गौरादह नगरपालिका परिसरमै पुरियो कुहिएको चामल

बुधबार, १२ जेठ, २०७८
डिजिटल संस्करण

गुणस्तर मापन नगरी हतारहतार तीन हजार १२१ केजी चामल नष्ट

गौरादह नगरपालिकाले तीन हजार १२१ केजी चामल नष्ट गरेको छ । कुहिएको पाँच हजार केजीमध्ये सो परिमाणको चामल गुणस्तर चाँज नगरी नष्ट गरेको हो । एक वर्षसम्म पानी चुहिने गोदाममा थन्क्याउँदा पाँच हजार केजी चामल कुहिएको थियो । 

नयाँ पत्रिका दैनिकले कुहिएको पाँच हजार केजी चामल स्टोर गरेर राखेको र विपन्न नागरिकलाई समेत बाँडेको समाचार प्रकाशित गरेपछि नगरपालिकाले बाध्य भएर नष्ट गर्ने निर्णय गरेको थियो । सोमबार नगरपालिका परिसरभित्रै कुहिएको चामल खाल्डो खनेर पुरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भट्टराईले जानकारी दिए । ‘आँखाले हेर्दा नै काम नलाग्नेजस्तो देखिन्छ । किन गुणस्तर मापन गर्नुपर्‍यो र ?’ उनले भने, ‘पाँच हजार केजीमध्ये दुई हजार केजीचाहिँ काम लाग्छ कि भनेर ५ नम्बर र ३ नम्बर वडामा राखेका छौँ ।’

सामान्यतया सरकारी खाद्यान्न काम नलाग्ने अवस्थामा पुगेमा नष्ट गर्न त्यसको गुणस्तर मापन गर्नुपर्ने नेपाल बार एसोसिएसनका पूर्वकेन्द्रीय उपाध्यक्ष अशोक पोखरेल बताउँछन् । ‘आँखाले देख्ने कुरा र कानुनी विषय फरक हो । कानुनी वैधताका लागि नगरपालिकाले खरिद गरेको चामल नष्ट गर्दा गुणस्तरको मापन गरिनुपर्दछ,’ उनले भने, ‘चामल नष्ट गर्न प्राविधिकले जाँच गरेको प्रतिवेदन चाहिन्छ ।’

गौरादह नगरपालिकाको नगर परिसर । यही ठाउँमा  पुरियो कुहिएको चामल । तस्बिर : नयाँ पत्रिका

नगरपालिकाले गल्ती लुकाउन हतारमा चामल नष्ट गरेको राजनीतिक दलको आरोप छ । नगरपालिकाले राजनीतिक दलका नेतृत्वलाई समेत जानकारी नदिई चामल पुरेको एमाले गौरादहका अध्यक्ष मित्रदेव काफ्लेले बताए । ‘नेतृत्वको गैरजिम्मेवारी हो । यसको जिम्मेवारी मेयर रोहितकुमार साहले लिनुपर्छ,’ उनले भने, ‘यत्रो चामल नष्ट गर्दा हामी राजनीतिक दललाई पनि जानकारी छैन । जनप्रतिनिधिलाई सोध्न खोज्दा उहाँहरूले टारिरहनुभयो ।’

केही राजनीतिक दलका नेतृत्वले भने नगरपालिकाले नष्ट गरेको चामलको क्षति जनप्रतिनिधिले व्यहोर्नुपर्ने तर्क गरेका छन् । ‘जनप्रतिनिधिकै कारण यो चामल कुहिन पुग्यो । अब मेयर, उपमेयर, वडाध्यक्षहरू, प्रमुख प्रशासकीय अधिकृत र स्टोरको कर्मचारीबाट क्षति भराउनुपर्छ,’ कांग्रेस नगर सभापति यादवराज सेढाईंले भने, ‘गौरादह नगरपालिका गम्भीर कुशासनको चक्रमा चलिरहेको छ । महामारीमा स्रोतको चरम दुरुपयोग भयो । भलै मेयरले नेतृत्व गरेका होलान्, तर यसको जिम्मेवारी सबै जनप्रतिनिधिले लिनुपर्छ ।’

माओवादी केन्द्रका स्थानीय नेता शेरबहादुर कार्कीले नगरपालिकाले जनतालाई जानकारी पनि नदिई चामल पुरिएको भन्दै आपत्ति जनाए । ‘गुपचुपमा चामल नगरपालिका परिसरमै पुरे । चामल नै पुरे कि के पुरे शंका नै छ । स्थानीयवासीसहित हामी मंगलबार बिहान पुरेको ठाउँमा गएर हेर्न खोज्यौँ,’ उनले भने, ‘तर, प्रहरी लगाएर हामीलाई हेर्न दिएन । नगरपालिकाले जनतामारा स्थानीय सरकारको परिचय दियो ।’

गौरादह उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष डा. तिलक खनालले खाद्य सामग्री उपभोग गर्न योग्य हो होइन परीक्षणसमेत नगरी वितरण गरेको पाइएको बताए । अब कुहिएको चामलबाट मानव स्वास्थ्यमा आइपर्ने समस्याको जवाफदेही नगरपालिका हुनुपर्ने उनले बताए । चामल नष्ट गरेपछि स्थानीयले नगरपालिकाको चौतर्फी विरोध गरेका छन् । 

See More On

सुझावित समाचार