एनएमबि बैंकले अन्तर्राष्ट्रिय प्रिपेड डलर कार्ड अनलाइनबाटै प्रदान गर्ने भएको छ । नेपाल राष्ट्र बैंकले ल्याएको प्रतीतपत्र कार्यान्वयन गरी कार्ड जारी गर्न सुरु गरिसकेको अवस्थामा कोभिड–१९ का कारण सुरक्षालाई ध्यानमा राखी बैंकले ग्राहकलाई घरमै बसेर पनि भर्चुअल डलर कार्ड लिने व्यवस्था मिलाएको हो ।
बैंकमा आफ्नो प्यान कार्ड र नागरिकतासहित अन्तर्राष्ट्रिय प्रिपेड डलर कार्डका लागि अनलाइनबाटै आवेदन दिन मिल्ने बैंकले जनाएको छ । यसबाट विदेशबाट पाइने नेटफ्लिक्स, अमेजन, पेपाल, शिक्षालगायत सामाजिक सञ्जालमार्फत पनि आफ्नो व्यवसायलाई आफ्नै कार्डबाट भुक्तान गरी प्रवर्द्धन गर्न सकिनेजस्ता सुविधा पाइने जनाइएको छ ।
बैंकका देशभरिका १ सय ८१ शाखामा यो योजना सञ्चालनमा रहेको र जुनसुकै शाखाबाट सुविधा प्राप्त गर्न सकिने जनाइएको छ । आफ्ना शाखाका साथै बैंकले देशभरि १ सय ३६ एटिएम र ९ एक्सटेन्सन काउन्टरमार्फत सेवा दिँदै आएको बैंकले जनाएको छ ।