पोखरा घटनापछि कांग्रेसको प्रश्न- देशमा सरकार छ ? कहाँ छ ?

शुक्रबार, १४ जेठ, २०७८
डिजिटल संस्करण

पोखराको एक अस्पतालमा सुत्केरी महिलासहित ६ जनाको एकैसाथ निधन भएको घटनापछि कांग्रेसले देशमा सरकार छ ? कहाँ छ ? भन्ने प्रश्न सिर्जना भएको बताएको छ ।

‘समयमै अक्सिजन उपलब्ध हुने सुनिश्चित व्यवस्थापनको समन्वय सरकारले अझै गर्न नसक्नुको परिणाममा उपचाररत बिरामीको ठूलो संख्यामा एकसाथ निधनले राज्यको अकर्मण्यता पुष्टि त गरेको छ नै सरकार कहाँ छ भन्ने गम्भीर प्रश्न पनि सिर्जना गरेको छ,’ पोखरा घटना अत्यन्तै कारुणिक र दुःखदायी भन्दै प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्तिमार्फत भनेका छन् । 

उनले जनताको मृत्यु यसरी कहालीलाग्दो ढंगले हुँदै गर्दा सरकार मानवीय कर्तव्यमा भन्दा असंवैधानिक कर्ममा लिप्त रहनु इतिहासकै दुर्भाग्य भएको बताएका छन् ।

‘देशभरका सरकारी हुन् या निजी क्षेत्रका अस्पताल अक्सिजनको अभाव हुन नदिन अत्यावश्यक समन्वय गर्ने अनिवार्य दायित्व सरकारको हो । सरकारले यो दायित्व निर्वाह नगरेर हुने र भएका गम्भीर घटनाहरूको जिम्मेवार पनि सरकार नै हो,’ शर्माले विज्ञप्तिमार्फत भनेका छन्, ‘कांग्रेस मृत्युको तथ्यांक राख्ने भूमिकाबाट सरकारमा रहँदासम्म जनताको जीवनरक्षाका लागि सम्पूर्ण रूपले केन्द्रित हुन प्रधानमन्त्रीलाई अपिल गर्दै लापरबाहीले भएका प्रत्येक मृत्यु महँगो पर्ने चेतावनी दिन चाहन्छ ।’

प्रवक्ता शर्माले अक्सिजनको अभावमा मृत्युवरण गरेका ६ नागरिक र सुत्केरी आमाको मृत्युपछि असहज स्थितिकाे सामना गरिरहेको नवजात शिशुलाई हेरेर राज्यको कर्तव्य पहिचान र आत्मसात् गर्न अपिल गरेका छन् । 

सुझावित समाचार