चीन स्वशासित तिब्बत सरकारले कोभिड–१९ को नियन्त्रण तथा उपचारका लागि नेपाललाई दिएको विभिन्न प्रकारका स्वास्थ्य सामग्री स्थलमार्ग हुँदै तातोपानी आइपुगेको छ । चिनियाँ सहायताको स्वास्थ्य सामग्री ल्हासाबाट केरुङ र खासा ढुवानी गर्ने तिब्बतपट्टिकाे सिल्क र तातोपानीको मितेरीपुलदेखि काठमाडौंसम्म ढुवानी गर्दै आएको सिल्क ट्रान्सपोर्टले निःशुल्क ल्याएको हो ।
३० हजार लिटर परिमाणको एक सय ५० वटा लिक्विड अक्सिजन सिलिन्डर तातोपानी आइपुगेको छ । ती लिक्विड अक्सिजनबाट ४० केजी क्षमताका ६ हजार सिलिन्डर भरिन्छ । ल्हासास्थित नेपाली महावाणिज्य दूतावासमा बिहीबार चिनियाँ प्रतिनिधिले महावाणिज्यदूत नवराज ढकाललाई एक करोड युआन मूल्यको स्वास्थ्य सामग्री हस्तान्तरण गरेका थिए । तातोपानी आएको सामान बुझ्न स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमन सिंह कोदारी पुगेका छन् ।
शनिबार अपराह्न चिनियाँ टेलरले नेपालपट्टि सिल्क ट्रान्सपोर्टको कन्टेनरमा भरिएका अक्सिजन सिलिन्डरसहित अन्य स्वास्थ्य सामग्री झारेको छ । तातोपानी भन्सारका प्रमुख भन्सार अधिकृत नारद गौतमका अनुसार आइतबार बिहान अक्सिजन बोकेका कन्टेनर काठमाडौं पुग्नेछ । ‘चीन सरकारले सहयोग गरेको सामग्री आउने क्रम जारी छ,’ गौतमले भने, ‘तीन दिनभित्र सबै सामान गन्तव्यमा पुगिसक्छन् ।’ भरिएको सिलिन्डर बोकेका कन्टेनर ढिलो कुद्ने भएकाले राजधानी पुग्न भोलि बिहानसम्म लाग्ने उनले बताए ।
नेपाली व्यापारीले ल्याएका पाँच हजार आठ सय सिलिन्डर तातोपानी नाका भएर काठमाडौं पुगिसकेको छ । व्यापारीले बेच्न ल्याएका करिब १० हजार सिलिन्डर अझै तिब्बतको विभिन्न क्षेत्रमा छन् । खासामा भ्यान पार्किङ सानो भएकाले स्वास्थ्य सामग्री नेपाल पठाउन केही समय लाग्ने गौतमले बताए । खासा प्रशासनले दैनिक आठ कन्टेनर मात्रै सामग्री पठाउने भएकाले समय लागेका बताइएको छ ।