महामारीमा सरकार खोज्दै सडकमा नागरिक अगुवा

बिहिबार, १३ जेठ, २०७८
डिजिटल संस्करण

बृहत् नागरिक आन्दोलनले अबदेखि निरन्तर सरकारको गैरजिम्मेवारीपूर्ण कदमविरुद्ध आन्दोलन गर्ने

कोराना महामारीको दोस्रो चरण उत्कर्षमा पुगेको बेलामा सरकार संवेदनशील नभएको भन्दै नागरिक अगुवाहरूले काठमाडौँको कीर्तिपुरमा प्रदर्शन गरेका छन् । बृहत् नागरिक आन्दोलनको अगुवाइमा बुधबार काठमाडौंको कीर्तिपुरस्थित गणतन्त्र चोकमा उनीहरूले विभिन्न नारा लेखिएका प्लेकार्डसहित प्रदर्शन गरे ।

आन्दोलित नागरिक अगुवाहरूले देश कोरोना महामारीबाट आक्रान्त बनेका बेला संसद् विघटन गरेर चुनाव घोषणा गरेको भन्दै आक्रोश व्यक्त गरे । उनीहरूले ‘स्वास्थ्य सेवा निःशुल्क गर, अस्पतालहरू राष्ट्रियकरण गर’, ‘मान्छेको लासमाथि लास छ, तिमीलाई भोटकै आश छ’, ‘अक्सिजन र खोप चाहिएको छ, मतपत्रको षड्यन्त्र होइन’, लगायत नारा लेखिएका प्लेकार्ड बोकेका थिए । 

प्रदर्शनमा लेखक तथा पत्रकार नारायण वाग्ले, युग पाठक, दोभान राईलागायत अभियन्ताहरू सहभागी भए । लेखक तथा विश्लेषक राजेन्द्र महर्जनले जनता र देशविरुद्ध हुने हरेक षड्यन्त्रविरुद्ध उभिने बताए । ‘महामारीको संकटको बेलामा प्रधानमन्त्री केपी ओलीले चालेको कदम देश र जनताविरुद्धको ठूलो षड्यन्त्र हो । यसका विरुद्ध हामी बोल्छौँ,’ महर्जनले भने, ‘कीर्तिपुरको इतिहासमा पृथ्वीनारायण शाहको पालादेखि अहिलेसम्म जनताका  विरुद्धमा हुने सबै प्रकारका षड्यन्त्रका खिलाफमा उभिएको छ । आज हामी त्यसेको निरन्तरता दिन उभिएका छौँ ।’

अघिल्लोपटक कोरोना महामारीका कारण लकडाउन हुँदा भरिया सूर्यबहादुर तामाङले भोकभोकै मृत्युवरण गरेको ठाउँमा प्रदर्शन गरिएको थियो । महर्जनले त्यही ठाउँबाट सरकारको आपराधिक चरित्रविरुद्ध निरन्तर लड्ने उद्घोष गरे । 

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ६ जेठमा दोस्रोपटक संसद् विघटन गरेर चुनावको घोषणा गरेपछि त्यसको चौतर्फी विरोध भइरहेको छ । बृहत् नागरिक आन्दोलनले अबदेखि निरन्तर सरकारको गैरजिम्मेवारीपूर्ण कदमविरुद्ध आन्दोलन गर्ने भएको छ । अभियन्ता युग पाठकले सम्भव भएका ठाउँमा भौतिक दूरी कायम गरेर र सम्भव नभएका ठाउँमा भर्चुअल रूपमा सरकारलाई खबरदारी गर्ने बताए ।

‘सरकार गैरजिम्मेवार बनिरहेको छ । नागरिकका समस्या एकातिर सरकारको कदम अर्कोतिर भइरहेका छन् । हामी यसको निरन्तर प्रतिरोध गर्छौं,’ पाठकले भने, ‘महामारीको समयमा स्वास्थ्य मापदण्ड पनि अपनाउनुपर्ने हुन्छ । सबैजना त्यसरी सडकमा उत्रिन सम्भव नहुन पनि सक्छ । हामी त्यो सबै कुरालाई ख्याल गरेर प्रतिरोध आन्दोलनलाई अघि बढाउँछौँ ।’ अबदेखि निरन्तर स्वास्थ्य मापदण्डको पालना गर्दै विभिन्न तरिकाबाट सरकारको गलत कदमको विरोध गर्ने पाठकले बताए ।

सुझावित समाचार