कोरोनाको संक्रमणका कारण काठमाडौंस्थित सशस्त्र प्रहरीको अस्पतालमा उपचार गराइरहेका पूर्वसांसद रत्नप्रसाद शर्मा न्यौपानेको मृत्यु भएको छ । बुधबार राति उनको मृत्यु भएको उनका छोरा मदनरत्न न्यौपानेले बताए ।
सुरुमा कोरोना संक्रमणका कारण बिरामी भएका न्यौपाने पछि फोक्सोमा निमोनिया भएर गम्भीर बिरामी भएका थिए । वैशाख २३ गते सुरुमा वीरेन्द्र प्रहरी अस्पताल काठमाडौंमा उपचारका लागि भर्ना गरिएका न्यौपानेको अवस्था गम्भीर भएपछि सशस्त्र प्रहरी अस्पतालको आइसियूमा राखिएको थियो ।
अवस्था झनै गम्भीर भएपछि १० दिनदेखि न्यौपानेलाई भेन्टिलेटरमा राखेर उपचार गराइरहेको छोरा मदनले बताए । मदनका अनुसार न्यौपानेको पछिल्लो कोरोना रिपोर्ट नेगेटिभ आएको थियो भने उनमा निमोनिया देखिएको थियो ।
छेडागाड नगरपालिका– ६ सुवानाउलीका न्यौपाने ०५६ सालको प्रतिनिधिसभा सदस्यमा एमालेको तर्फबाट जाजरकोट क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए । अहिले एमालेको कर्णाली प्रदेश समिति सदस्य, एमालेनिकट किसान महासंघका केन्द्रीय उपाध्यक्ष तथा कर्णाली प्रदेशका इन्चार्जको भूमिकामा थिए ।