केपी ओली सरकारलाई बढार्दै मुलुकमा कानुनको राज स्थापना गर्ने दायित्व आएको छ : माधव नेपाल

मंगलबार, ११ जेठ, २०७८
डिजिटल संस्करण

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले मुलुकमा कानुनी, राजनीतिक तथा सडक आन्दोलनबाट प्रतिगामी ओली सरकारलाई बढार्दै मुलुकमा कानुनको राज स्थापना गर्ने दायित्व आइपरेको बताएका छन् ।

मंगलबार प्रेस वक्तव्य जारी गर्दै नेता नेपालले केपी ओलीले नेपाली जनता, निष्ठावान नेता–कार्यकर्ता, लोकतन्त्र, संविधान र सिंगो कम्युनिस्ट आन्दोलनप्रति ठूलो गद्दारी गरेकाे भन्दै प्रतिरोधमा उत्रिने अवस्था बनेको बताए ।  

नेता नेपालले ओली सरकारको सर्वसत्तावाद र निरंकुशतालाई परास्त गर्दै संविधान र लोकतन्त्रको रक्षा गर्ने अभियानमा लाग्न नेपाली जनतालाई अपिल गरेका छन् । युगले सिंगो कम्युनिस्ट आन्दोलनलाई पुनर्जागरण गरी समाजवादको अभियानमा गोलबद्ध गर्ने अभिभारा आफूहरूलाई सुम्पिएको भन्दै नेता नेपालले केपी ओलीको गद्दारीको प्रतिरोधमा उत्रिन आग्रह गरे ।

मनोगत आधारमा र स्वेच्छाचारी ढंगले सरकार चल्दा र जनअपेक्षाअनुरूप काम नहुँदा निराशा बढेको उनले बताए । राज्यका विभिन्न निकायले कोरोनाले भयावह रूप लिन्छ भन्दाभन्दै पनि ओलीले यसलाई मनोगत रूपमा ठट्टाको विषय बनाएको भन्दै नेपालले ओलीको कुतर्क र कुवर्णनका कारण कोरोना प्रतिकार्यका लागि राज्य संयन्त्रले प्रभावकारी कार्य सम्पादन गर्न नसकेको  र  हजारौँको ज्यान जाने अवस्था बनेको टिप्पणी गरे । सिंगो जनताप्रति योभन्दा ठूलो अपराध अरू हुन नसक्ने उनको भनाइ छ । 

 केपी ओलीले नितान्त व्यक्तिवादी सोच र स्वार्थ पूरा गर्न सरकारको चरम दुरुपयोग गरेको उनको आरोप छ । कम्युनिस्ट सरकार रहेका वेला बिचौलिया, दलाल, माफिया र गुण्डाराज चलाउनेहरू उत्साहित हुने, तर सर्वहारा वर्ग र आमनेपाली जनता  अपहेलित हुने अवस्था आउनु दुःखद पक्ष भएको नेपालले बताए । 

सुझावित समाचार