कोरोनाकाल : हिन्दू कम्युनिस्ट सत्ताको सकस

बुधबार, २९ बैशाख, २०७८
डिजिटल संस्करण

महँगी, बेरोजगारी, गरिबी र महामारीले आक्रान्त जनतालाई राहतरूपी मलम चाहिएको हो, जोकर होइन 

युके भेरियन्टमा रूपान्तरण भएको कोरोनाको दोस्रो लहरले फेरि विश्वलाई नै हायलकायल बनाइरहेको छ । जसको तीव्र प्रभावको केन्द्र भारत, ब्राजिललगायत देशहरू बन्दै गएका छन् । भारतसँगै सिमाना जोडिएको छिमेकी देश नेपाल पनि कोरोनाको दोस्रो लहरबाट नराम्ररी थलिन पुगेको छ । सरकारी तथ्यांकअनुसार नै दैनिक दशौँ हजार संक्रमितहरू थपिँदै गएका छन् । दिनहुँ कोरोनाको कारण ज्यान जानेको संख्या २२५ पुगिसकेको छ । अस्पतालमा बिरामीले बेड नपाएर बरन्डालगायत सबै खाली ठाउँ भरिभराउ छन् । यस्तो अवस्थामा संक्रमित बिरामीलाई चाहिने अक्सिजनको अभाव सिर्जना गरिएको छ । कैयौँ बिरामी अस्पतालमा भर्ना गर्ने प्रयास गर्दागर्दै बीचबाटोमै मृत्यु भएका समाचार पनि आइरहेका छन् । यी सबै घटनाक्रमलाई नियाल्दा हामी साँच्चिकै संगीन र भयावह अवस्थाबाट गुज्रिरहेको सजिलै आकलन गर्न सकिन्छ ।

 कोरोना व्यापक फैलिँदै गएपछि सरकारले संघीय राजधानीलगायत अधिकांश जिल्लामा निषेधाज्ञा तथा लकडाउन गरेको छ । संक्रमण थप तीव्र बन्दै गएपछि काठमाडौंमा बिहान तीन घन्टा मात्र अत्यावश्यकीय वस्तु खरिद–बिक्री गर्ने समय तोकिएको छ । तर, यस अवधिमा किनमेल गर्ने मानिसहरूको भीडले भने कोरोना भएको अनुभूति नै हुँदैन । यसबाहेक अन्य अवधिमा राजधानीका बस्तीहरू प्रायः सुनसान नै देखिन्छन् । कोरोनाकालमा सरकारले गरेको ठूलो काम यही लकडाउन नै भएको छ । निषेधाज्ञा लागू भइसकेपछि सहरकेन्द्रित आधाभन्दा धेरै जनसंख्या अनेकौँ सास्ती झेल्दै गाउँ फर्किसकेको छ । सहरमा बसोवास गर्दै आएको सीमित सम्भ्रान्त वर्गका घरहरू खाद्यान्न, ग्यास तथा अक्सिजनका सिलिन्डरले भरिपूर्ण भएका छन् । सरकारी अस्पतालका बेडहरू भरिएर संक्रमितले बेड नपाइरहँदा निजी अस्पतालहरू धनी संक्रमितका लागि विलासी बेडहरूको विज्ञापन गरिरहेका छन् । ठूलो विपन्न वर्ग भने दश रुपैयाँको मास्क लगाएर कोरोनासँगै भोकले मरिने हो कि भन्ने भयमा बाँच्न विवश छ । 

पुरातन रूढिग्रस्त सोच र अन्धविश्वासलाई लल्कार्दै तथ्य र विज्ञानमा आधारित कुरामा अविचल आस्था र विश्वास राख्छन् कम्युनिस्टहरूले भनेर प्रशिक्षित भएका हौँ, हामी । आजको सत्ताधारी कम्युनिस्टहरूमा यी गुण कतै पनि भेट्टाउन सकिँदैन ।
 

यस्तो कहालीलाग्दो महामारीमा आमजनता र खासगरी गरिब निमुखा जनताको अभिभावक बन्नुपर्ने सरकार गत वर्षजस्तै फेरि कमिसनका लागि बिचौलिया रिझाउन लागिपरेको छ । भारतलगायतका देशसँग सम्झौता भएअनुसारका कोभिसिल्ड खोपहरू ल्याउन नसक्दा अधिकांश जनता कोरोनाको उच्च जोखिममा रहेका छन् । अब त्यही खोपलाई चार गुणा महँगो मूल्यमा निजी अस्पताललाई बिक्री गर्ने अनुमति दिएको छ, सरकारले । यी विभिन्न चलखेल गरेर अहिलेका सत्तासीन शासकहरू जसरी पनि आफ्नो सत्ता टिकाउन पूरै शक्ति प्रयोग गरेर लागिपरेका छन् । प्रदेशदेखि संघीय संसद्मा समेत करोडौं खर्चिएर सांसद किनबेचमा समेत उत्रिएको यथार्थ उदांगो भइसकेको छ । यी यावत् हर्कतले कम्युनिस्ट नामधारी शासकहरू जनमानसमा अरू दुर्गन्धित बन्दै गएका छन् । 

किन हिन्दू कम्युनिस्ट सत्ता ?
हामीले पढेको र बुझेका कम्युनिस्टहरू भौतिकवादी हुन्छन्, प्रगतिशील हुन्छन् भन्ने हो । यसभन्दा अझ बढी कम्युनिस्टहरू सामूहिक र सीमान्तकृतहरूको हितमा निरन्तर उभिरहन्छन् भनेर भीषण संघर्षमा लामबद्ध भएका हुन् । पुरातन रूढिग्रस्त सोच र अन्धविश्वासलाई लल्कार्दै तथ्य र विज्ञानमा आधारित कुरामा अविचल आस्था र विश्वास राख्छन् कम्युनिस्टहरूले भनेर प्रशिक्षित भएका हौँ, हामी । आजको सत्ताधारी कम्युनिस्टहरूमा यी गुण कतै पनि भेट्टाउन सकिँदैन । उल्टै हिन्दू राजनीतिक पृष्ठभूमिबाट भारतीय राजनीतिमा हावी भएका समकक्षी मोदीलाई नै माथ गर्ने गरी हाम्रा प्रधानमन्त्री हिन्दू धर्मलाई पुनस्र्थापित गर्न लागिपरेका छन् । धर्मनिरपेक्ष देशका प्रधानमन्त्रीले हिन्दूहरूका आराध्यदेव मानिने पशुपतिनाथ मन्दिरमा विशेष पूजाआजा गर्न तथा सुनको जलहरी चढाउनसमेत भ्याइसकेका छन्।

बहुधार्मिक, बहुसांस्कृतिक मूल्यसहित स्थापित मुलुकको प्रधानमन्त्रीले रामायणको मिथकीय पात्र रामको जन्मस्थान अयोध्या चितवनको ठोरीमा रहेको घोषणा गरेका छन् । त्यसमाथि कोरोना फैलिरहेको समयमा आफ्ना आसेपासे र धर्मभिरुहरूलाई जम्मा गरेर राम, सीता, हनुमानका मूर्तिलाई पूजा गर्दै जात्रा लगाएर ठोरीमा पु¥याउने निर्देशन पनि उनैले दिए । चितवनमा उनका मन्त्री, मुख्यमन्त्री, अरू पदाधिकारी तथा जनताको ठूलो भीडभाडमा उक्त मूर्तिहरूलाई मन्दिरमा भिœयाउने काम गरियो । कम्युनिस्ट पार्टीको नाममा भएका प्रधानमन्त्रीको सांस्कृतिक र धार्मिक विचलनको विषय मात्र होइन, यो । बरु सिंगो कम्युनिस्ट राजनीतिमा आस्था राख्नेहरूका लागि पनि भद्दा मजाकको विषय हो । त्यसकारण अहिलेका कम्युनिस्ट नामधारी शासकहरूलाई हिन्दू दक्षिणपन्थी शासकको हैसियतमा बुझ्दा नै बढी वस्तुवादी देखिन्छ । 

जस्तो आमचेतनास्तर, त्यस्तै शासक 
कम्युनिस्ट राजनीतिको स्कुलिङमा नेता हुन आमजनताको चेतनास्तरभन्दा एक तह माथि हुनुपर्ने दाबी गरिन्थ्यो । अन्ततः बुझ्दै जाँदा आमजनताको धरातलले कस्तो नेतृत्व निर्माण गर्ने भन्ने निर्धारण गर्दोरहेछ । अर्थात्, जनताको बानी व्यहोरा, स्वभाव, अभिरुचि, चाहना जस्तो छ, त्यसै प्रकारको नेता बन्ने हो । यसलाई द्वन्द्ववादी ढंगले हेर्दा जनचाहनाअनुसार नेता बन्ने हो, तर नेताअनुसार पनि जनताको चेतनास्तर निर्धारण हुने हो । त्यसो हो भने अब अलिक हाम्रो चेतनास्तरबारे चर्चा गरौँ । 

हामीकहाँ नेताहरू बदलिन नसकिरहेको अवस्था हो । नेताहरूलाई किन बदलिन नसक्नुभएको हो भनेर प्रश्न गर्दा जवाफ आउँछ, ‘जनचाहनाअनुसार चल्नुप¥यो नि !’ यो जवाफ संसदीय कम्युनिस्ट नेताहरूको हो । उनीहरू भोटको राजनीतिमा आइसकेपछि पैसा कमाउनेदेखि धर्म कमाउनेसम्म सबै गर्न तयार हुनुपर्ने बाध्यता रहेको बताउँछन् । अवश्य पनि यस्तो बाध्यता सिर्जना गर्न जति नेताहरूको हात छ, त्योभन्दा बढी दोष ती नेता बनाउने जनताको पनि रहेको छ । केही अपवादबाहेक हामी अधिकांश जनतालाई नेताहरूले मन्दिर बनाइदिएको र धार्मिक अनुष्ठान गरिदिएकै मन पर्छ । आफ्नो धार्मिक सभामा आएर कार्यक्रम उद्घाटन गरिदिएकै गज्जब लाग्छ । सत्य–तथ्य, सही–गलत वास्तै नगरी कैयौँ अन्धविश्वासले भरिएका संस्कार अनुसरण गर्नै सहज र आनन्द हुन्छ । चुनावका वेला आस्था, विचार, कार्ययोजना, प्रतिबद्धताभन्दा केही रुपैयाँ, केही खानेकुरा नै मीठो लाग्छ । 

मुखले जति सुशासनको रट लगाए पनि यो सरकार अनियमितता, कमिसन र भ्रष्टाचारले सबैभन्दा बढी गनाइरहेको छ । यसको ज्वलन्त उदाहरण कोरोनाकालकै खरिद प्रक्रियालाई हेर्दा छर्लंग हुन्छ ।
 

हाम्रा यस्ता हजारौँ कमजोरीबारे आफैँलाई कहिले प्रश्न गर्ने हो ? अर्को नेतालाई बिगार्ने महत्वपूर्ण तप्का उनीहरूका भाट कार्यकर्ता हुन् । पार्टीका कार्यकर्ता भनेका भोलि बन्ने नेताहरू नै हुन् । यिनीहरूमा पनि असल नेता बन्नका लागि हुनुपर्ने आधारभूत गुणहरूको अपेक्षा गरिनु स्वाभाविक हो । तर, विडम्बना ! आज अधिकांश पार्टी कार्यकर्ता नेताले गरेका गलत कामलाई पनि आफ्नो निहित पद, पैसा तथा प्रतिष्ठाका लागि ढाकछोप गर्न तथा झुटो प्रशंसा गर्न अभ्यस्त छन् । जसको अन्धानुकरण गरेर राम्रै नेता पनि बिग्रिने क्रम बढ्दो छ । 
 
काम एकातिर, ध्यान अर्कैतिर
आमजनमानसमा एउटा भ्रम थियो– हामीले सामाजिक न्याय र समृद्धि पाउन नसकेको स्थायित्व नभएर हो । त्यसैले नेकपा (नेकपा)लाई झन्डै दुईतिहाइको म्यान्डेट जनताले दिए । यो म्यान्डेट संघीय स्तरमा मात्र होइन, प्रान्तीय र स्थानीय तहमा पनि नेकपालाई नै दिइएको हो । इतिहासकै सबैभन्दा बलियो मानिएको विद्यमान सरकारका सबै क्रियाकलापलाई हेर्दा अब स्थायित्वको भ्रम पूर्ण रूपमा साफ भएको छ । यो सरकारले सम्पन्न गर्न सफल भनिएको एउटा काम मेलम्चीको पानी काठमाडौंमा ल्याइपुर्‍याउनु हो । तर, यो परियोजनाको श्रेय कृष्णप्रसाद भट्टराईदेखि अहिलेको सरकारलाई समेत बाँडिन्छ । यसबाहेक प्रधानमन्त्री र उनको सरकारको फोकस लोकरिझ्याइँमा बढी तर आमजीवनमा निम्छरो देखिन्छ । 

भूकम्पले पाँच वर्षदेखि बेघरबार भएका जनता कष्टसाध्य जीवन जिउन बाध्य छन् । विद्यालय भवन पुनर्निर्माण नभएकाले विद्यार्थीहरू टहरामा पठनपाठन गरिरहेछन् । प्रधानमन्त्री कोरोनाले च्याप्दै लगेका बखत भीडभाड गरेर धरहरा उद्घाटन गर्न हतारिरहन्छन् । कहिले संविधान कानुनलाई कुल्चिएर संसद् विघटनदेखि असंवैधानिक नियुक्ति गर्न पुग्छन् । मुखले जति सुशासनको रट लगाए पनि यो सरकार अनियमितता, कमिसन र भ्रष्टाचारले सबैभन्दा बढी गनाइरहेको छ । यसको ज्वलन्त उदाहरण कोरोनाकालकै खरिद प्रक्रियालाई हेर्दा छर्लंग हुन्छ । निर्मलादेखि नवराज विकहरूले अझै न्यायको आभास पाउन सकिराखेका छैनन् । महामारीकै बीचमा मलर सदा, सूर्यमान तामाङ, बुधु सदाहरू भोकभोकै मर्न÷मारिन विवश छन् । एउटा लोकतान्त्रिक देशका लागि योभन्दा घोर मानवअधिकार उल्लंघनको घटना के हुन सक्छ ? 

अब अति भएन र ? 
आजको नेपाली राज्यको चरित्र र व्यवहारलाई मूल्यांकन गर्दा न लोकतान्त्रिक छ, न समाजवादी । केही निजी घरानियाँ, बिचौलिया तथा पार्टीका आसेपासे चाटुकारहरूलाई मात्र यो राज्य व्यवस्था लोकतान्त्रिक, समाजवादी लागेको होला । देशको भीमकाय हिस्सा काम–मामका लागि कोरोना छल्दै परदेसिन बाध्य छ । आफ्ना जहानलाई दुई छाक टार्न सकिने हो/होइन, ठेगान छैन । लाखौँ युवा उच्च शिक्षा हासिल गरेरै पनि बेरोजगारीका कठिन दिन कटाउन बाध्य छन् । महँगी दिनप्रतिदिन आकासिँदो छ । अलिअलि कामधन्दा हुनेले पनि ढुक्कले हातमुख जोर्न धौधौ छ । कोरोनाले भएका कामकाज ठप्पै हुँदा भोकमरीले जनजीवन अस्तव्यस्त हुने निश्चित छ । सामान्य नागरिकले अस्पतालमा उपचार पाउने कल्पना गर्न सकिँदैन । वास्तवमा जनसाधारणले यस्तो विपद्को घडी राज्यको अनुभूति गर्ने ठाउँ कहीँ कतै पाउन सकिरहेका छैनन् । 

जनताको दैनन्दिन दुखिरहेको भोक, रोग र शोकको घाउमा प्रधानमन्त्रीले उखान–टुक्का र जोक्स सुनाउँदा खिसीटिउरी गरेर नुनचुक छर्केजस्तो पीडाबोध हुन्छ । महँगी, बेरोजगारी, गरिबी तथा महामारीले आक्रान्त भएका जनतालाई राहतरूपी मलम चाहिएको हो, जोकर होइन । बेसार र बेलौतीको पातले कोरोना निको हुने भए आज यत्रो विज्ञान प्रविधि किन चाहिन्थ्यो होला र ? आफ्ना जनतालाई एउटा मास्कसम्म निःशुल्क बाँड्न नसक्नेले किन गलत उपाय ‘पे्रस्क्राइब’ गरेर अरू दिग्भ्रमित गर्नुपरेको हो ? अब पनि हामी सचेत नागरिक यस्तै भ्रम, अन्धविश्वास र मिथकमा रमाउँदै रहने हो भने जोकर शासकहरूको आयु थप लम्बिने नै छ । मुक्ति पाउने हो भने सचेत भएर संगठित हुन र संघर्ष गर्न अनिवार्य छ । 

सुझावित समाचार