प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको कदम चालेपछि दुई धारमा विभक्त जनता समाजवादी पार्टी (जसपा) भित्रको विवाद थप उत्कर्षमा पुगेको छ । पार्टीका दुई अध्यक्षले एक अर्को पक्षलाई स्पष्टीकण पत्र पठाएसँगै जसपाको विवाद सतहमा आएको हो । अध्यक्ष महन्थ ठाकुरले अर्का अध्यक्ष यादवलाई सात बुँदे र यादवले ठाकुरलाई नौँ बुँदे स्पष्टीकरण सोधेका हुन् ।
अध्यक्ष यादवलाई ठाकुरले पार्टीको निर्णयविपरीत गुटगत गतिविधि सञ्चालन गर्दै आएको भन्दै तीन दिनभित्र पार्टी कार्यालयान पठाउने गरी सातबुँदे स्पष्टीकरण सोधेका छन् ।
पछिल्ला दिनमा जसपाको मूल्यमान्यता, नीति तथा पार्टीको विधानविपरीत कार्य गर्दै आएकाले विधानबमोजिम अनुशासनको कारबाहीको व्यवस्थानुसार स्पष्टीकरण सोधिएको अध्यक्ष ठाकुरद्वारा मंगलबार अबेर जारी विज्ञप्तिमा भनिएको छ ।
स्पष्टीकरणमा लुम्बिनी प्रदेशका चार प्रदेश सभा सदस्यलाई निष्कासन गरेको, विपक्षी नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)सँग मिलेर सर्वोच्च अदालतमा संसद् पुनर्स्थापनाको माग गर्दै रिट निवेदन दायर गर्न गएको र एकलौटी रूपमा केन्द्रीय कार्यकारिणी समितिको बैठक बसी निर्णय गरिएको विषयमा प्रश्न सोधिएको छ ।
त्यसैगरी, पार्टीको संसदीय दलको निर्णयअनुरूप प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गर्नुपर्नेमा ठीक विपरीत विपक्षी गठबन्धनका उम्मेदवार शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन कुन कारणले हस्ताक्षर गरेको तथा सर्वोच्च अदालतमा पार्टीको निर्णयबेगर विपक्षी गठबन्धनको रिटमा किन हस्ताक्षर गरेको भनी प्रश्न उठाइएको छ ।


त्यस्तै, उपेन्द्र यादव पक्षले पनि महन्त ठाकुर, लक्ष्मणलाल कर्ण, राजेन्द्र महतो र सर्वेन्द्रलाद शुक्लालाई स्पष्टीकरण सोधेको छ । कार्यालय सचिव प्रकाश अधिकारीको हस्ताक्षर रहेकाे यादव पक्षको स्पष्टीकरणमा प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटन गर्ने अलोकतान्त्रिक, असंवैधानिक र प्रतिगमनकारी कदमलाई पार्टी निर्णय र नीतिविपरीत किन साथ दिएको, पार्टी केन्द्रीय कार्यकारिणी समितिको बैठक बेवास्ता गर्ने, अनुपस्थित हुने र आफ्नो समर्थकलाई मात्र बोलाई पार्टी विधान र आचारसंहिताविपरीत गुटबन्दीपूर्ण क्रियाकलाप किन गरेको, पार्टीको केन्द्रीय कार्यालय बालकुमारी ललितपुरमा हुँदाहुँदै छुट्टै कार्यालय सञ्चालन गर्ने कार्य किन गरेको, पार्टीको निर्णयविना राष्ट्रपति कार्यालय, निर्वाचन आयोग, संसद् सचिवालयमा पार्टीको तर्फबाट पत्रहरू लेख्ने पठाउने कार्य किन गरेको, जेठ ३ गते दुई अध्यक्षले जारी गरेको आठबुँदे सहमतिको विज्ञप्ति पालना किन नगरेको, पार्टी विधानको धारा २८ बमोजिम संसदीय दलको विधान नबनिसकेको अवस्थामा राजेन्द्र महतोलाई किन र के आधारमा संसदीय दलको नेता घोषणा गरी संघीय संसदलाई पत्र पठाएको, पार्टीको आधिकारिक निर्णयविना सरकारसँग वार्ता गर्ने भनेर लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई सरकारसँग वार्ता कार्यदलमा किन पठाएको, विधानमा नभएको व्यवस्थालाई आफूखुसी स्वेच्छाचारिता लाद्ने र पार्टीलाई आफ्नो पाकेटको बनाउने कार्य एवं क्रियाकलाप किन गरेको र उपरोक्त विषयहरूका आधारमा तपाईंबाट पार्टीमा गुटबन्दी गर्ने र अनुशासन भंग गर्ने गराउने कार्य भइरहेको तपाईंमाथि पार्टी विधानको धारा ४९ बमोजिम अनुशासनसम्बन्धी कारबाही किन नगर्ने भनेर प्रश्न सोधिएको छ । 

