बजेटले कोभिड नियन्त्रणलाई पहिलो प्राथमिकतामा राखेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै कोभिडलाई बजेट अभाव हुन नदिने घोषणा गरे ।
३७ अर्ब ५३ करोड रुपैयाँ कोभिड नियन्त्रण तथा उपचारका लागि विनियोजन गरिएको छ । अर्थमन्त्रीका अनुसार एक सय शय्याभन्दा बढी क्षमताका अस्पतालमा आफ्नै अक्सिजन प्लान्ट राख्नुपर्नेछ भने निजी अस्पतालले अक्सिजन प्लान्ट राख्दा ५० प्रतिशत अनुदान पाउनेछन् । कोभिड उपचारमा उपकरण खरिद गर्न चार अर्ब बजेट विनियोजन भएको छ ।
सरकारले अक्सिन उत्पादन गर्ने उद्योगले विद्युत महसुलमा ५० प्रतिशत छुट दिने भएको छ । सरकारले अक्सिजन उद्योग खोल्न स्थानीय तहलाई अनुदान दिने भएको हो । त्यस्तै, सामुदायिकस्तरमा स्थापना हुने अक्सिजन उद्योगका लागि समेत अनुदान दिने अर्थमन्त्रीले घोषणा गरेका छन् ।
सरकारले सरकारले गम्भीर बिरामीको उपचारमा प्रयोग हुने तोकिएका मेडिकल सामग्री, उपकरण तथा औषधिको आयातमा कर महसुल छुट दिने भएको छ । कोभिडको उपचारमा प्रयोग हुने अक्सिजन, अक्सिजन सिलिन्डर, भेन्टिलेटर, आइसियू बेड, औषधिलगायत सामग्रीमा भन्सार छुट दिइने भएको हो ।
काठमाडौंमा तीन सय शय्याको सरुवा रोग अस्पताल तथा सबै प्रदेशमा ५० शय्यको सरुवा रोग अस्पताल स्थापना गरिने भएको छ ।