बाग्लुङको बडिगाड गाउँपालिका– ४ मा एकै घरका तीनजनाको कोरोना संक्रमणाबाट मृत्यु भएको छ । उनीहरूको एक हप्ताभित्रै मृत्यु भएको हो । बडिगाड– ४ को जलजलामा दुई साताअघि विवाहभोज खाएकाहरू नै संक्रमित भएका थिए । मृत्यु हुनेमा पनि विवाहभोजमा गएका नै रहेको स्थानीयवासीले बताएका छन् ।
स्वास्थ्य कार्यालय बाग्लुङका अनुसार मृत्यु हुनेमा एकै घरका ८७ वर्षीय बाबु, ५१ वर्षीय र ४० वर्षीय दुई छोरा रहेका छन् । उनीहरूमध्ये ८७ वर्षीय बाबु र ४० वर्षीय छोराको धवलागिरि अस्पताल बाग्लुङ र ५१ वर्षीय छोराको मणिपाल शिक्षण अस्पताल पोखरामा मृत्यु भएको स्वास्थ्य कार्यालय बाग्लुङका कोभिड फोकलपर्सन देवप्रकाश घिमिरेले जानकारी दिए ।
एक हप्ताअघि हेलिकोप्टरबाट पोखरा उपचारका लागि लगिएका बडिगाडकै अर्का ४० वर्षीय एक पुरुषको पनि मृत्यु भएको छ । यस घटनापछि बडिगाडमा सन्त्रास छाएको छ । अधिकांश मानिस डराएका छन् ।
गाउँपालिकाको स्वास्थ्य शाखाले कम्तीमा १५ दिन घरभित्रै बसिदिन आग्रह गरेको छ । प्रशासनले भने जेठ १५ सम्मका लागि बाग्लुङ जिल्लाभर निषेधाज्ञा लगाएको छ ।