नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले सरकारले कोरोना रोकथाम र नियन्त्रणका लागि निषेधाज्ञा जारी गरे पनि संक्रमणको ‘चेन अफ ट्रान्समिसन’ भने नरोकिएको बताएका छन् । ‘संक्रमण बढ्यो भनेर त्यसलाई रोक्नका लागि निषेधाज्ञा गरिएको छ, तर परीक्षण र कन्ट्याक्ट ट्रेसिङ भएको छैन, जसले गर्दा संक्रमण फैलिने क्रम रोकिएको छैन, त्यसैले संक्रमणको मुहानबाटै नष्ट गरेर मात्रै संक्रमणको चेन रोक्न सकिन्छ,’ डा. कार्कीले भने, ‘त्यसकारणले अझै परीक्षण र कन्ट्याक्ट ट्रेसिङको कामलाई सरकारले प्राथमिकतामा राख्नुपर्छ ।’
कांग्रेसले सोमबार गरेको बागमती प्रदेशस्तरीय कोभिड–१९ महामारीको अवस्था र कांग्रेसको भूमिका विषयमा भर्चुअल अन्तत्र्रिmयामा बोल्दै डा. कार्कीले सरकारले आफूसँग भएका स्रोतसाधनको उचित व्यवस्थापन गर्न नसकेका कारण पनि अस्पतालका बेड, अक्सिजन र भेन्टिलेटरको व्यवस्थान हुन नसकेको बताए । ‘राज्यसँग स्रोतसाधन छ, हेलिकोप्टर पठाएर हुन्छ कि कसरी हुन्छ, जसरी भए पनि आफ्ना नागरिकको ज्यान बचाउनेतर्फ ध्यान दिनुपर्ने हो, तर त्यस्तो देखिँदैन,’ डा. कार्कीले भने, ‘त्यसमाथि हामीकहाँ भएकै स्रोतसाधनको पनि समुचित उपयोग भएको छैन ।’
सरकारले ठूलो क्षमताका अस्पतालहरूलाई कोभिड अस्पतालका रूपमा रूपान्तरण गरेर स्रोतसाधनको वितरणलाई व्यवस्थापन गर्न सकेको भए उपयुक्त हुने उनको सुझाब थियो ।
डा. कार्कीले अहिले बेड र अक्सिजनको जस्तै अब जनशक्तिको ठूलो समस्या आउन सक्ने बताए । ‘अब जनशक्तिको पनि समस्या आउँदै छ, चाँडोभन्दा चाँडो जनशक्ति व्यवस्थापन गर्न सकेनौँ भने भोलि समस्या आउँछ । अब रातदिन काम गरिरहेको जनशक्ति थाक्दै छ, धेरैजना संक्रमित भइरहेका छन्,’ उनले भने, ‘त्यसैले सरकारले अब जनशक्तिको पनि पूर्वतयारी गर्नुपर्छ ।’
डा. कार्कीले स्वास्थ्य मन्त्रालयमा प्राविधिक नेतृत्व नहुँदा प्राविधिक जनशक्तिको उचित व्यवस्थापन हुन नसकेको भन्दै दुःख व्यक्त गरे । उनले सरकारले मन्त्रालयमा प्राविधिक स्वास्थ्यसचिव नियुक्तिमा ढिला गर्न नहुने बताए ।
डा. कार्कीले कोरोना नियन्त्रणका लागि दीर्घकालीन रूपमा भ्याक्सिन सबैभन्दा महत्वपूर्ण भएकाले सबै नागरिकको पहुँचमा भ्याक्सिनको पहुँच पु¥याउन सुझाब दिए ।