वडास्तरमा कोभिड स्क्रिनिङ सेन्टर स्थापना गर्न सांसद संग्रौलाको माग

शनिबार, १ जेठ, २०७८
डिजिटल संस्करण

कांग्रेसकी सांसद डा.डिला संग्रौलाले वडास्तरमा कोभिड स्क्रिनिङ सेन्टर स्थापना गर्न सरकारसँग माग गरेकी छिन् । उनले महामारी रोकथाम र संक्रमितको उपचारका लागि त्यस्ता स्क्रिनिङ सेन्टरबाट हरेक बिरामीको पहिलो स्क्रिनिङ गर्ने र त्यसैकै सिफारिसमा अस्पतालले भर्ना र उपचार गर्ने व्यवस्था गर्न आग्रह गरेकी छिन् ।

डा. संग्रौलाले शनिबार विज्ञप्ति जारी गर्दै निजी अस्पतालले बिरामीसँग लिने शुल्कमा समेत कडा निगरानी गर्न आग्रह गरेकी छिन् । ‘कोभिडका बिरामीको स्वास्थ्य बिमा गर्ने व्यवस्था गरियोस् । अहिलेकै शुल्कमा उपचार गर्नुपर्ने हो भने बहुसंख्यक नेपाली उपचारबाट विमुख हुनुपर्ने अवस्था आउँछ,’ डा.संग्रौलाले भनेकी छिन् । 

उनले सबै अस्पतालमा उपलब्ध बेड, अक्सिजन, आइसीयु तथा भेन्टिलेटरको संख्या पारदर्शी वितरण र व्यवस्थापन गर्न माग गरेकी छिन् । अक्सिजनको उपलब्धता, घरबाट अस्पताल जान नसक्ने बिरामीको लागि यातायात, होमआइसोलेसनमा बसिरहेका संक्रमितहरूलाई नियमित स्वास्थ्य अनुगमनका लागि टोलटोलमा स्वास्थ्यकर्मीको मोबाइल टोली परिचालन, सबै सरकारी अस्पताल तथा स्वास्थ्य केन्द्रहरूमा स्वास्थ्य जनशक्तिको तत्काल व्यवस्थापन गर्नेलगायत काम यथाशीघ्र गर्न उनको माग छ । 

‘सरकार यो दिशामा गत वर्ष पनि चुकेको थियोन, र अहिले पनि उदासीन देखिन्छ । सरकार कोभिडबाट आमनागरिकलाई राहत दिने र बिरामीलाई स्वास्थ्य सेवामा सहज पहुँच दिलाउने दिशामा पूर्णतया असफल देखिएको छ,’ संग्रौलाले भनेकी छिन्, ‘सरकारसँग ती न्यून आय भएका सर्वसाधारणको जीवन रक्षाका लागि कार्ययोजना ल्याउन र तीनै तहका सरकारहरूको जिम्मेवारी सुनिस्चित गर्न माग गर्दछु ।’

डा. संग्रौलाले विपन्न र पिछडिएको समुदायका निम्ति नगद वा खाद्यान्ने व्यवस्था गर्ने, खाद्यान्न र नगदको वितरण वार्डस्तरमा सर्वदलीय सहमतिमार्फत गर्ने व्यवस्था गर्न माग गरेकी छिन् । यस्तै, कोभिड र लकडाउनको कारणले रोजगारी गुमाएकाहरूको तथ्या अद्यावधिक गर्ने, र तत्काल राहतको व्यवस्था गर्ने, पीसीआर परीक्षण व्यापक बनाउने र परीक्षण पजेटिभ देखिएका बिरामीलाई सफा र सुरक्षित  आईसोलेसन केन्द्रहरुमा राख्ने व्यवस्था गर्न माग गरेकी छिन् । सिकिस्त बिरामीलाई अस्पतालमा रेफर गर्ने र एम्बुलेन्स उपलब्ध गराउन उनको माग छ । 

डा. संग्रौलाले पालिका र प्रदेशको बजेट खर्च गर्दा कोभिड संक्रमण रोकथाम र उपचारलाई पहिलो प्राथमिकतामा राख्न आग्रह गरेकी छिन् । उनले राष्ट्रिय संकटको घडी उत्पन्न भएकाले राष्ट्रिय संकल्पका लागि तत्काल संसद अधिवेशन आह्वान गर्न पनि आग्रह गरेकी छिन् । 
 

सुझावित समाचार