काठमाडौंका ठूला र सुविधासम्पन्न अस्पतालमा बेड, आइसियू र अक्सिजनसमेत नपाएको अवस्थामा कैयौँ संक्रमित एम्बुलेन्स र हेलिकोप्टर चढेर मोफसलका अस्पताल पुगे
काठमाडौंका ठूला र सुविधासम्पन्न अस्पतालमा बेड पाउन छाडेपछि कोरोनाका साथै अन्य रोगका बिरामीले मोफसल रोज्न थालेका छन् । काभ्रेको धुलिखेल अस्पताल, चितवन मेडिकल कलेज, बाग्लुङको धौलागिरी अस्पताल, जुम्लाको कर्णाली चिकित्सा स्वास्थ्य विज्ञान प्रतिष्ठान, बाँकेको भेरी अस्पतालमा बिरामीको चाप बढेको छ । कतिपय बिरामी हेलिकोप्टर चार्टर गरेर त कतिपय एम्बुलेन्समा बाहिरका अस्पतालमा उपचार गरेर निको भई फर्कने गरेका छन् ।
काठमाडौंमा बेड नपाएपछि बाग्लुङ पुगेर संक्रमितले लिए उपचार

काठमाडौं कोटेश्वरमा फार्मेसी चलाउँदै आएकी पार्वती कँडेलमा वैशाख दोस्रो साता कोभिड– १९ का लक्षण देखिए । परीक्षणका लागि उनले स्वाब दिइन्, १७ वैशाखमा पजिटिभ रिपोर्ट आयो । होम आइसोलेसनमै रहेकी उनको स्वास्थ्यमा थप समस्या आउन थालेपछि परिवारले अस्पताल खोजी गर्यो । तर, काठमाडौंका कुनै पनि सरकारी अस्पतालमा बेड पाइएन । समस्या बढ्दै गएपछि पार्वतीका श्रीमान्ले बाग्लुङमा रहेका दाजु चूडामणि कँडेलसँग सल्लाह मागे । उनले धौलागिरि अस्पतालका डाक्टरसँग सल्लाह गरे । उनीहरूले अक्सिजन लगाएर बाग्लुङ ल्याउन सुझाब दिए । सोहीअनुसार पार्वतीका श्रीमान्ले २० वैशाखमा एम्बुलेन्समा धौलागिरि अस्पताल बाग्लुङमा ल्याए । १० महिनाको छोरालाई पनि २२ वैशाखमा संक्रमण देखियो । पाँच दिनको उपचारपछि उनीहरूको स्वास्थ्यमा निकै सुधार आयो । आमाछोरा दुवै घर फर्किए र एक साता होम आइसोलेसनमा बसे । दुवैले कोरोनालाई जिते ।
अनन्त नेपाल, बिरामी
विनाअक्सिजन चितवनको मेडिकल कलेज पुगेपछि भने ज्यान जोगिने आशा पलायो । कोभिडसँगै निमोनियाको सुरुवाती अवस्थामा थिएँ । एचडियू र आइसियूमा चार रात, पाँच दिन बिताएपछि निको भएर काठमाडौं फर्किंएँ ।
सुविधासम्पन्न अस्पतालहरू रहेको काठमाडौं छाडेर उपचारका लागि बाग्लुङ जाने सुन्दा पार्वतीलाई डर लागेकै थियो । तर, उनीसँग अर्को विकल्प पनि थिएन । त्यसैले उनी तयार भइन् । ‘सुरुमा त ठूलो सहरमा सुविधासम्पन्न अस्पताल छाडेर बाग्लुङ जाँदा मनमा डर थियो । झन्डै ४०/५० घन्टा लगातार ज्वरो आयो मन पनि आत्तियो,’ पार्वतीले भनिन्, ‘तर, विकल्प थिएन । त्यसैले तयार भएँ । आफू स्वास्थ्यकर्मी नै भएकाले पनि होला आत्मबल बलियो बनाएँ, कोरोना जितेँ ।’ काठमाडौंबाट धौलागिरि अस्पताल पुग्न एम्बुलेन्सलाई ३५ हजार रुपैयाँ बुझाउनुप¥यो । तर, पार्वतीले अस्पतालमा भने निःशुल्क उपचार पाइन् । ‘काठमाडौंका निजी अस्पतालमा गएको भए लाखौँ रुपैयाँ खर्च हुने थियो, तर सरकारी अस्पतालमा कोरोनाको निःशुल्क उपचार पाएँ । बाहिरबाट किन्नुपरेका केही औषधिबाहेक अस्पतालमै रहेका औषधि पनि निःशुल्क दिइयो,’ उनले भनिन् ।
धौलागिरि अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र बी पोखरेलले सुविधासम्पन्न काठमाडौंबाट यहाँ आएर एउटा बिरामीले कोरोना जित्नु आफूहरूको लागि पनि विशेष रहेको प्रतिक्रिया दिए । ‘पार्वतीजीलाई अक्सिजन कम थियो । त्यसैले एम्बुलेन्समा नै अक्सिजन लगाएर ल्याइएको थियो । ज्वरो र खोकी पनि थियो । तर, पाँच दिनमा नै निको भएर घर फर्कनुभयो । थप एक साता होम आइसोलेनमा बस्नुभयो अहिले पूर्ण ठीक हुनुभएको छ,’ डा. पोखरेलले भने, ‘हामी स्वास्थ्यकर्मीहरूको पनि मनोबल बढेको छ । यसले यहाँका डाक्टर, नर्स र अन्य स्वास्थ्यकर्मीप्रति थप भरोसा प्रदान गरेको छ ।’ धौलागिरि अस्पतालमा हाल ३४ संक्रमितको उपचार भइरहेको छ । २६ को एचडियूमा, चारको भेन्टिलेटर र चारको जनरल वार्डमा राखेर उपचार भइरहेको अस्पतालका सूचना अधिकारी प्रमिला ढकालले जानकारी दिइन् । ९९ प्रतिशत बिरामी निको भएर फर्किएको अस्पतालको दाबी छ ।
सुगमका बिरामी निको पार्दै दुर्गमको जुम्ला स्वास्थ्य प्रतिष्ठान
०६८ मा स्थापना भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनाको केही वर्षमै सुगमको समेत भरोसा बन्न थालेको छ । कोरोना सुरु हुनुअघि पनि सुगम मानिएका सुर्खेत, नेपालगन्जलगायतका जिल्लाबाट बिरामीहरूलाई जुम्ला ल्याएर उपचार गराइन्थ्यो । नेपालको अति दुर्गम जिल्लामध्येमा पर्ने जुम्लामा स्वास्थ्य विज्ञान प्रतिष्ठान बनेपछि तराईका बिरामी पहाड उक्लिन थालेका छन् । सुर्खेतमा रहेको कर्णाली प्रदेश अस्पताल पुगेका बिरामीसमेत बेड र अक्सिजनको अभावका कारण जुम्ला पुग्न थालेका छन् । केही वर्षअघिसम्म जुम्लाका नागरिकले डाक्टर नपाएर अकालमा ज्यान गुमाउनुपर्ने बाध्यता थियो । अहिले समय बदलिएको छ । प्रतिष्ठानको मजबुत पूर्वाधार र पर्याप्त स्वास्थ्य जनशक्ति कोरोना संकटमा भरोसा बनेको छ ।
सुर्खेत वीरेन्द्रनगर–७, इत्रामका गोविन्द खत्रीले वैशाख तेस्रो साता आफ्नी आमालाई कोरोना संक्रमण देखिएपछि कर्णाली प्रदेश अस्पताल पु¥याए । तर, न बेड थियो, न अक्सिजन । सुर्खेतमै रहेको अर्को निजी अस्पतालमा पनि बेड र अक्सिजनको अभाव थियो । केही घन्टाको दूरीमा बाँकेका दुई अस्पताल थिए । तर, बाँके कोरोनाको हटस्पट बनेको थियो, दुवै अस्पतालले बाहिरै राखेरसमेत उपचार गराउनुपर्ने अवस्था खेपिरहेका थिए । अब गोविन्दका अगाडि हेलिकोप्टर वा एम्बुलेन्समा राखेर आमालाई काठमाडौं लैजाने विकल्प मात्र बाँकी देखियो । तर, काठमाडौंका अस्पतालमा पनि बेड र अक्सिजनको हाहाकार रहेको उनले थाहा पाए । के गर्ने, कसो गर्ने भन्ने विलखबन्दमा परे । त्यत्तिकैमा एक परिचितले जुम्ला लैजान सल्लाह दिए । गोविन्दलाई सुझाब उचित लाग्यो । समय खर्च नगरी एम्बुलेन्समा आमालाई राखेर उनी जुम्लातर्फ लागे । १६ घन्टाको यात्रापछि उनी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगे । ‘जुम्ला पुग्नेबित्तिकै आमालाई बचाइयो जस्तो लाग्यो,’ खत्रीले भने, ‘पहिला ज्यान जोगाउन सुर्खेत, नेपालगन्ज, काठमाडौं जानुपथ्र्यो, अहिले जुम्ला जाने दिन आए ।’
३१ वैशाखमा सर्केगाड गाउँपालिका हुल्लाका स्वास्थ्य संयोजक कोरोना संक्रमित सन्तोष धामीलाई श्वास–प्रश्वासमा समस्या भएपछि हेलिकोप्टरमार्फत जुम्ला अस्पताल आए । जिल्ला अस्पताल हुम्लामा रहेका संयोजक धामीको अक्सिजन लेभल ५० मा झरेपछि उनलाई जुम्ला ल्याइएको थियो । प्रतिष्ठान ल्याएपछि उनको स्वास्थ्यमा सुधार भयो । यसअघि, सुर्खेतमा उपचार नपाए नेपालगन्ज वा काठमाडौं लैजाने गरिएकोमा यसपटक पाँच संक्रमित बिरामी जुम्लास्थित प्रतिष्ठान पु¥याइएको छ । प्रदेश अस्पतालमा कोरोना संक्रमण बिरामीले अक्सिजन र बेड नपाएपछि उपचारका लागि पाँचजना बिरामी जुम्लास्थित अस्पतालमा आएको प्रतिष्ठानका प्रवक्ता डा. रमेश भट्टराईले बताए । उनले भने, ‘सुर्खेतबाट आएका पाँचजना बिरामीमध्ये दुईजनालाई अक्सिजन प्रयोग गरी उपचार गरेका थियौँ । अहिले निको भएर घर फर्किसकेका छन् ।’ प्रतिष्ठानमा आइसोलेसन बेड १२०, एचडियू बेड २४, आइसियू बेड १२ र भेन्टिलेटर १५ वटा छन् । अन्य कोभिड स्वास्थ्य सामग्री, पिपिई, माक्स, स्यानिटाइजर अहिले २÷३ महिना पुग्ने मौज्दात रहेको उनले बताए ।
भेरी अस्पतालमा चिकित्सकसहितको टोली

प्रतिष्ठानले नेपालगन्जस्थित भेरी अस्पताललाई चिकित्सकसहितको टोली पठाएको छ । प्रतिष्ठानका प्रवक्ता भट्टराईले भेरी अस्पतालको कोभिड वार्डमा जनशक्ति अभाव भएपछि प्रतिष्ठान विशेषज्ञ चिकित्सकसतिहको टोली पठाइएको जानकारी दिए । प्रतिष्ठानका एनेस्थेसिया तथा सघन उपचार विभाग प्रमुख डा. प्रवीण गिरी नेतृत्वको चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली नेपालगन्ज पठाइएको छ । स्वास्थ्य मन्त्रालयको आग्रहपछि प्रतिष्ठानका ६ चिकित्सक र स्वास्थ्यकर्मीको टोली भेरी अस्पतालका खटिसकेका छन् । सघन उपचारका लागि चिकित्सकको अभाव रहेको भेरी अस्पतालले जानकारी गराएपछि प्रतिष्ठानबाट चिकित्सक टोली त्यहाँ गएको हो । सघन उपचार विभाग प्रमुख डा. प्रवीण गिरीसहित डा. अरुण श्रेष्ठ, डा. हरि न्यौपाने, नर्सद्वय सुष्मिता खड्का, तेन्जिङ लामा र प्यारामेडिक्स नरेन्द्र शर्मा अहिले भेरी अस्पतालमा छन् ।
प्रतिष्ठान जनशक्तिको हिसाबले पनि अब्बल छ । ७० जना चिकित्सकसहित करिब २ सय ५० जना स्वास्थ्यकर्मी कार्यरत छन् । अस्पतालको पूर्ण क्षमताअनुसार बिरामी भर्ना हुँदा पनि करिब ५० जना चिकित्सक–स्वास्थ्यकर्मीलाई अन्य जिल्लामा परिचालन गर्न सकिने डा. भट्टराईले बताए । जुम्लामा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा धनगढी, पोखरा, काठमाडौंजस्ता सुगमबाट फोन आउने गरेको प्रतिष्ठानका प्रवक्ता डा. रमेश भट्टराईले बताए । पछिल्लो समय संक्रमणको दर घटिरहेकाले भने फोन आउने क्रम पनि कम भएको उनले जानकारी दिए । प्रतिष्ठानले आफ्ना लागि आवश्यक पर्ने अक्सिजन आफैँ उत्पादन गरिरहेको छ । बेडहरूमा प्लान्टको पाइपलाइन जोड्नुका साथै २ सयवटा अक्सिजन सिलिन्डर छन् ।
विश्वास जित्दै चितवनका अस्पताल
काठमाडौं महानगरपालिका– ९ काँडाघारीका अनन्त नेपाललाई ८ वैशाखदेखि ज्वरोले सतायो । तीन, चार दिनपछि श्वास–प्रश्वासमा समस्या हुन थाल्यो । आफन्तले काठमाडौंका ठूला अस्पतालमा अक्सिजन र बेड खोजे, तर पाइएन । मूलपानी स्वास्थ्यचौकीमा अक्सिजन सेवा छ भन्ने थाहा पाएपछि १५ वैशाखको बिहानै स्वास्थ्य चौकी पुगे । तर, २४ घन्टा पनि नबित्दै अक्सिजन सकियो ।

चितवन मेडिकल कलेजमा उपचाररत बिरामी
आफन्तले अनेक प्रयास गर्दा पनि काठमाडौंका ठूला अस्पतालमा बेड फेला परेन । बरु, चितवन मेडिक कलेजमा बेड भएको पत्ता लाग्यो । त्यसपछि जसोतसो जोहो गरिएको एउटा अक्सिजन सिलिन्डर जोडेर अनन्तलाई लिई आफन्तहरू चितवनतर्फ लागे । तर, मुग्लिन नपुग्दै अक्सिजन सकियो । विकल्पहीन नेपाल परिवार विनाअक्सिजन मेडिकल कलेज पुग्यो । ‘त्यहाँ पुगेपछि भने ज्यान जोगिने आशा पलायो,’ नेपालले भने, ‘कोभिडसँगै निमोनियाको सुरुवाती अवस्थामा थिएँ । एचडियू र आइसियूमा चार रात, पाँच दिन बिताएपछि निको भएर काठमाडौं फर्किंएँ ।’ सरकारीमा भन्दा निजीमा उपचार महँगो भए पनि सेवा पाएकोमा उनी खुसी छन् । काठमाडौंका निजी अस्पतालको तुलनामा भने निकै सस्तो सेवा पाएको उनले बताए ।
ताप्लेजुङस्थित हाइड्रोपावरमा कार्यरत बिन्दु कोइरालाको घर काठमाडौं हो । छुट्टी मनाएर कार्यस्थलमा पुगेका उनलाई कोरोना देखिएपछि २२ वैशाखमा काठमाडौं फर्किएर अक्सिजन लगाएर घरै बसे । स्वास्थ्यमा समस्या बढेपछि अस्पताल जान खोजे । न बेड पाइयो, न अक्सिजन । अवस्था नाजुक बन्दै गएपछि आफन्तले हेलिकोप्टर मगाएर २७ वैशाखमा चितवन मेडिकल कलेज पुर्याए । उपचार भयो, निको भएर घर फर्किए । हेलिकोप्टरको भाडादेखि उपचारमा ठूलो खर्च लागे पनि ज्यान बचेकोमा उनी सन्तुष्ट छन् । ‘पैसा तिरेर पनि काठमाडौंमा उपचार नपाउने भएपछि चितवन आएको थिएँ,’ उनले भने, ‘चितवनमा राम्रो उपचार पाएँ, स्वास्थ्य ठीक भयो, पैसाभन्दा स्वास्थ्य नै महत्वपूर्ण हो भन्ने थप बुझ्न पाएँ ।’
डा. राजेन्द्र कोजु,
डिन, काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सेस
धुलिखेल अस्पतालमा औषधि र ल्याब परीक्षण शुल्क स्वास्थ्य मन्त्रालयको मापदण्डअनुसार बिरामीसँग लिने गरेका छौं । बेड शुल्क, उपचार, खानाखाजालगायत सबै नि:शुल्क छ ।
‘मेडिकल सिटी’का नामबाट पनि चिनिने चितवनको भरतपुरमा अहिले ६० प्रतिशत कोरोनाका बिरामी जिल्लाबाहिरका छन् । भरतपुर अस्पताल, चितवन मेडिकल कलेज, कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र पुष्पाञ्जली अस्पतालले कोभिडका बिरामीको उपचार गरिरहेका छन् । चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेजमा अहिलेसम्म १२ भन्दा बढी संक्रमितले काठमाडौंबाट आएर उपचार लिएका छन् । स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीका अनुसार नवलपरासी, मकवानपुर, तनहुँ, लमजुङ, गोरखा, रूपेन्देही, दाङलगायतका जिल्लाबाट कोभिडका बिरामी उपचारका लागि आउने गरेका छन् । यी चार अस्पतालमा कोभिडका लागि आइसियू, एचडियू, भेन्टिलेटरसहित आठ सय २२ बेड छन् ।
पोखराका अस्पतालमा बेड र अक्सिजन सुलभ
दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ४२ वर्षीय कोरोना संक्रमितको उपचार भइरहेको थियो । आठ दिन बितिसक्दा पनि स्वास्थ्यमा सुधार नआएपछि चिकित्सकले समेत अन्यत्र लैजान सुझाब दिए । ३८ वर्षीया श्रीमतीले आफन्तहरूको सहयोगमा काठमाडौंका केही अस्पतालबारे बुझिन् । कतै बेड थिएन, कतै अक्सिजन । निराश हुनै लागेकी उनलाई परिवारका एक सदस्यले पोखराको मणिपाल शिक्षण अस्पतालमा लैजान सुझाब दिए । सोधपुछ गर्दा बेड खाली पाइयो, अक्सिजनको पनि अभाव थिएन । त्यसपछि पाँच लाख ६२ हजार रुपैयाँ भाडामा हेलिकोप्टरको जोहो गरेर बिरामीलाई मणिपाल पुर्याइयो । अहिले उनको उपचार चलिरहेको छ ।
दाङबाट मात्र होइन, पश्चिमका धेरै जिल्लाबाट हेलिकोप्टरमा कोभिड संक्रमितलाई उपचारका लागि पोखराका विभिन्न अस्पताल ल्याउने गरिएको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी धानेश्वर गौतमले कोरोनाको दोस्रो लहर चलेयता अन्य जिल्लाबाट धेरै बिरामी उपचारका लागि हेलिकोप्टरमा ल्याउने गरिएको बताए । मणिपाल शिक्षण अस्पतालका वरिष्ठ छातीरोग विशेषज्ञ डा. सिपी आचार्यका अनुसार दोस्रा लहर सुरु भएदेखि २५ भन्दा बढी संक्रमित हेलिकोप्टरबाट उपचारका लागि मणिपाल ल्याइएका छन् । केही दिनअघिसम्म बेड र अक्सिजनको अवस्था सोध्नेहरूको संख्या पनि निकै हुने गरेको थियो । डा. आचार्यका अनुसार पछिल्ला दिन भने घटेको छ । मणिपालमा काठमाडौं, दाङ, कैलाली, भैरहवा र वीरगन्जबाट समेत कोभिडका बिरामी ल्याइएको उनले बताए ।
अहिले पोखरामा संक्रामक तथा सरुवा रोग अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान गरी दुई सरकारी र १८ निजी अस्पतालमा कोरोनाका बिरामीको उपचार भइरहेको छ । गण्डकी प्रदेश सरकारले कोभिडको उपचारका लागि सम्झौता गरेका पोखराका यी अस्पतालमा ४४५ आइसोलेसन बेड छन् । १७० आइसियू, ६४ भेन्टिलेटर, एक सय ५० एचडियू बेड छन् । संक्रमितको संख्या बढिरहे पनि अहिलेसम्म बेड र अक्सिजनको अभाव नरहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।
गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव विनोदबहादुर कुँवर गण्डकी प्रदेशमा अक्सिजन र बेडको अभाव नरहेको बताए । अस्पतालको सेवा पनि राम्रो रहेको उनको भनाइ छ । ‘सबै कुरा काठमाडौंकै राम्रो भन्ने चलन छ । तर, यो विषम परिस्थितिमा काठमाडौं मात्र होइन, पोखरा पनि छ भन्ने अहिले पुष्टि गर्न सफल भएका छौँ,’ उनले भने, ‘सरकारी मात्र होइन, यहाँका निजी अस्पतालले समेत राम्रो गरेका छन् ।
झापाको बिएन्डसीमा काठमाडौंदेखिका बिरामीको चाप
ओखलढुंगाको मोलुङ गाउँपालिका–३ का नरनाथ फुयाललाई दुई हप्ताअघि कोरोना संक्रमण देखियो । गाउँपालिका पशु शाखाका प्रमुख फुयालले स्वास्थ्यमा समस्या आएपछि केही दिन जिल्ला अस्पतालमा उपचार गराए । तर, अस्पतालको बेवास्ताका कारण बिरामले झन्–झन् च्याप्यो । ‘डाक्टरहरूले नहेर्ने । एकजना अनमीको भरमा राख्नुपर्यो । डाक्टरले फोनबाट यो औषधि लगाउनु भन्थे,’ छोरा सुवास भन्छन्, ‘भिडियो एक्सेरे पनि गर्दैनथे, डाक्टरले अर्को भवनबाट कस्तो छ भनेर सोध्थे, बुबालाई झन् साह्रो भयो ।’ छोरा सुवासले काठमाडौंका विभिन्न अस्पतालमा फोन गरे । कहीँ पनि भेन्टिलेटर खाली छ भन्ने सुन्न पाएनन् । झापाको बिर्तामोडमा रहेको बिएन्डसी अस्पतालबारे सुवासले समाचार पढेका थिए । त्यहाँ राम्रो उपचार हुन्छ भन्ने सुनेका कारण उनले बिएन्डसी खोजे । अस्पतालमा फोन गर्दा बिरामी ल्याउनु भनेपछि अल्टिच्युड एयरको हेलिकोप्टरलाई चार लाख भाडा तिरेर बुबालाई ल्याए ।
काठमाडौंमा फलफूलको होलसेल व्यापार गर्ने झापा कमल गाउँपालिका– ५ का महेन्द्रकुमार पाठकलाई १९ वैशाखमा कोरोना संक्रमण देखियो । मनमोहन अस्पतालमा एक रात राखेपछि उनीहरूले बिएन्डसी अस्पताल लैजाने निधो गरे । काठमाडौंमा अक्सिजनको अभावले धेरै संक्रमितको मृत्यु हुन थालेको खबरले उनीहरू भयभीत थिए । झापा नै घर भएकाले बिएन्डसी अस्पतालबारे उनीहरूले सुनेका थिए । ‘हामी पनि झापा नै भएकाले बिरामीको हेरचाह गर्न सकिन्छ भन्ने उद्देश्यले यहाँ ल्यायौँ,’ दाइ खगेन्द्रले भने, ‘हामीले ल्याउँदा त बेडहरू पनि खाली थियो । पछि त यहाँ पनि भरिँदै गयो । दिनैपिच्छे हेलिकोप्टर आउन थाल्यो ।’
झापा दमकस्थित एड्भान्स अस्पतालमा कार्यरत डा. निमा शेर्पाका दाइ र भाउजूलाई कोरोना संक्रमण देखियो । निमा दमक बसेर काम गर्ने भए पनि दाइ–भाउजू काठमाडौंमा बस्थे । लक्षणसहित संक्रमण भएपछि डा. निमाले काठमाडौंका अधिकांश अस्पतालमा आइसियूसहितको बेड खोजे । तर, पाएनन् । आफू पनि झापामै काम गर्ने भएकाले दाइ र भाउजूलाई २७ वैशाखमा अल्टिच्युट एयरको हेलिकोप्टरमार्फत बिएन्डसी अस्पतालमा ल्याएर उपचार गराइरहेका छन् । उनले हेलिकोप्टरलाई करिब पाँच लाख तिरेको नयाँ पत्रिकालाई जानकारी दिए ।
तराई मधेसका जिल्लाको रोजाइ धुलिखेल अस्पताल
जनकपुरको मिथिला नगरपालिका–१० की मालती थापालाई श्वासप्रश्वासमा समस्या भएपछि काभ्रेको धुलिखेल अस्पताल भर्ना गरियो । दश दिन उपचारपछि निको भएर उनी घर फर्किइन् । नयाँ पत्रिकासँग कुरा गर्दै उनले भनिन्, ‘कोभिडका सबै लक्षणसहित स्वास्थ्यमा समस्या आएपछि काठमाडौं उपचार गराउन जाने निधो गरेको थिएँ । तर, एकातिर स्वास्थ्य बिग्रिँदै थियो, अर्कोतिर काठमाडौंमा सहज उपचार पाउन समस्या भइरहेको थियो । यस्तोमा साथीहरूले पनि धुलिखेल अस्पताल राम्रो विकल्प हो भने । त्यहीँ गएँ, राम्रो उपचार पाएँ, अहिले घरमा आराम गरिरहेकी छु ।’
धुलिखेल अस्पताल काभ्रेका अतिरिक्त रामेछाप, सिन्धुपाल्चोक, दोलखा, सिन्धुली, भक्तपुर, ललितपुर र काठमाडौंका संक्रमितको बढी रोजाइमा देखिन्छ । अस्पतालका डा. राम गुरुङका अनुसार पछिल्लो समय जनकपुर, सर्लाही, झापाी, सुनसरीबाट समेत हेलिकोप्टर चार्टर्ड गरेर सक्रिय संक्रमितहरू उपचारका लागि आउने गरेका छन् ।
धुलिखेल अस्पतालले कोरोनाका बिरामीको उपचारका लागि छुट्टै भवनमा व्यवस्था मिलाएको छ । अस्पतालको प्रसूति भवनलाई कोभिड अस्पतालमा विकास गरिएको छ । सो भवनमा २५ शड्ढयाको आइसियू र अक्सिजनसहितका एक सय शड्ढया छन् । गत १ वैशाखयता अस्पतालमा दुई सय ७० संक्रमित उपचारका लागि आएको अस्पतालका डाक्टर राम गुरुङले जानकारी दिए । ‘हामीले कोभिडको दोस्रो लहर सुरु भएसँगै उपचार गर्न सुरु गरेका थियौँ । वैशाखयता तीन सय ६३ गम्भीर संक्रमित भर्ना भएका थिए । सक्दो प्रयास गर्दागर्दै पनि ४९ जनालाई बचाउन सकेनौँ । अन्य दुई सय २१ गम्भीर बिरामी सफल उपचारपछि घर फर्किसकेका छन् । अहिले ९३ जना संक्रमित बिरमीको उपचार भइरहेको छ,’ उनले भने । धुलिखेल अस्पतालले कोभिड संक्रमितको निःशुल्क उपचार गर्ने गरेको धुलिखेल अस्पताल काठमाडौं विश्वविद्यालयका डिन डा. राजेन्द्र कोजुले बताए । औषधि र ल्याब परीक्षण शुल्क स्वास्थ्य मन्त्रालयको मापदण्डअनुसार बिरामीसँग लिने गरे पनि बेड चार्ज, उपचार, खानाखाजालगायत सबै निःशुल्क रहेको डा. कोजुले जानकारी दिए ।

