अर्को साता नेपाललाई अमेरिकी सहायता आउने

रक्षा मन्त्रालयद्वारा २७ लाख ५० हजार डलरबराबरको सहयोग घोषणा

शुक्रबार, ३१ बैशाख, २०७८
डिजिटल संस्करण

नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरीले अर्को सातासम्म नेपालमा अमेरिकी सरकारका तर्फबाट नेपाललाई स्वास्थ्य सामग्री सहयोग गर्ने बताएका छन् । उपप्रधानमन्त्री ईश्वर पोखरेलसँग बिहीबार भएको टेलिफोन संवादमा राजदूत बेरीले नेपाललाई दिने स्वास्थ्य सामग्रीबारे आइतबारसम्म टुंगो लाग्नेसमेत स्पष्ट पारेका छन् । अमेरिकी रक्षा मन्त्रालयले बिहीबारै नेपाललाई अक्सिजन सिलिन्डर, लिक्विड अक्सिजन, अक्सिजन स्टोरेजलगायत प्रयोजनका लागि बिहीबार २७ लाख ५० हजार अमेरिकी डलरबराबरको सहयोग घोषणा गरेको छ ।

उपप्रधानमन्त्री पोखरेलले स्वास्थ्य सामग्री तथा खोपका लागि पछिल्लोपटक कूटनीतिक ताकेता गर्दै आएका छन् । ‘खोपका बारेमा मैले पनि पहल गरिरहेको छु, टुंगो लाग्नासाथ तपाईंलाई जानकारी गराउँछु,’ अमेरिकी राजदूत बेरीलाई उद्धृत गर्दै उपप्रधानमन्त्री पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले भने । 

अमेरिकी राजदूत बेरीले हप्तामा दुईवटा अन्तर्राष्ट्रिय उडान गर्ने वातावरण बनाइदिन पनि उपप्रधानमन्त्री पोखरेललाई आग्रह गरेका थिए । जवाफमा पोखरेलले सिसिएमसीको बैठकबाट यसबारे आवश्यक निर्णय हुने बताए । 

उपप्रधानमन्त्री पोखरेलले नेपाललाई सक्दो छिटो खोप उपलब्ध गराइदिने वातावरण मिलाइदिन आग्रह गरेका थिए । उनले अमेरिकी खोपको नेपालमा उत्सुकता र तीव्र प्रतीक्षा रहेकोसमेत बताएका थिए । यसैगरी, कोरोना रोकथाम तथा नियन्त्रणका लागि आवश्यक भेन्टिलेटर, पिपिई, अक्सिजन सिलिन्डर, अक्सिजन कन्सेन्ट्रेटर, मोबाइल अक्सिजन प्लान्ट, औषधि, खोप र खोपसँग सम्बन्धित सामग्री, अस्थायी अस्पताल स्थापनाका लागि आवश्यक पूर्वाधार र आवश्यक विज्ञ जनशक्तिलगायत विषयमा नेपालले अमेरिकासँग सहयोगको अपेक्षा गरेको पोखरेलको भनाइ थियो । 

उपप्रधानमन्त्री पोखरेलले यसअघि नेपालस्थित संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक सारा बेस्लो न्यान्तीसँग पनि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)बाट पाउने कोभ्याक्सअन्तर्गतको खोप सक्दो छिटो नेपाल ल्याउन सहजीकरणका लागि आग्रह गरेका थिए ।

नेपाललाई अमेरिकाले युएसएडअन्तर्गत हालसम्म चार करोड ५१ लाख अमेरिकी डलरबराबरको सहयोग गरेको अमेरिकी दूतावासले जनाएको छ । कोभिड सुरु भएयता अमेरिकी सहायता नेपालका ५५ जिल्लामा पुगेको पनि उसको दाबी छ । युएसएडले १०० भेन्टिलेटर, १० हजारजति पिपिई तथा एन्टिरेट्रोभाइरल औषधिलगायत सहयोग गरेको छ ।

थप २७ लाख ५० हजार डलर सहायता घोषणा
अमेरिकी रक्षा मन्त्रालयले नेपाललाई अक्सिजन सिलिन्डर, लिक्विड अक्सिजन, अक्सिजन स्टोरेजलगायतको प्रयोजनका लागि बिहीबार २७ लाख ५० हजार अमेरिकी डलरबराबरको सहयोग घोषणा गरेको छ । हालसम्म कोरोना सुरु भएयता रक्षा मन्त्रालयबाट ५८ लाख डलरबराबरको सहयोग गरेको अमेरिकी दूतावासले जनाएको छ । पछिल्लो साता रक्षा मन्त्रालयले स्वास्थ्य मन्त्रालय तथा कोभिड क्राइसिस मेनेजमेन्ट सेन्टर (सिसिएमसी)लाई अत्यावश्यक पिपिई, मेडिकल आपूर्ति, हाइफ्लो अक्सिजन थेरापी उपकरण उपलब्ध गराएको थियो ।

कोभ्याक्सअन्तर्गत यसअघि नेपालमा तीन लाख ८६ हजार डोज खोप आइसकेको छ । कोभ्याक्सअन्तर्गत चाँडै नै खोप पाउने एसियाली मुलुकको सूचीमा नेपाल रहेको अमेरिकी दाबी छ । अमेरिकाले एस्ट्राजेनेका खोप उपलब्ध गराउन प्रतीक्षारत रहेको पनि दूतावासले जनाएको छ । आगामी दुई महिनाभित्र अमेरिकाले ६ करोड एस्ट्राजेनेका खोप कोभ्याक्सलाई उपलब्ध गराउनेछ । तर, कुन क्राइटेरियाका आधारमा खोप वितरण गर्ने भन्ने निश्चित छैन । अमेरिकाले सबैभन्दा बढी आवश्यक भएको र प्रभावकारी भएको ठाउँमा खोप उपलब्ध गराउने पनि दूतावासले जनाएको छ ।

सुझावित समाचार