कोरोनाका कारण सुदूरपश्चिमका पूर्वप्रदेशप्रमुख मोहनराज मल्लको निधन

बिहिबार, १३ जेठ, २०७८
डिजिटल संस्करण

सुदूरपश्चिम प्रदेशका पहिलो प्रदेशप्रमुख मोहनराज मल्लको कोरोना संक्रमणका कारण निधन भएको छ । मल्लको काठमाडौंस्थित निदान अस्पतालमा उपचारका क्रममा बुधबार निधन भएको हो । कैलालीका स्थायी निवासी मल्ल कांग्रेसका महासमिति सदस्यसमेत थिए । 

पूर्वराष्ट्रिय पञ्चायतका सदस्य हुँदै राप्रपाको राजनीति गरेका मल्ल राप्रपा छाडेर कांग्रेस प्रवेश गरेका नेता हुन् । उनी ०३७ देखि ०४६ सालसम्म पञ्चायत सदस्य रहेका थिए । यस्तै, ०७० सालको संविधानसभा निर्वाचनअगाडि कांग्रेस प्रवेश गर्दै सक्रिय रहेका थिए । कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले मल्ललाई ०७४ माघ ३ गते सुदूरपश्चिम प्रदेशको प्रमुख  नियुक्त गरेको थियो ।

कांग्रेस सभापति देउवाले आफूले एक मित्र गुमाउनुपर्दा दुःख लागेको बताएका छन् । ‘कांग्रेसका नेता, सुदूरपश्चिम प्रदेशका पूर्वप्रदेशप्रमुख, समाजसेवी, असल, बाैद्धिक एवं शालीन व्यक्तित्वका धनी मेरा मित्र मोहनराज मल्लको असामयिक निधन भएको खबरले मलाई अत्यन्त दुःखित बनाएको छ । उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिरशान्तिको कामना साथ शोकसन्तप्त परिवारजनप्रति पार्टी र आफ्नोतर्फबाट गहिरो समवेदना प्रकट गर्दछु,’ देउवाले विज्ञप्ति जारी गर्दै भनेका छन् ।
 

सुझावित समाचार