राजीनामा दुईचार दिनलाई टर्‍यो : माधव नेपाल

बिहिबार, ३० बैशाख, २०७८
डिजिटल संस्करण
राजीनामा दुईचार दिनलाई टर्‍यो : माधव नेपाल

फाइल तस्बिर

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले तत्कालका लागि आफूहरूको राजीनामा टरेको बताएका छन् । 

अध्यक्ष केपी ओलीसँग बुढानीलकण्ठमा भएको छलफलपछि बाहिरिने क्रममा पत्रकारसँग नेपालले भने, ‘राजीनामा दुईचार दिनलाई ट¥यो ।’

छलफल जारी राख्ने गरी बाहिरिएको उनले बताए । उनले भने, ‘फागुन २८ को निर्णय फिर्ता गर्ने,  सर्वोच्चको फैसलाबमोजिम जेठ २ को अवस्थामा पार्टीका सबै कमिटीलाई पुराउने र पार्टीलाई नयाँ ढंगले अगाडि बढाउने, छलफल जारी राख्ने कुरा भएको छ । कुरा जारी छ । राजीनामा दुईचार दिनलाई ट¥यो, मिल्ने दिशामा अगाडि बढ्न खोजेका छौँ ।’

ओलीले स्थायी कमिटी बैठक राखेर नेपालसहित चार नेतामाथिको कारबाही फुकुवा गरेपछि ओली र नेपालबीच छलफल भएको हो । 

नेपालले पार्टीभित्रको आन्तरिक विवाद मिल्ने दिशामा अगाडि बढेको बताए । सञ्चार उद्यमी रामेश्वर थापाको चपलीस्थित निवासमा भएको करिब चार घन्टााको छलफलमा कार्यदल बनाउने समझदारी जुटेको छ । 

उनले छलफल सकारात्मक दिशामै अगाडि बढेकाले दुईचार दिनका लागि सामूहिक राजीनामाको सम्भावना टरेको र सहमतिको आधारमै सबै विषय टुंगो लगाउने प्रयास गरिने पनि प्रस्ट्याए ।

सुझावित समाचार