सभामुख अग्निप्रसाद सापकोटाले संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासका लागि सुदृढ राष्ट्रिय एकता जरुरी भएको बताएका छन् ।
१४औँ गणतन्त्र दिवसको अवसरमा शुभकामना दिँदै सभामुख सापकोटाले गणतन्त्र स्थापनाका लागि भएको जनयुद्ध, १९ दिने जनआन्दोलन तथा विभिन्न संघर्षहरूमा प्राण उत्सर्ग गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । उनले आन्दोलनमा घाइते,अपांग र बेपत्ता भएकाहरूप्रति सम्मान व्यक्त गरे ।
हजारौँ नेपाली छोराछोरीको बलिदानको बलमा प्राप्त गणतन्त्रलाई संस्थागत गर्ने, संविधानको कार्यान्यवन गर्ने र संघीयता, धर्मनिरपेक्षता,समानुपातिक, समावेशी सिद्धान्तलाई संविधानले निर्दिष्ट गरेअनुसार कार्यान्वयन गर्नु र गराउनु राज्यको सर्वाेच्च ओहोदामा रहेका पदाधिकारीहरूको पहिलो कर्तव्य भएको बताएका छन् ।
उनले एकातिर गणतन्त्र र संविधानमाथि आइपरेको संकट र अर्काेतिर कोभिड १९ महामारीबाट आक्रान्त भएका वेला विषम परिस्थितिमा अझ जिम्मेवारीबोधका साथ अगाडि बढ्नु अहिलेको आवश्यकता रहेको औँल्याए ।
