सेतीमा संक्रमितको थामिनसक्नु चाप, बिरामीलाई अक्सिजन पाउन हम्मेहम्मे

आइतबार, २ जेठ, २०७८
डिजिटल संस्करण
सेतीमा संक्रमितको थामिनसक्नु चाप, बिरामीलाई अक्सिजन पाउन हम्मेहम्मे

बिरामी आफन्तका लागि अक्सिजन सिलिन्डर लिन सेती प्रादेशिक अस्पतालमा लाइनमा बसेकाहरू । सेतीमा बिरामीको चाप बढे पनि अक्सिजनको चरम अभाव छ ।

कोरोना अस्थायी अस्पतालको ६० शय्याले संक्रमितको चाप धान्न नसकेपछि धनगढीको सेती प्रादेशिक अस्पतालले सर्जिकल वार्डमा पनि संक्रमित राख्न थालेको छ । सर्जिकल वार्डमा ३५ जना संक्रमित राख्न सक्ने व्यवस्था गरिएको छ, तर त्यसले पनि संक्रमितको चाप धान्न सकेको छैन ।

सेतीमा अहिले एक सय आठ संक्रमित उपचाररत छन् । कोरोनाको लक्षण भएका शंकास्पद बिरामीको चाप उस्तै छ । उपचारका लागि आउने संक्रमित र शंकास्पद बिरामी बढेपछि अस्पलातको बरन्डा, ग्यालरी र बाहिरसमेत राखिएको छ । अस्पतालको पूर्वाधार र जनशक्तिले धान्न नसक्ने गरी चाप बढेको छ । संक्रमितको चाप बढ्दा अक्सिजनको माग बढेको छ, तर यसको आपूर्ति भने बढेको छैन । संक्रमितलाई औषधिभन्दा अक्सिजन बढी खाँचो भए पनि पाउन सकेका छैनन् । सेतीमा अहिले दैनिक दुई सय सिलिन्डर अक्सिजन आवश्यक पर्छ । तर, मुस्किलले एक सय २० सिलिन्डर आपूर्ति भइरहेको सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताए । आइसियू र भेन्टिलेटरमा भर्ना भएका बिरामीलाई समेत अक्सिजन पुर्याउन अस्पताललाई हम्मेहम्मे परेको छ ।

संक्रमित र शंकास्पद सबैजसो बिरामीलाई अक्सिजन आवश्यक पर्ने गरेको चिकित्सकले बताएका छन् । सेतीको प्लान्टमा दैनिक ५०–६० सिलिन्डर अक्सिजन उत्पादन हुन्छ । केही सिलिन्डर अक्सिजन धनगढीको मालिका अक्सिजन ग्यास उद्योग र नेपालगन्जबाट आउने गर्छ । कतिपय संघसंस्थाले पनि अस्पताललाई अक्सिजन सिलिन्डर उपलब्ध गराउने गरेका छन् । यसले पनि अस्पतालको माग धान्न सकेको छैन । अक्सिजन सकिएपछि थप आपूर्ति नहुन्जेल उपचाररत बिरामीले अक्सिजनको पर्खाइमा बस्नुपर्ने अवस्था छ ।

‘अक्सिजन सकिएपछि थप नआउन्जेलसम्म बिरामीले अक्सिजन सपोर्टविनै बस्नुपर्छ,’ सूचना अधिकारी श्रेष्ठले भने, ‘माग र आपूर्तिमा सन्तुलन नहुँदा समस्या भएको छ ।’ बिरामीको अवस्थाअनुसार अक्सिजन वितरणलाई प्राथमिकता दिने गरेकाले अक्सिजन नपाएर बिरामीको मृत्यु भएको अवस्था अहिलेसम्म नआएको उनको दाबी छ । संक्रमितको मृत्यु हुनुको मुख्य कारण समयमै अस्पताल नल्याउनु हुने गरेको उनले बताए ।

सेतीमा जस्तै यहाँका अन्य अस्पतालमा पनि अक्सिजनको चरम अभाव छ । अक्सिजन नहुँदा कतिपय निजी अस्पतालले कोरोना संक्रमितलाई भर्ना लिन छाडेका छन् । कतिपयले भर्ना भएका बिरामीलाई पनि रेफर गर्न थालेका छन् । अक्सिजन अभावले निजी अस्पतालमा पनि उपचार पाउने अवस्था नआएपछि सरकारी अस्पतालमा संक्रमितको चाप बढेको हो । कैलाली अस्पतालका सञ्चालक जनकराज जोशीले अक्सिजन नहुँदा भर्ना हुन आउने संक्रमितलाई फिर्ता गर्नुपर्ने अवस्था आएको बताए । भर्ना भएका संक्रमितलाई समेत अक्सिजन उपलब्ध गराउन नसकिएको उनको भनाइ छ ।

अक्सिजन सकिएपछि कतिपय निजी अस्पतालले उपचाररत संक्रमितलाई पनि रेफर गर्न थालेका छन् । धनगढीकै मायामेट्रो अस्पतालका सञ्चालक धीरेन्द्र साउदले उपरचाररतले समेत अक्सिजन नपाएका वेला थप बिरामी भर्ना गर्न नसकिने बताए । कतिपय संक्रमित बेड नपाएर पनि आउने गरेकाले भर्नाअघि ‘अक्सिजन दिन सक्दैनौँ भनेर, आफैँ जोहो गर्नु’ जानकारी दिने गरेको उनले बताए ।

हुम्लामा पनि भेन्टिलेटर र अक्सिजन अभाव

हुम्ला - कोरोनाको दोस्रो लहर फैलिँदै गए पनि जिल्ला अस्पतालमा भेन्टिलेटर र अक्सिजन अभाव देखिएको छ । भेन्टिरलेटर र अक्सिजन अभावले गम्भीर संक्रमितको उपचारमा समस्या हुन थालेको छ ।

भेन्टिलेटर र अक्सिजन अभाव भएपछि शुक्रबार मात्रै सर्केगार्ड गाउँपालिका स्वास्थ्य संयोजक सन्तोष धामीलाई साढे नौ लाख रुपैयाँ भाडा तिरेर हेलिकोप्टरबाट कर्णाली स्वास्थ्य विज्ञान प्र्रतिष्ठान जुम्ला पठाइएको छ । कोरोना संक्रमित धामीलाई श्वासप्रश्वासमा गम्भीर समस्या भएपछि जुम्ला रेफर गरिएको हो । जिल्ला जनस्वास्थ्य प्रमुख प्रेमबहादुर सिंहले नयाँ पत्रिकासँग भने, ‘हामीसँग दुईवटा भेन्टिलेटर छन्, तर एउटाले मात्र काम गरिरहेको छ । उहाँको श्वासप्रश्वासमा समस्या हुँदै गयो । अक्सिजनको मात्रा ४० सम्म पुगेपछि हामीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला रेफर गर्यौँ ।’

सरकारी अस्पतालमा नौ बेडका लागि अक्सिजन प्लान्ट जडान गरिएको भनिएको भए पनि अक्सिजन प्रवाहमा समस्या रहेको छ । जिल्ला जनस्वास्थ्य प्रमुख सिंहका अनुसार दुईवटा अक्सिजन प्लान्ट रहे पनि अक्सिजन अभाव रहेको बताए । उनले थप दुईवटा प्लान्ट मगाइएको बताए । 

तर, कांग्रेसबाट प्रदेश सभामा सांसद रहेका पूर्वपर्यटनमन्त्री जीवनबहादुर शाहीले जिल्ला अस्पतालमा तीनवटा भेन्टिलेटर मेसिन रहेको र अस्पतालका कर्मचारीको बदमासीले थन्क्याइरहेको दाबी गरे । अक्सिजन प्लान्टको काम पनि एकजना हुम्ली ठेकेदारले लिएको र ढिलासुस्ती गरिरहेको भन्दै उनले तत्काल चिठी पठाएर ठेकेदारलाई छिटो काम गर्न आग्रह गरिएको शाहीले बताए ।

See More On

सुझावित समाचार