वैकल्पिक सरकार निर्माणको प्रयासलाई वर्तमान सरकारले निष्फल पार्‍यो : अर्थमन्त्री

शुक्रबार, ३१ बैशाख, २०७८
डिजिटल संस्करण

नवनियुक्त अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वैकल्पिक सरकार निर्माणको प्रयासलाई वर्तमान सरकारले निष्फल पारेको बताएका छन् ।  संविधानको धारा ७६ को उपधारा ३ बमोजिम सरकार गठनपछि प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार विस्थापित गर्न कम्युनिस्ट पार्टीमा विग्रह सिर्जना गर्ने र त्यसकै जगमा वैकल्पिक सरकार निर्माण गर्ने प्रयास विफल भएको बताएका हुन् ।

शुक्रबार अर्थ मन्त्रालयको पदभार ग्रहण गरेलगत्तै सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले अब पूर्ववत् ढंगले जिम्मेवारी पूरा गर्ने काममा लाग्ने बताए । उनले  भने, ‘ओली नेतृत्वको सरकारलाई विस्थापित गर्नका लागि अनेक प्रकारका प्रयासहरू यसबीचमा भए । नेपाल कम्युनिस्ट पार्टीमा विग्रह सिर्जना गर्ने र त्यसको जगमा वैकल्पिक सरकार निर्माण सम्मका प्रयासहरू भए । ती सारा प्रयासहरूलाई निष्फल पार्ने प्रधानमन्त्री केपी ओलीले संविधानको धारा ७६ को उपधारा ३ बमोजिम प्रधानमन्त्री पदको पदभार ग्रहण गर्नुभएको छ । हामीले पनि पूर्ववत् ढंगले आफ्नो जिम्मेवारी लिएका छौँ ।’

उनले कोभिड– १९ लाई सामना गर्ने गरी आगामी वर्षको बजेट ल्याउने बताए । बजेट तयारीको अन्तिम चरणमा रहेको र कोभिड– १९ को महामारीले प्रभावित अर्थतन्त्रलाई पुनरुत्थान र गतिशील बनाउने संकल्पका साथ बजेट आउने उनले जानकारी दिए । उनले कोभिड– १९ लाई रोकथाम तथा नियन्त्रण गर्न सम्पूर्ण शक्ति, स्रोत र सामर्थ्य परिचालित गर्ने भन्दै कोभिड– १९ विरुद्धको लडाइँलाई थप सघन र प्रभावकारी बनाउने बताए ।  

अर्थमन्त्री पौडेलले कोभिड– १९ बाट संक्रमित भएकाहरूको परीक्षण र उपचारका लागि आवश्यक सबै प्रयासहरूलाई अघि बढाउने पनि प्रतिबद्धता व्यक्त गरे । पदभार ग्रहणसँगै अर्थमन्त्री पौडेलले शुक्रबार नै अक्सिजन प्लान्ट र पाइपलाइन जडानका लागि डडेल्धुरा अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र भेरी अस्पताल नेपालगन्जका लागि पाँच करोड ८३ लाख २४ हजार रुपैयाँ उपलब्ध गराउने निर्णयलाई स्वीकृत गरेका छन् । 

सुझावित समाचार