कांग्रेस सभापति शेरबहादुर देउवाले आफूलाई सर्वोच्च अदालतले न्याय गर्छ भन्ने विश्वास रहेको बताएका छन् । उनले प्रधानमन्त्री र राष्ट्रपतिले संविधानको उल्लंघन गरेकाले अदालत जानुपरेको बताए ।
नेपाल प्रेस युनियनको ३१औँ स्थापना दिवसको सन्दर्भमा आयोजित भर्चुअल कार्यक्रममा बोल्दै देउवाले राष्ट्रपति र प्रधानमन्त्रीका असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्ध सडक आन्दोलनमा जान नसकिएको बताए ।
‘संविधानमाथि बलात्कार भएको छ । हस्तक्षेप भएको छ । यो सरकारले संविधानको बर्खिलापमा गएर काम गरेको छ । हामी त्यही कदमलाई सच्याएर संविधानको बाटोमा देशलाई हिँडाउने प्रयत्न गरिरहेका छौँ,’ देउवाले भने, ‘साथीहरू सडकमा जाऔँ, आन्दोलन गरौँ भनिरहेका छन्, मैले रोकेर राखेको छु, यस्तो वेला जनताको जिउज्यानलाई जोखिममा पार्नुहुँदैन । जनताको जीवन ठूलो कुरा हो । जीवनरक्षा पहिलो कुरा हो ।’
देउवाले यस्तो वेला मिडिया जगतलाई सहयोग गर्न आग्रह गरे । उनले पार्टी १४औँ महाधिवेशनको तयारीमा रहेकाले आफ्नो कारणले महाधिवेशन भएन भन्ने कुरा कुनै हालतमा आउन नदिने बताए ।