विपक्षी गठबन्धनको बैठक देउवानिवासमा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पनि पुगे

शुक्रबार, ७ जेठ, २०७८
डिजिटल संस्करण

कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष नेताहरूसँगकाे छलफलपछि विपक्षी गठबन्धनको बैठक बोलाएका छन् । छलफलका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड देउवानिवासमा पुगिसकेका छन् ।

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र कृष्णबहादुर महरा पनि प्रचण्डसँग बुढानीलकण्ठ पुगेका छन् । बैठकका लागि नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवलाई पनि बोलाइएको छ । 

संविधानको धारा ७६ (३) बमोजिम नियुक्त प्रधानमन्त्री केपी ओलीले विश्वासको मत नलिई र राजीनामासमेत नदिएको अवस्थामा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५)बमोजिमको सरकार गठनका लागि आह्वान गरेपछि विपक्षी गठबन्धनले त्यसको प्रतिरोध गरिरहेका छन् ।

त्यही विषयमा छलफल गर्न विपक्षी गठबन्धनको बैठक बोलाइएको कांग्रेसले जनाएको छ । यसअघि बसेको कांग्रेसको शीर्ष नेताहरूको बैठकले सबै विकल्पहरूसहित अन्य राजनीतिक दलहरूसँग छलफल गर्ने र ठोस कदम चाल्ने निर्णय गरेको थियो । 
 

सुझावित समाचार