घरपरिवारमा कोही नभएका प्रेम विक आफन्तको घरमा वास माग्न जाँदा गाउँलेबाट लखेटिएपछि दुई दिनसम्म भोकभोकै, गाउँपालिका अध्यक्षले गरे उद्धार, स्वास्थ्य अवस्था गम्भीर
कोरोना संक्रमित तल्कोट गाउँपालिका–५ ललितपुरका ७० वर्षीय प्रेम विकलाई गाउँलेले लखेटेका छन् । स्वास्थ्यमा समस्या आएपछि ८ जेठमा उनले जिल्ला अस्पताल बझाङमा पिसिआर परीक्षण गराएका थिए । परीक्षण गर्दा रिपोर्ट पजिटिभ आएपछि उनी दुई दिन जिल्ला अस्पतालको आइसोलेसनमा बसे । त्यसपछि होम आइसोलेसनमा बस्ने भन्दै घर हिँडेका विक छिमेकी गाउँपालिका मष्टामा आफन्तको घर जान भनेर हिँडे । मष्टा गाउँपालिका–६ स्थित आफन्तको घर पुगेका विकलाई कोरोना लागेको थाहा पाएपछि गाउँलेले लेखेटेका हुन् ।
गाउँलेले लखटेपछि दुई दिनसम्म उनले भोकभोकै बसे । विकको परिवारमा कोही पनि छैनन् । आफन्तको शरणमा गएका विक गाउँले नै लखेटेपछि साह्रै समस्यामा परेका छन् । स्थानीयले नै तल्कोट गाउँपालिका घर भएका विक मष्टा गाउँपालिकामा दुई दिनसम्म खाना नपाएर छटपटाएको खबर तल्कोट गाउँपालिका अध्यक्ष लालबहादुर विष्टलाई जानकारी दिएका थिए । सो खबर पाएलगत्तै विष्टले तत्काल तल्कोट गाउँपालिका स्वास्थ्य चौकी इन्चार्ज राजु विकको नेतृत्वमा स्वास्थ्यकर्मीको टोली खटाई वृद्धको उद्घार गरेका छन् । हाल उनी तल्कोट गाउँपालिकाको आइसोलेसनमा बसेका छन् ।
‘कोरोना लागेपछि न घरकाले हेरे, न त आफन्तले नै । आफन्तको आसभरोसामा मष्टा गएँ, त्यहाँ पनि गाउँलेले झन्डै ढुंगा हानेर मारेको । दुई दिनसम्म भोकै छु,’ आइसोलेसनमा रहेका कामीले भने ।
घरमा कोही नभएका वृद्घलाई कोरोना लागेपछि गाउँघरमा समेत बस्न दिइएन । त्यसैले अहिले उनी गाउँपालिकाको आइसोलेसनमा उपचार गराइरहेका छन् । ‘कोरोनाका कारण आफन्तको घर मष्टा गाउँपालिकामा गएका विकले खान र बस्न नपाएपछि भौँतारिरहेका थिए,’ तल्कोट गाउँपालिका स्वास्थ्य इन्चार्ज राजु विकले भने, ‘चिन्ताजनक अवस्थामा रहेका विकलाई हामीेले मोटरसाइकलमा लिएर आयौ र उपचार गराइरहेका छौँ ।’ दुई दिनसम्म भोकै भएकाले विकको रक्तचाप एकदमै कम भएको र स्वास्थ्य अवस्था नाजुक रहेको उनले बताए ।
बझाङमा हालसम्म पजिटिभ रिपोर्ट आएका मानिस आइसोलेसन र होम आइसोलेसनमा बसेका छन् । जिल्ला अस्पताल बझाङमा पिसिआर र एन्टिजेनमार्फत कोरोना परीक्षण गरेका झन्डै ३० प्रतिशतमा रिपोर्ट पजिटिभ आउने गरेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी नारायण जोशीले बताए ।