अमेरिकी सिनेटअन्तर्गतको वैदेशिक मामिला समितिमा बुधबार नेपालमा कोरोना भाइरसले पारेको असरबारे छलफल भएको छ । कोभिड– १९ महामारी र अमेरिकाको अन्तर्राष्ट्रिय ‘रेसपोन्स’का बारेमा भएको सुनुवाइ कार्यक्रममा कनेक्टिकट राज्यबाट अमेरिकाको सिनेटमा प्रतिनिधित्व गर्ने सिनेटर क्रिस मुर्फेले नेपाललक्षित भएर जिज्ञासा राखेका थिए ।
उनले नेपालको करिब तीन करोड जनसंख्या कोरोना भाइरसको मारमा परेको भन्दै युएसएआइडीले हालै गरेको सहयोगबारे चर्चा गरेका थिए । सिनेटर क्रिसले नेपालमा स्वास्थ्य सामग्रीको निर्यातमा भारतले बन्देज लगाएकाले अवस्था झन् नाजुक भएको भन्दै चिन्ता व्यक्त गरेका थिए ।
कोभिड महामारीको लागि युएसएआइडीका लागि वरिष्ठ सल्लाहकार जेरेमी कोन्डयाकले नेपालको अवस्था भयावह भएको उल्लेख गर्दै परीक्षण गरिएका अधिकांशमा कोरोनाको संक्रमण पाइएको बताए । यो दर उच्च भएको उनको टिप्पणी थियो ।
उनले नेपाललाई अतिरिक्त सहायताका लागि योजना बनाइरहेको पनि सिनेटलाई जानकारी दिए । अमेरिकाका लागि नेपालका राजदूत डा. युवराज खतिवडाले सिनेटमा नेपालको विषयले प्रवेश पाएकोमा खुसी व्यक्त गर्दै भने, ‘अहिले नेपाललाई स्वास्थ्य आपतकालसँग जुध्न मित्रराष्ट्र अमेरिकाले सहयोग गर्नु विगतमा अन्य तरिकाको गरिएको सहयोगभन्दा पनि महत्वपूर्ण हुनेछ ।’
उनले अमेरिकाका सम्बन्धित निकायहरूलाई नेपालको महामारीको असरको पछिल्लो अवस्थाबारे जानकारी गराउँदै नेपाललाई विभिन्न तरिकाले सहयोगको खाँचो रहेको र त्यसका लागि अमेरिकी सरकारसँग दूतावासले अनुरोध गरिरहेको बताए ।
अमेरिकाको मेरिल्यान्ड राज्यका लागि नेपाली मूलका पहिलो विधायक ह्यारी भण्डारीले अमेरिकी सरकारलाई सहयोग गर्न अपिल गर्दै राष्ट्रपति जो वाइडेनको प्रशासनलाई दबाब दिन हस्ताक्षर अभियान चलाएका छन् ।
उनले मेरिल्यान्डबाट प्रतिनिधित्व गर्ने सिनेटरहर क्रिस भ्यान होलान र वेन कार्डेनको कार्यालयलाई समेत नेपालको पछिल्लो अवस्थाबारे जानकारी गराउँदै सहयोगका लागि संघीय सरकारसँग अनुरोध गर्न पहलकदमी गरेको बताए ।
अमेरिकाले नेपाललाई कोरोना भाइरससँग जुध्नका लागि स्वास्थ्य उपकरणहरू सहयोग गर्दै आएको छ । विगत एक वर्षको बीचमा युएसआइडीले तीन करोड ६८ लाख अमेरिकी डलर सहयोग गरेको छ भने डिपार्टमेन्ट अफ डिफेन्समार्फत ३१ लाख अमेरिकी डलरबराबरको स्वास्थ्य सामग्री सहयोग प्रदान गरिसकेको छ ।
अमेरिकामा २५ करोड जनसंख्याले कोरोना भाइरसको खोप लगाइसकेको छ र खोपको उत्पादन तीव्र गतिमा हुँदै गएकाले कोभ्याक्समार्फतको खोप केही साताभित्र नेपाल पुग्ने अपेक्षा गरिएको छ । रासस