कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेस आफैँले महामारीका वेला सत्ताको खेल नचाहेको बताएका छन् । ‘कांग्रेसलाई जनताले प्रतिपक्षमा बस्ने म्यान्डेड दिएका हुन् । हामीले पटक–पटक भनेका थियौँ, हामी प्रतिपक्षीको भूमिका निभाउँछौँ, सत्तातिर हेर्दैनौँ,’ प्रवक्ता शर्माले भने, ‘कांग्रेसले सरकारका गलत कार्यविरुद्ध नीतिगत विरोध गर्दै आएको हो । तर, कांग्रेसले सरकारविरुद्ध अविश्वासको प्रस्तावसमेत गरेको होइन, अहिलेको परिस्थिति वर्तमान सरकारले नै सिर्जना गरेको हो । त्यसमा बाध्य भएर प्रमुख प्रतिपक्षी दलको हिसाबले कांग्रेस सक्रिय बनेको हो ।’
नेपाल प्रेस युनियनको ३१औँ स्थापना दिवसको सन्दर्भमा प्रवक्ता शर्माले केपी ओलीले सरकार चलाउन नसकेर हात उठाएपछि मात्रै कांग्रेस अघि सरेको बताए । ‘चलाउनेले चलाउन नसकेपछि भीरबाट झर्दै गरेको संसदलाई संरक्षण गर्ने काम कांग्रेसको हुन्छ । यो देशको जेठो दल, परिपक्व दल भएको हिसाबले पनि संविधान, लोकतन्त्र र यो व्यवस्थाको संरक्षणका लागि समन्वय गर्ने भूमिकामा कांग्रेस उभिनुपर्छ,’ शर्माले भने, ‘कांग्रेसले निर्दलीय अभ्यास गर्न खोजेको होइन, संविधानको धारामा जे उल्लेख छ, त्यही आधारमा प्रस्तुत भएको हो ।’
उनले संविधानको धारा ७६ (५) अनुसारको दाबीलाई राष्ट्रपतिले आधार नपुगेको भनेर खारेज गरेको भन्दै परीक्षण केका आधारमा गरिएको हो भन्ने प्रश्न गरे । प्रवक्ता शर्माले जनता सेतो कात्रोमा बेरिरहेका वेला रातो झन्डा लिएर भोट माग्न जाने धृष्टता गर्न नसकिने बताए ।
उनले पार्टीको १४औँ महाधिवेशनको तयारीका सन्दर्भमा कांग्रेसको सूचना तथा प्रविधि विभागले अनलाइनबाटै महाधिवेशन गर्न सकिने गरी तयारी गरिसकेको बताए ।
‘पार्टीले निर्णय गर्नुपर्छ, महाधिवेशन कसरी गर्न सकिन्छ ? त्यसका विकल्पहरूबारे छलफल हुन्छ नै,’ प्रवक्ता शर्माले भने, ‘यदि पार्टीले अनलाइनबाटै महाधिवेशन गर्ने निर्णय गरेको खण्डमा हामीले त्यसका लागि समेत आवश्यक तयारी गरिसकेका छौँ ।’