पेट्रोलियम कर्मचारी, व्यवसायी र मजदुरमा कोरोना संक्रमण बढ्दै, ११ को मृत्यु

बुधबार, १२ जेठ, २०७८
डिजिटल संस्करण

कोरोनो भाइरसको दोस्रो लहरले अत्यावश्यक सेवामा खटिने पेट्रोलियमसम्बद्ध व्यवसायी र मजदुरसँगै आयल निगमका कर्मचारीहरूमा संक्रमण बढ्दै गएको छ । पछिल्लो तथ्यांकअनुसार एकजना निगम कर्मचारी, ५ जना व्यवसायी र पाँचजना मजदुर गरी पेट्रोलियम क्षेत्रमा कार्यरत ११ जनाको कोरोना भाइरसकै कारण मृत्यु भइसकेको छ भने करिब डेढ सयजना सक्रिय संक्रमित छन् ।

आयल निगमका प्रवक्ता विनीतमणि उपाध्यायका अनुसार दोस्रो लहरमा ४३ जना कर्मचारी संक्रमित भएका छन् । त्यसमध्ये केही ठीक भए । हाल २३ जना संक्रमण भई आइसाेलेसनमा बसेका छन् । कोरोनाकै कारण निगमको १ नम्बर प्रादेशिक कार्यालय, विराटनगरअन्तर्गतको हवाई इन्धन डिपोमा कार्यरत चैतन्य रेग्मीको मृत्यु भएको छ ।

अत्यावश्यक सेवा भएकाले अहिले नियमित रूपमा कार्यलय खोलेर सेवा दिइरहेको प्रवक्ता उपाध्यायले बताए । ‘कर्मचारीहरूमा संक्रमण बढ्दै गएको छ, तर अत्यावश्यक भएकाले हामीले मागअनुसार देशभरका डिपोहरू नियमित खोलेर इन्धन बिक्री सुचारु गरिरहेका छौँ,’ उनले भने, ‘सबै डिपोमा सकेसम्म सुरक्षाका सबै सावधानीहरू अपनाइएको छ ।’ माग घटेका कारण धेरै डिपोहरू हप्तामा ३–४ दिन मात्र खुल्ने गरेका छन् । निगमका सबै कर्मचारीहरूलाई दुवै डोज खोप लगाउने व्यवस्था मिलाएको उनले बताए ।

कोरोना भाइरसले सबैभन्दा बढी पेट्रोलम्प व्यवसायी र मजदुरहरू संक्रमित भएका छन् । उपभोक्तासँग सोझै जोडिएर इन्धन कारोबार गर्नुपर्ने भएकाले पम्प व्यवसायी, कर्मचारी–मजदुर बढी संक्रमण भएका हुन् । पेट्रोलियम व्यवसायीको संगठन पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधानका अनुसार अहिले ३९ कर्मचारी र १५ सञ्चालक गरी कुल ५४ जना सक्रिय संक्रमित छन् भने ११ जनाको मृत्यु भइसकेको छ । 

अध्यक्ष प्रधानका अनुसार तराईका ६ पम्प सञ्चालकहरुको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।  महतो फ्युल सेन्टर (सिराहा) का इन्द्रदेव महतो, अमन आयल सेन्टर (मोरङ) का मीरादेवी शर्मा, केडिया अटो इन्टरप्राइजेज (पर्सा) का प्रद्युम्न केडिया, दीनबन्धु आयल स्टोर (पर्सा)का हरिहरप्रसाद कलवार र दुर्गा आयल्स (पर्सा)का प्रमोदकुमार अग्रवालको मृत्यु भएको छ । 

त्यस्तै, विभिन्न पेट्रोल पम्पमा कार्यरत पाँच कर्मचारी–मजदुरको मृत्यु भइसकेको छ । मृत्यु हुनेमा कनक ट्रेड सेन्टर (काठमाडौं)को शिवनारायण श्रेष्ठ, मालबासे ट्रेड सेन्टर (मोरङ)का बाबुराम धिमाल, तुल्सी व्यापार सेवा (दाङ)का रामबहादुर चौधरी, गण्डकी पेट्रोलियम कम्पनी (पोखरा)का टेकबहादुर गुरुङ र ओम आयल डिस्ट्रिब्युटर (मकवानपुर)का विष्णुकुमार श्रेष्ठ रहेका छन् ।

पेट्रोल पम्पमा कार्यरत मजदुरहरूको संगठन अखिल नेपाल पेट्रोलियम मजदुर संघका अध्यक्ष शिवप्रसाद पोख्रेलले ४५ मजदुर सक्रिय संक्रमित रहेको जानकारी दिए । ‘अरू धेरै साथीहरू संक्रमण भई घरमै बसेका छन्, उनीहरूको भने यकिन तथ्यांक आइसकेको छैन,’ उनले भने, ‘देशभर निषेधाज्ञाले सबै व्यवसाय बन्द भएका वेला पेट्रोल पम्प खोलेर सेवा दिने मजदुरहरूलाई मास्क, पन्जा, पिपिई, स्यानिटाइजरजस्ता आधारभुत सुरक्षा सामग्रीसमेत पम्प सञ्चालकले यथेष्ठ मात्रामा प्रदान गर्न नसक्दा संक्रमण हुने दर झन् बढ्दै गएको छ,’ उनले भने ।

इन्धन ढुवानी गर्ने चालकहरूमा समेत पछिल्लो समय संक्रमणको जोखिम बढ्दै गएको छ । पेट्रोलियम ढुवानी व्यवसायी महासंघका महासचिव विश्व अर्यालले संक्रमण बढ्दै गए पनि सावधानी अपनाएर इन्धन ढुवानी भइरहेको बताए ।

व्यवसायी र मजदुरलाई खोप छैन

आयल निगमका कर्मचारीले दुवै डोज खोप लगाए पनि पेट्रोलियम व्यवसायी र मजदुरहरूलाई अहिलेसम्म खोप लगाइएको छैन । खोप नलगाएकै कारण संक्रमण दर बढ्दै गएको व्यवसायीको गुनासो छ । पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनका अध्यक्ष प्रधानले खोप लगाउन व्यवसायीको तर्फबाट धेरै आग्रह भए पनि सुनुवाइ नभएको बताए ।

एसोसिएसनले दबाब दिएपछि आयल निगमले १२ वैशाखमा एक पत्र लेख्दै खोप लगाउनुपर्ने आवश्यक संख्या खुलाई पठाउन पत्र लेखेको थियो । त्यसपछि एसोसिएसनले १० हजार तीन सय ४६ जना (कर्मचारी, व्यवसायी र मजदुर) को सूची दिएको थियो । 

व्यवसायीको सूचीअनुसार खोप उपलब्ध गराइदिन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले २१ वैशाख र ५ जेठमा दुईपटक स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई चिठीसमेत पठाएको थियो । तर, मन्त्रालयले खोप अभावका कारण पेट्रोलियम क्षेत्रका व्यवसायी, कर्मचारी र मजदुरलाई उपलब्ध गराउन नसकिएको जनाएको छ।

सुझावित समाचार