नेपाल पक्षका १४ प्रदेश सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय, अष्टलक्ष्मीको प्रश्न– मुख्यमन्त्रीले बादललाई भोट दिनुभयो ?

शनिबार, ८ जेठ, २०७८
डिजिटल संस्करण

राष्ट्रिय सभा उपनिर्वाचनमा पार्टीको उम्मेदवारलाई असहयोग गरेको भन्दै एमालेले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका १४ सांसदलाई स्पष्टीकरण सोध्ने भएको छ । हेटौँडामा मुख्यमन्त्री डोरमणि पौडेलको सरकारीनिवासमा शनिबार बसेको एमाले बागमती प्रदेश संसदीय बोर्डको बैठकले पार्टीको आधिकारिक उम्मेदवार रामबहादुर थापा बादललाई पूर्ण रूपमा असहयोग गरेर स्वतन्त्र उम्मेदवार डा. खिमलाल देवकोटालाई सहयोग गरेको र पार्टीको निर्णयविपरीत गतिविधि गरेको आरोप लगाउँदै नेपाल पक्षका १४ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । 

एमालेका मुख्य सचेतक दीपक निरौलाका अनुसार नेपाल पक्षका सांसदहरू अष्टलक्ष्मी शाक्य, राजेन्द्र पाण्डे, अरुणप्रसाद नेपाल, रचना खड्का, कुसुमकुमार कार्की, वसुन्धरा हुमागाईं, मुनु सिग्देल, इन्द्रमाया गुरुङ, कृष्णप्रसाद खनाल, वसन्तप्रसाद मानन्धर, शान्तिराम पौडेल, मीना ज्ञवाली, पार्वती सिलवाल र लक्ष्मण लम्साललाई स्पष्टीकरण सोध्ने निर्णय भएको छ । ‘संसदीय दलको नेता तथा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव ल्याउ“दादेखि राष्ट्रिय सभाको उपनिर्वाचनसम्म पार्टीको निर्णयविपरीत निरन्तर काम गरेपछि स्पष्टीकरण सोधिएको हो ।’ मुख्य सचेतक निरौलाले भने ‘आइतबार साँझ ५ बजेसम्म उहा“हरूलाई जवाफ दिन समय तोकिएको छ । संसदीय बोर्ड बैठकमा कोभिड नियन्त्रणमा प्रदेशले गरेको कामको समेत समीक्षा गरिएको निरौलाले बताए । 
    
६ जेठमा बागमती प्रदेशतर्फ रिक्त राष्ट्रिय सभा सदस्य पदका लागि भएको निर्वाचनमा बादललाई देवकोटाले पराजित गरेका थिए । एक सय नौजना सांसद रहेको बागमती प्रदेश सभाबाट एक सय पाँच मत खस्दा एमालेको एकल ५६ मत भए पनि बादलले ४५ मत प्राप्त गरेका थिए भने, कांग्रेस माओवादी केन्द्र र जसपा गठबन्धनको समर्थन पाएका देवकोटाले ५८ मत ल्याएका थिए । विपक्षी गठबन्धनसँग जम्मा ४५ मत मात्र थियो । उनीहरूको गठबन्धनबाट ४४ सांसद मतदान प्रक्रियामा सामेल थिए । देवकोटाले गठबन्धनबाट सामेल भएका सांसदभन्दा १४ मत बढी ल्याउन सफल भएका थिए ।

गोप्य मतदान हो, मुख्यमन्त्रीले बादललाई नै भोट दिएको भन्ने प्रमाण छ : अष्टलक्ष्मी शाक्य

राष्ट्रिय सभाको निर्वाचन भनेको गोप्य मतदान हो । त्यहाँ कसले कसलाई भोट हाल्यो भन्ने कसरी ठोकुवा गर्न सकिन्छ । हामीले रामबहादुर थापालाई मत दिएनौँ भन्ने आधार के छ ? मुख्यमन्त्री डोरमणि पौडेल, मन्त्री रामेश्वर फुँयाललगायतले बादललाई नै मत दिनुभयो भन्ने ठोकुवा गर्न सकिन्छ, उहाँहरूले आफ्नै पार्टीको उम्मेदवारलाई मत दिनुभयो भन्ने आधार के छ ? हामीले पार्टीको उम्मेदवारलाई मत दिएनौँ भनेर ठोकुवा गर्न आरोप लगाउनु अनैतिक हो र गोप्य मतदान भएकाले कानुनबमोजिम पनि आरोप लगाउन मिल्दैन । त्यसकारण हामीलाई स्पष्टीकरण सोध्ने आधार नै छैन । गोप्य मतदान भएकाले कसले कहाँ–कहाँ मत दिए भन्नेबारे कसैले पनि भन्न आवश्यक छैन । स्पष्टीकरण सोधिएकोबारे आधिकारिक जानकारी सूचना केही पनि दिइएको छैन ।

सुझावित समाचार