जसपाका शीर्ष नेताहरूबीच वैकल्पिक सरकार गठनका विषयमा छलफल भएको छ । ललितपुरको बालकुमारीस्थित पार्टी कार्यालयमा बुधबार भएको छलफलमा शीर्ष तहबाट वैकल्पिक सरकार गठनका विभिन्न विकल्पबारे विचार आएको संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले जानकारी दिए ।
लोकतान्त्रिक पार्टी भएकाले फरक–फरक धारणा आउनु स्वाभाविक भएको भन्दै उनले छलफल जारी भएकाले बिहीबारसम्म पार्टीको एकीकृत धारणा तय गरिने बताए । बुधबारको अनौपचारिक छलफलमा आएका विचारमाथि थप छलफल गरी राष्ट्रिय राजनीतिमा योगदान पुग्ने गरी एकीकृत निर्णय गरिने उनले बताए ।
उनले भने, ‘हाम्रो पार्टीको दुई खेमा होइन । फरक–फरक विचार छन् । यो स्वाभाविक हो लोकतन्त्रिक पार्टीमा । संविधानको धारा ७६ को २ अनुसारको वैकल्पिक सरकार निर्माणका लागि दाबी पेस गर्ने भोलि अन्तिम समय छ । त्यसकै निम्ति पार्टीको शीर्ष तहमा अनौपचारिक कुराकानी गरेको छु । छलफल जारी राख्छौँ र भोलिसम्म्म एकीकृत विचार बनाउने प्रयासमा हामी छौँ । विभिन्न विकल्पमा छलफल गरेर एकीकृत विचार बनाउन प्रयत्नरत छौँ । अहिले निष्कर्षमा पुगिसकेका छैनौँ । भोलिसम्ममा निष्कर्षमा पुग्छौँ । एउटै धारणा बनाउने र राष्ट्रिय राजनीतिमा योगदान गर्ने ढंगले हामी अगाडि बढिरहेका छौँ ।’
प्रतिनिधिसभाबाट प्रधानमन्त्री केपी ओलीले विश्वासको मत प्राप्त गर्न नसकेपछि गत २७ वैशाखमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्रीमा दाबी पेस गर्न तीन दिनको समय दिएकी छिन् । सो समय बिहीबार सकिँदै छ ।