एसएलसीको नक्कली शैक्षिक प्रमाणपत्र बनाएर बंगलादेशमा एमबिबिएस अध्ययन गरेको आरोप लागेका ६ चिकित्सक धरौटीमा छुटेका छन् । जिल्ला अदालत काठमाडौंले उनीहरूलाई आइतबार धरौटीमा छाड्ने आदेश दिएको हो ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले सातजनालाई पक्राउ गरेको थियो । उनीहरूलाई प्रतिव्यक्ति चार लाख ५० हजार रुपैयाँका दरले धरौटी माग भएको थियो । जसमा ६ जना बुझाएर छुटेका छन् भने एकजना भने धरौटी बुझाउन नसकेर जेल चलान भएका छन् ।
सप्तरी विष्णुपुर गाउँपालिका– २ घर भएका २८ वर्षीय मोहमद सिद्दिकी, महोत्तरी सरपल्लो– ६ का वर्षीय सुभाषप्रसाद साह, मनाङको चामेका दीपेन्द्र गौतम, सप्तरी सकरपुरा– १ घर भएका अखिलेशकुमार देव, महोत्तरी मनरा– ५ घर भएकी २७ वर्षीया पल्लवी सिंह र ललितपुर महानगरपालिका– २ सानेपा बस्ने २९ वर्षीय फराज हुसेन खाँ धरौटीमा छुटेका हुन् । धनुषा सबैला नगरपालिका– ५ घर भएका २८ वर्षीय मोहम्मद शाहिद राजा भने धरौटी रकम जुटाउन नसक्दा जेल चलान भएका छन् । एक महिनाअघि सिआइबीले उनीहरूलाई पक्राउ गरेको थियो ।
नक्कली प्रमाणपत्र बनाउन सहयोग गर्ने बागबजारको ज्योतिदीप कन्सल्टेन्सीका सञ्चालक अरुण चौधरीसँग १५ लाख तथा ग्लोबल एजुकेसन काउन्सिलिङ कन्लसटेन्सीका सञ्चालक सागिर अहमद खानसँग अदालतले साढे दुई लाख धरौटी माग गरेको छ । दुवैले धरौटी बुझाएका छन् । उनीहरूविरुद्ध सरकारी छाप तथा दस्तखत किर्ते मुद्दा दायर दायर भएको हो ।
बंगलादेशमा एमबिबिएस अध्ययन गर्नका लागि प्लस टुसँगै एसएलसीमा पनि उत्कृष्ट नम्बर ल्याएको हुनुपर्ने प्रावधान भएकाले उनीहरूले उच्च प्राप्तांक ल्याएको प्रमाणपत्र बनाएका थिए । सोही प्रमाणपत्रका आधारमा बंगलादेशमा अध्ययनका लागि नेपाल मेडिकल काउन्सिलबाट अनुमति लिएका थिए । यसरी किर्ते प्रमाणपत्रका आधारमा एमबिबिएस पढ्नेहरूको संख्या ठूलो रहेको प्रहरी अधिकारी बताउँछन् ।
चार वर्षअघि प्लस टुको नक्कली प्रमाणपत्रका आधारमा एमबिबिएस पढेका चिकित्सकहरूलाई पक्राउ गरी मुद्दा दायर गरेको थियो । उनीहरूलाई ठगी मुद्दा चलाएकाले सफाइ पाएका थिए । यसपटक प्रहरीले किर्ते मुद्दा चलाएको छ ।