उपप्रधानमन्त्री तथा कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)का संयोजक ईश्वर पोखरेलले छिमेकी मुलुक भारत र चीनबाट नेपालमा अक्सिजन प्राप्त हुन थालेको बताएका छन् । शुक्रबार काठमाडौं महानगरपालिकाको सहयोगमा राधास्वामी सत्संग व्यास, नेपाली सेना, अमेरिका–नेपाल मेडिकल फाउन्डेसनको सहकार्यमा सामाखुसीमा स्थापना भएको थेरापीसहितको अक्सिजन केन्द्रको शुभारम्भ गर्दै उपप्रधानमन्त्री पोखरेलले छिमेकी मुलुकहरू भारत र चीनलगायतका देशबाट अक्सिजनलगायतका स्वास्थ्य सामग्री प्राप्त हुन थालेको बताएका हुन् ।
उनले अक्सिजन र भ्याक्सिनका लागि जतिसुकै बजेट लागे पनि, जुनकुनै प्रक्रियाबाट भए पनि ल्याउने र जनताको जीवनरक्षा गर्न सरकार प्रतिबद्ध रहेको बताए । उनले भने, ‘अक्सिजन र भ्याक्सिनका लागि जिटुजीबाट लिए पनि, बिटुबीबाट लिए पनि जुनसुकै तरिकाबाट लिएप नि जनताको स्वास्थ्य रक्षा गर्ने पहिलो कुरा हो । त्यसमा जतिसुकै बजेट लागोस् । जहाँसुकै भन्नु परोस् । सरकारको प्राथमिकता हो । अक्सिजन छिमेकी मुलुक भारत सरकारबाट, भारत सरकारका प्रधानमन्त्रीसँग कुराकानी गरेर अहिले प्राप्त हुन थालेको छ । चीनबाट पनि अक्सिजन भरिएका सिलिन्डरहरू हामीले प्राप्त गर्न थालेका छौँ । निजी क्षेत्रलाई पनि ल्याउनका लागि जसरी सहजता हुन्छ त्यो सहज गराउन कोसिस गरिन्छ ।’
उपप्रधानमन्त्री पोखरेलले विभिन्न राष्ट्रहरूबाट स्वास्थ्य सामग्रीहरु सहयोग आएको भन्दै स्वास्थ्य मन्त्रालयले आवश्यकताका आधारमा वितरण गर्ने बताए । काठमाडौंको सामाखुसीमा काठमाडौं महानगरपालिकाको आर्थिक सहयोगमा राधास्वामी सत्संग व्यास, नेपाली सेना, अमेरिका–नेपाल मेडिकल फाउन्डेसनको सहकार्यमा ८८ बेडको थेरापीसहितको अक्सिजन केन्द्रको स्थापना गरिएको छ । अक्सिजन केन्द्रले अस्पतालमा अक्सिजनको अभावमा रहेका बिरामीहरूलाई बचाउनका निम्ति काम गर्ने नेपाली सेनाका महासेनानी डा. सुमनलाल डंगोलले बताए । केन्द्रमा अरू स्वास्थ्य अवस्था ठीक भएका, तर अक्सिजन चाहिने बिरामीलाई अस्पतालले रिफर गरेअनुसार थेरापीमार्फत अक्सिजन दिइने उनले जानकारी दिए ।