विश्वमा हालसम्म देखिएका कोभिडका खतरनाक भेरियन्ट

नेपालमा देखिएको नयाँ भेरियन्ट कति घातक ?

बुधबार, १२ जेठ, २०७८
डिजिटल संस्करण

सार्स कोभिडअन्तर्गत म्युटेट भएर कति किसिमका नयाँ भेरियन्ट देखिए भन्ने तथ्यांक छैन, तर प्रत्येक लहरमा घातक बन्दै आएका म्युटेट भेरियन्टहरूमाथि अनुसन्धान भइरहेको छ

सार्स कोभ–२ का जेनेटिक भेरियन्टहरूले विश्वभरि नै पछिल्लो समय महामारीको रूप लिएका छन् । स्वरूप परिवर्तन हुँदै आइरहेका नयाँ भाइरसले नेपालमा पनि कोभिडको दोस्रो लहर फैलिएको छ, जुन अघिल्लो वर्षमा देखिएका भाइरसहरूको तुलनामा ५० प्रतिशतभन्दा बढी घातक भएको विज्ञहरूले पुष्टि गरेका छन् ।

संयुक्तराज्य अमेरिकामा भाइरल म्युटेसन र भेरियन्टहरूमाथि नियमित रूपमा सिक्वेन्समा आधारित अध्ययन, भाइरसको जीनमाथि ​​प्रयोगशाला अध्ययन र स्वरूप परिवर्तन हुँदै तीव्र गतिमा फैलिइरहेका नयाँ भाइरसमाथि अध्ययन भइरहेको छ । हालसम्म सार्स कोभिडअन्तर्गत म्युटेट भएर कति किसिमका नयाँ भेरियन्ट देखिए भन्ने तथ्यांक छैन । तर, म्युटेट प्रत्येक लहरमा घातक बन्दै आएका भेरियन्टहरूमाथि अनुसन्धान भइरहेको छ । अमेरिकी इन्टरजेन्सी ग्रुपले घातक देखिएका भेरियन्टहरूलाई भेरियन्ट अफ इन्ट्रेस्ट, भेरियन्ट अफ कन्सर्न र भेरियन्ट अफ हाई कन्सिक्वेन्सेस गरी तीन वर्गमा विभाजन गरेको छ ।

स्वरूप परिवर्तन भएर आएका र संक्रमण फैलाउन सक्ने भाइरसहरूलाई भेरियन्ट अफ इन्ट्रेस्ट भनिएको छ । अनुसन्धानको क्रममा रहेका भेरियन्टहरू इन्ट्रेस्टभित्र पर्छन्, जिन सिक्वेन्सका आधारमा अध्ययन गर्दा संक्रमण फैलाउन सक्ने देखिन्छन् । 

तीव्र संक्रमण गराउन सक्ने, शरीरको एन्टिबडीलाई छल्न सक्ने, परीक्षणमा समस्या ल्याउने, भ्याक्सिनको प्रभावकारिता घटाइदिनेजस्ता भेरियन्टहरू भेरियन्ट अफ कन्सर्नभित्र पर्छन् । हाल दोस्रो लहरमा देखिएका भेरियन्टहरू भेरयन्ट अफ कन्सर्न हुन् जुन अन्य भाइरसको तुलनामा ५० प्रतिशतभन्दा बढी घातक छ । 

हालसम्म हाई कन्सिक्वेन्सेसका भेरियन्टहरू पुष्टि भएका छैनन् । संक्रमण भएपछि शतप्रतिशत नै घातक हुने भेरियन्टहरू हालसम्मको अध्ययनले देखाएको छैन । 
भाइरसमा रहेको स्पाइक प्रोटिनका आधारमा संक्रमणको जोखिम फरक–फरक हुने गर्छ । ल्याबमा गरिएका हालसम्मका विभिन्न अध्ययनअनुसार स्पेसिफिक (विशिष्ट) मोनोक्लोनल एन्टिबडी उपचारमा एल४५२आर र इ४८४के स्पाइक प्रोटिनले प्रभाव पारिरहेको छ । 

घातक भेरियन्ट
पछिल्लो समय दोस्रो लहरमा तीव्र संक्रामक देखिएका भेरियन्टहरू निकै घातक मानिएका छन् । समुदायमा नयाँ भेरियन्ट फैलिएपछि अस्पताल भर्नादर र मृत्युदर बढेको छ भने अघिल्लो संक्रमणभन्दा बढी संक्रामक देखिएको छ । नयाँ भेरियन्टमा भ्याक्सिनको प्रभावकारिता न्यून छ, ल्याबमा भइरहेका विभिन्न अनुसन्धानले यो भेरियन्टलाई सजिलै नियन्त्रणमा ल्याउन नसकिने बताएका छन् । नेपालमा पछिल्लो समयमा पुष्टि भएका बी–१.६१७.२ र बी–१.६१७.१ भेरियन्ट पनि ९४ प्रतिशतमा देखिएका छन्, जुन निकै संक्रामक हो । यी भाइरसहरू सबै उमेर समूहमा देखिएको छ । 

इन्डिया भेरियन्ट बी–१.६१७.२ 
यो नेपालमा देखिएको पछिल्लो भेरियन्ट हो । जिन सिक्वेन्सिङ गर्दा यो भाइरस निकै संक्रामक रहेको पाइएको छ । बी–१.६१७.२ लाई विश्व स्वास्थ्य संगठनले १० मे मा भेरियन्ट अफ कन्सर्न अर्थात् घातक भाइरसको सूचीमा राखेको छ । यो इन्डियन भेरियन्ट हो, युकेमा पनि भेटिएको यो भेरियन्टबाट दुई हजारभन्दा बढी संक्रमण पुष्टि भइसकेको छ । भारतमा महामारीको रूप लिइरहेको यो भेरियन्ट नेपालमा कहिलेदेखि फैलिएको भन्ने यकिन छैन । तर, अस्पताल भर्ना र मृत्युदर बढाउनुको कारण इन्डियन भेरियन्टलाई मानिएको छ । यो भेरियन्ट पहिलोपटक ५ अक्टोबर २०२० मा देखिएको बी–१.६१७ को परिवर्तित रूप हो, जुन भारतको महाराष्ट्रमा पुष्टि भएको थियो । 

इन्डिया भेरियन्ट बी.१.६१७.१ 
सन् २०२१ को डिसेम्बरमा पुष्टि भएको यो भेरियन्ट पनि घातक रहेको पाइएको छ । बी.१.६१७.२ भन्दा केही कमजोर भए पनि यो पनि उच्च संक्रामक रहेको विश्व स्वास्थ्य संगठनले पुष्टि गरेको छ । यो पनि बी.१.६१७.२ जस्तै डबल म्युटेन्ट (दुईपटक स्वरूप परिवर्तन भएर बनेको नयाँ भेरियन्ट) भाइरस हो । मे महिनामा मात्र भारतमा बी.१.६१७ परिवर्तन भएर .१, .२ र .३ गरी तीनवटा नयाँ भेरियन्ट देखिएका थिए । जसमध्ये .२ लाई सबैभन्दा बढी घातक मानिएको छ ।

युके वा केन्ट भेरियन्ट बी.१.१.७ 
बेलायतमा पहिलोपटक देखिएको यो भेरियन्ट हाल विश्वका ५० भन्दा बढी देशमा फैलिइसकेको छ । नेपालमा दोस्रो लहरको सुरुवातमा देखिएको यो भेरियन्ट पनि भेरियन्ट अफ कन्सर्न अर्थात् घातक भाइरस मानिएको छ । बेलायतमा मात्रै दुई लाखभन्दा बढीमा पुष्टि भइसकेको युके भेरियन्ट फेरि म्युटेड भइरहेको अनुसन्धानले देखाएको छ । डिसेम्बर २०२० मा बेलायतमा पहिलोपटक पुष्टि भएको यो भेरियन्ट हालसम्मकै धेरैमा संक्रमण फैलाएको भेरियन्ट हो । युके भेरियन्ट अन्य भेरियन्टको तुलनामा ५० प्रतिशतभन्दा बढी संक्रामक छ । जसमा अस्पताल भर्ना हुने दर र मृत्युदर उच्च छ । यो भेरियन्ट तीव्र रूपमा म्युटेड हुँदै गइरहेको र म्युटेड भएर आउने नयाँ भेरियन्ट झन् घातक हुने विज्ञहरूको अनुमान छ । 

साउथ अफ्रिका भेरियन्ट बी.१.३५१ 
साउथ अफ्रिकाको इस्टर्न केप प्रदेशमा पहिलोपटक सन् २०२० अक्टोबरमा देखिएको यो भेरियन्ट, भेरियन्ट अफ कन्सर्नभित्र पर्छ । साउथ अफ्रिका भेरियन्ट विश्वका २० भन्दा बढी देशमा फैलिएको छ । घातक भेरियन्टहरूमध्ये सुरुमा पुष्टि भएको यो भेरियन्ट महामारीको दोस्रो लहरको प्रमुख कारण हो । यो ट्रिप्पल म्युटेन्ट भेरियन्ट हो, जसमा थप पाँच स्पाइक म्युटेसनहरू भएका छन् । यसको आरबिडी (रिसेप्टर बाइन्डिङ डोमेन) तीनपटक म्युटेड भएकाले मानव कोषसँग छोटो समयमै आक्रमण गर्न सक्छ । जसका कारण शरीरमा तीव्र फैलिने हँुदा मृत्युदर बढी हुन्छ । 

ब्राजिल भेरियन्ट पी.१ 
घातक मानिएका भेरियन्टहरूको सूचीमा ब्राजिल भेरियन्ट पनि पर्छ, जुन हाल १० भन्दा बढी देशमा फैलिइसकेको छ । ६ जनवरीमा पहिलोपटक चारजनामा पुष्टि भएको यो भेरियन्टमा १७ वटा एमिनो एसिड परिवर्तित भएर आएका छन् । जसमध्ये ११ वटा म्युटेड स्पाइक प्रोटिन मात्र भेटिएका छन् । यो अन्य भेरियन्टभन्दा निकै फरक ढंगले म्युटेड छ । यसबाहेक अमेरिकाको क्यालिफोर्नियामा देखिएका बी.१.४२७ र बी.१.४२९ भेरियन्ट पनि घातक भाइरसको सूचीमा छन् । 

हाल स्वरूप परिवर्तन भएर आएका एक हजारभन्दा बढी भेरियन्टहरू देखिएका छन् । लगातार म्युटेड भइरहेका यस्ता भेरियन्टहरूमध्ये केही प्रतिशत मात्र उच्च संक्रामक र घातक छन् । यस्ता भेरियन्टहरूमध्ये केहीले अन्य भाइरसलाई नै असर गरिरहेका हुन्छन् । तर, केही भेरियन्ट यस्ता छन्, जुन शतप्रतिशत घातक हुन्छन् । उच्च संक्रामक भेरियन्टहरू त्यत्तिकै घातक देखिएका छन् । खासगरी भ्याक्सिन नलगाएकाहरूमा नयाँ भेरियन्टको असर बढी देखिएको छ । 

नेपालमा देखिएको नयाँ भेरियन्ट कति घातक ?
नेपालमा पछिल्लो समय देखिएको इन्डियन भेरियन्ट ५० प्रतिशतभन्दा बढी संक्रामक रहेको पाइएको छ । अस्पतालमा सिकिस्त बिरामीको संख्या बढ्नु र मृत्युदर बढ्दै जानुको कारण इन्डियन भेरियन्ट रहेको विज्ञहरू बताउँछन् ।

नेपालमा इन्डियन भेरियन्ट कहिलेदेखि देखिएको भन्ने पुष्टि नभए पनि संक्रामक भेरियन्ट हुन सक्ने पहिलेदेखि अनुमान गरिएको बताउँछन् भाइरोलोजिस्ट शेरबहादुर पुन । उनी भन्छन्, ‘नेपालमा ३४ जनामा कहिले परीक्षण गरियो भन्ने खुलाइएको छैन । हाल नेपालमा देखिएको यो भेरियन्ट अफ कन्सर्नभित्र पर्नुले पनि चिन्ता थपिदिएको छ ।’ कन्सर्नभित्र परेका यी भेरियन्टहरू एकपछि अर्को देखिनुले नेपालमा महामारी सहजै नियन्त्रणमा ल्याउन नसकिने विज्ञहरूले बताउँदै आएका छन् । 
 

See More On

सुझावित समाचार