताए ।

उखु किसानलाई अनुदान उपलब्ध गराउन ८४ करोड रुपैयाँ विनियोजन गरिएको छ । यो रकम धेरै न्यून हो । यो वर्ष मात्रै एक अर्ब २७ करोड रुपैयाँ खर्च भएको थियो ।

सुझावित समाचार