रोजगारविहीन मजदुरलाई खाना खुवाउन, अस्पताल जान नसक्नेलाई अस्पताल लैजान, एम्बुलेन्सको जोहो गर्न, अक्सिजन नपाएकालाई अक्सिजन सिलिन्डर उपलब्ध गराउन सक्रिय छन् स्वयंसेवी

विमल पन्त, अध्यक्ष, हाम्रो टिम नेपाल
सोमबार बिहान ९ बजे थापाथली प्रसुतीगृहपछाडिको बागमती किनारको चौरमा लस्करै लाइन बसेका मजदुरहरूलाई खाना बाँड्नमै व्यस्त थिए, विमल पन्त । खाना खान जम्मा भएका मजदुरहरूलाई सामाजिक दूरी कायम गराउनै स्वयंसेवकलाई हम्मेहम्मे परिरहेको थियो । तर, उनी सबैलाई लाइनमा राखेर पालैपालो खाना र पानी दिइरहेका थिए । सबैलाई खाना दिइसकेपछि बल्ल उनी फुसर्दिलो भए, तर केही क्षण नबित्दै उनको फोन बज्यो । फोनमा कसैले भनिरहेको थियो, ‘अस्पतालमा अक्सिजन नपाएर बिरामी छट्पटिरहेको छ, अक्सिजन चाहियो ।’ मजदुरलाई खाना खुवाउने काम अरू स्वयंसेवकको जिम्मामा छाडेर उनी अक्सिजन पुर्याउन दौडिए ।
अप्ठ्यारोमा परेका नागरिकको सहायताका लागि दिनरात खटिरहेको ‘हाम्रो टिम नेपाल’को टोलीका अध्यक्ष हुन् पन्त । कोरोना भाइरसका कारण निषेधाज्ञा सुरु भएपछि उनको दैनिकी मजदुरलाई सडकमा खाना खुवाउन, खाना नपाएकालाई खाद्यान्न राहत पुर्याउन, अस्पताल जान नसक्नेलाई अस्पताल पुर्याउन, एम्बुलेन्स जोहो गर्न, अक्सिजन नपाएकालाई अक्सिजन सिलिन्डर उपलब्ध गराउनमै बितिरहेको छ । सामाजिक कार्यमा खटिरहेका उनी बिहानदेखि आधा रातसम्म सहयोगमै व्यस्त हुन्छन् । अरूलाई खाद्यान्न सहयोगमै व्यस्त रहेका पन्तलाई कहिलेकाहीँ आफैँलाई खाना खाने फुर्सद हुँदैन । ‘सहरमा हुनेखानेलाई लकडाउनमा बसेर पनि टन्न खान पुग्छ, दुई–चार बोरा चामल र दुई–चार सिलिन्डर ग्यास राख्न सक्छन्, तर दिनभरि काम गरेर बेलुका छाक टार्नेहरू अहिले सडकमा छन् । हामीले घरमा बसेर टन्न खाएर उनीहरूलाई पुग्दैन,’ उनी भन्छन्, ‘बिरामी, अपांग, अशक्त र वृद्धवृद्धाले खान नपाएर सडकमा छटपटिरहेको हामीले हेरेर बस्न सकेनौँ । त्यसैले अहिले निरन्तर अप्ठ्यारोमा परेकाको साथमा खटिरहेका छौँ ।’
अघिल्लो लकडाउनका वेला सडकमजदुरलाई प्याकिङ गरेर खाना बाँडिएको थियो । सुरुको दिनमा ४० वटा प्याकेट लगेर बाँड्न सुरु गरिएको थियो, तर दोस्रो, तेस्रो दिन खाना खानकै लागि सडकमा तीनदेखि चार सय मानिस भेला हुन थालेपछि युवाहरूले त्यहीँ खाना बाँड्न थालेका थिए । खान नपाएर सडकमा छटपटिरहेका मानिसको अवस्था देखेर समाजसेवामा खटिएको बताउँछन् स्वंयसेवकहरू ।
दैनिक झन्डै ४५ जना मजदुरलाई खाना पकाउन र खाद्यान्न पुर्याउन व्यस्त

थापाथलीस्थित प्रसूतिगृहपछाडि बागमती किनारको चौरमा निषेधाज्ञापछि काम गुमाएर भोकै बनेका मजदुरलाई निःशुल्क खाना खुवाउँदै ‘हाम्रो टिम नेपाल’ ।
विमल पन्त मात्र नभई भोकमुक्त, नांगोमुक्त, भेदभावमुक्त राष्ट्र निर्माणको नारा लिएर समाजसेवामा लागेका अरू स्वयंसेवकको दैनिकी पनि अप्ठ्यारोमा परेकालाई सहयोग गर्दैैमा बितेको छ । सहयोगका लागि स्वयंसेवकको फोन ननस्टप आइरहन्छ । टिम नेपालका संस्थापक सचिव एलएस धामी भन्छन्, ‘टिमको पाँचजनालाई त फोन उठाउनै भ्याइनभ्याई छ । कुनवेला फोन आउँछ, सहयोगका लागि कुदिहाल्नुपर्छ । हाम्रो उद्देश्य अहिले कसैले पनि खाना नपाएर मर्न नपरोस् भन्ने हो ।’ दैनिक ४० देखि ४५ युवा २४सै घन्टा मजदुरलाई खाना खुवाउन र खाद्यान्न पुर्याउनमै व्यस्त रहन्छन् । जसमध्ये कोही बिहान खाना पकाउने र मजदुरहरूलाई खाना बाँड्न जाने, कोही अक्सिजन सिलिन्डर पुर्याउन जाने र खाद्यान्न पुर्याउनमै व्यस्त थिए ।
निषेधाज्ञा लागू भएसँगै सडकमा खटिरहेका स्वयंसेवकहरू अधिकांश विद्यार्थी र अन्य पेसामा संलग्न छन् । कलेज र अफिसको कामबाट समय निकालेर समाजसेवामा लागिरहेका युवाहरूको अधिकांश समय अरूलाई सहयोग गर्दैमा बितिरहेको छ । निषेधाज्ञामा अफिस र कलेज बन्द भएपछि दिनभरि सेवामा जुट्नेमा सन्ध्या बज्राचार्य र स्वस्तिका खड्का पनि छन् । दुवैजना कलेज पढिरहेका विद्यार्थी हुन् । दुवैले फरक–फरक ठाउँमा जागिर पनि गर्छन् । निषेधाज्ञा सुरु भएपछि उनीहरूको पनि अधिकांश समय खाना पकाउन र बाँड्नमै बित्ने गरेको छ ।
‘सात महिनादेखि म यहाँ निरन्तरजसो आइरहेकी छु । बीचमा कामबाट फुर्सद हुँदा यता सघाउन आउँथे, अहिले त दिनभरि यतै छु । बाटोमा खाना नपाएर बसेका आमाबुबाहरूको कथा सुन्दा रुन मन लाग्छ, अनि आफ्नो अलिकति समय दिएर उनीहरूको छाक टर्छ, जीवन बाँच्छ भने किन नगर्ने भनेरै म यहाँ छु,’ सन्ध्या भन्छिन् । उनी पिपुल्स कलेजमा स्नातक पढ्दै छिन् । बिहानै उठ्ने, खाना पकाउने, प्याक गर्ने र सडकमा लगेर खान दिने र फर्किएर फेरि अर्कोपटकका लागि खानाको तयारी गर्नमै उनको दिन बित्ने गर्छ ।
तरकारी काट्दा हातको औँलाभरि घाउ भइसकेको छ, स्वस्तिकाको । उनी एक मार्बल सप्लायर्स कम्पनीकी अकाउन्टेन्ट हुन् । निषेधाज्ञा भएदेखि हाम्रो टिम नेपालमै खाना खाने र दिनभरि काममा खटिनेमध्येमा उनी पनि पर्छिन् । भन्छिन्, ‘दुःख परेकालाई सहयोग गरिरहुँजस्तो लाग्छ । अरूको सेवा गर्न अहिले बानी नै लागिसकेको छ । लाइन लागेर खाना खान कुरिरहेकालाई खाना दिँदाको जस्तो सन्तुष्टि कहीँ भेटिँदैन,’ उनी भन्छिन् ।
आफ्नो पेसा सम्हाल्दै हाम्रो टिमसँग मिलेर सहयोग गरिरहेका थुप्रै युवाहरू अहिले सडकमा मजदुरहरूसँगै भेटिन्छन् । जसमध्ये कविता पौडेल र कमला पहाडी पनि पर्छन् । कविता हाम्रो टिम नेपालकी संस्थापक सदस्य हुन् । उनीहरूले सडकमा लगातार खाना खुवाउँदै आएको मंगलबार ११ दिन पुग्यो । ‘अरूलाई सहयोग गर्न थुप्रै सम्पत्ति चाहिँदैन । यदि मान्छेले चाहने हो भने पैसा र समय जसरी पनि म्यानेज गर्न सकिन्छ । हाम्रो टिम नेपाल यसैको एउटा उदाहरण हो । अहिले टिममा दैनिक ५० को हाराहारीमा युवाहरू संगठित भएर काम गरिरहेका छौँ,’ उनी भन्छिन्, ‘काठमाडौं सहर हामीले बाहिरबाट देखेको जस्तो छैन । रोग, भोकले ग्रस्त सहरमा मानिसहरू कसरी छटपटाइरहेका छन् भन्ने महसुस भइरहेको छ । अप्ठ्यारोमा परेकालाई हाम्रो सानो सहयोगले ठूलो राहत पुगिरहेको छ । यसले समाजसेवालाई निरन्तरता दिने ऊर्जा बढाइरहेको छ ।’
लकडाउन सकिए पनि बेरोजगार मजदुरलाई निरन्तर खाना

हाम्रो टिम नेपालअन्तर्गत रहेर र अन्य संस्थाबाट युवाहरू दैनिक स्वयंसेवकको रूपमा सडकमा खटिइरहेका छन् । महामारीको समयमा संक्रमणभन्दा भोक र अन्य रोगले मरिरहेका नागरिकलाई सहयोगका लागि दिनरात युवाहरू लागिपरेका छन् । गत वर्ष कोरोनाकै कारण लकडाउन भएपछि हाम्रो टिम नेपालका केही सदस्य मिलेर सडकमा खाना खुवाउन सुरु गरेका थिए । बिस्तारै सडकमा खाना खानेको संख्या बढ्दै गएपछि टिमका सदस्यहरूबाटै पैसा संकलन गरेर खाना खुवाउन थालिएको थियो । लकडाउनको अवधि बढ्दै गएपछि मजदुरहरू बढ्न थालेपछि देशविदेशमा रहेका नेपाली नागरिकको सहयोग जुट्न थालेपछि टिमले सडकमा रहेकालाई दैनिक खाना खुवाउँदै आइरहेको छ । निषेधाज्ञासँगै मजदुरहरू भोकले छटपटाउन थालेपछि गत वर्ष १४ चैतदेखि हाम्रो टिम नेपालले सडकमा मजदुरहरूलाई निःशुल्क खाना खुवाउन थालेको थियो । सुरुवातमा रत्नपार्कमा सडकमा राखेर खाना खुवाउन थाले पनि काठमाडौं महानगरपालिकाले वैकल्पिक व्यवस्था गर्ने भन्दै थापाथली पुर्याएको थियो । तर, सडकमा खाना खानेको भिड नघटेपछि युवाहरूले लगातार खाना खुवाउँदै आएका हुन् ।
लकडाउन सकिए पनि मजदुरहरू काममा फर्किन नसकेपछि हाम्रो टिम नेपालले मजदुरलाई खाना खुवाउने अभियान जारी राख्नुपरेको बताउँछन् हाम्रो टिम नेपालका अध्यक्ष पन्त । उनी भन्छन्, ‘लकडाउनपछि हामीले घरबारविहीन, पाटीपौवामा बस्ने, मनोरोगी र सडकमा बस्नेलाई निःशुल्क खाना खुवाउँदै आएका थियौँ । फेरि निषेधाज्ञा सुरु भएसँगै असंगठित मजदुरहरू खाना खान आउन थालेका छन् । अहिले दैनिक चार सयजनाजति छन्, एक डेढ हप्तामा हजारदेखि १५ सय पुग्ने अनुमान गरेका छौँ ।’
अहिले ४५ जना सक्रिय सदस्य रहेको हाम्रो टिम नेपालमा ११ सय सदस्यहरू छन् । युवाहरू मिलेर बनाइएको यो संगठनले पैसा संकलन गरेर मजदुुरहरूलाई खाना खुवाउनेदेखि लिएर बाढीपहिरो र आगलागीपीडितलाई पनि सहयोग गर्दै आएको छ । टिम नेपालका अध्यक्ष पन्तले बाँकेमा आगलागीमा परेर नष्ट भएका एक सय २३ परिवारका तीन सय ८० जनालाई एक हप्ता निःशुल्क खाना खुवाएको बताए । यस्तै, ताप्लेजुङको दोभानमा आगलागी हुँदा ४४ घर जलेका थिए । सो विपत्तिमा पनि हाम्रो टिम नेपालले लुगाकपडासहित सहयोग गरेको थियो ।