प्रमुख प्रतिपक्षी दल कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपतिको मिलेमतोमा फेरि संविधान कुल्चिने काम भएको निष्कर्ष निकाल्दै यो प्रवृत्तिको अन्त्यका लागि सबै विकल्पहरूसहित राजनीतिक दलहरूसँग छलफल थालेको छ । बैठकले दिनभर अन्य दलहरूसँग छलफल गर्ने र एउटा ठोस कदम चाल्ने निर्णय गरेको हो ।
बैठकपछि वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपति र प्रधानमन्त्रीले गरेको जालसाझीविरुद्ध कांग्रेसले राष्ट्रपतिले दिएको समयसीमाभित्रै ठोस कदम चाल्ने बताए । ‘प्रधानमन्त्री र राष्ट्रपतिले मिलेर घोर जालसाझी भएको छ । कांग्रेसले त्यसको भर्त्सना गरेको छ ।
‘त्यसको कारबाही गर्न हामी अगाडि बढ्छौँ । प्रधानमन्त्री पद रिक्त भएको छैन । उहाँले राजीनामा दिनुभएको छैन । तर, प्रधानमन्त्री हुँदाहुँदै थोरै समय दिएर अर्को प्रधानमन्त्रीका लागि आह्वान गरिएको थियोे भनेर देखाउनका लागि जालसाझी भएको छ,’ नेता पौडेलले भने, ‘हामी यो संविधान बचाउनका लागि सबै पार्टीसँग कुरा गरिरहेका छौँ, कुरा गरेर एउटा ठोस कदम चाल्छौँ ।’
‘संविधानको ७६ (५) अनुसार सरकार गठनका लागि आह्वान गरिएको छ । संविधानको मर्म र भावनालाई फेरि पनि बेवास्ता गरिएको हाम्रो ठहर छ । धारा ७६ (३) अन्तर्गत बनेका प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसक्ने थाहा पाएपछि राजीनामा दिएर बाटो खुला गरेपछि मात्रै राष्ट्रपतिले अर्को प्रक्रिया अघि बढाउनुपर्ने हो,’ बैठकपछि सहमहामन्त्री डा. प्रकाशशरण महतले भने, ‘तर प्रधानमन्त्रीको नेतृत्वमा यो सरकारले निरन्तर संविधानमाथि कुल्चिने काम गरेको छ । यसमा राष्ट्रपतिज्यूको सहयोगी भूमिका छ ।’
उनले संविधान र लोकतन्त्रलाई बचाउन र ओली प्रवृत्तिलाई रोक्नका लागि सम्पूर्ण विकल्पहरूसहित अन्य राजनीतिक दलहरूसँग छलफल भइरहेको बताए । ‘अहिले यो प्रवृत्तिलाई रोक्नु मूल उद्देश्य हो, त्यसलाई रोक्नका लागि विकल्प के–के हुन सक्छन् ? सबै विकल्पमाथि छलफल गरिरहेका छौँ । हाम्रो छलफलको मूल उद्देश्य संविधानको रक्षा गर्नु हो,’ उनले भने ।
बिहीबार प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार साँझ ५ बजेसम्मको समय दिएर संविधानको धारा ७६ (५) अनुसारको नयाँ सरकार गठनका लागि आह्वान गरेकी छिन् ।