दोलखामा कोरोनाका बिरामी बोक्न चार एम्बुलेन्सको व्यवस्था

मंगलबार, २८ बैशाख, २०७८
डिजिटल संस्करण

पछिल्लो समय कोरोना संक्रमितको संख्या तीव्र रूपमा वृद्धि भएसँगै जिल्ला संकट व्यवस्थापन समितिले कोरोनाका बिरामी बोक्न चार एम्बुलेन्सको व्यवस्था गरेको छ । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा सोमबार बसेको जिल्ला संकट व्यवस्थापन समितिले जिल्लाभर कोरोनाका बिरामीहरूको संख्या बढेको र समयमा अस्पताल लैजान कठिन भएको भन्दै चार एम्बुलेन्सलाई कोभिड डेडिकेटेड बनाउने निर्णय गरेको हो । 

संकट व्यवस्थापन समितिका सदस्य एवं दोलखाका प्रहरी प्रमुख भेषराज रिजालले जिल्लाभर सञ्चालनमा आएका एम्बुलेन्समध्ये चारवटालाई कोरोनाका मात्रै बिरामी बोक्ने गरी सञ्चालनमा ल्याउन लागिएको जानकारी दिए । उनका अनुसार चरिकोटको च्छोरोल्पा अस्पताल र सामुदायिक अस्पतालका एक–एकवटा एम्बुलेन्स, बिगु गाउँपालिकाको एक र बाबरेस्थित गजेन्द्र स्मृति फाउन्डेसनले सञ्चालन गरेको एम्बुलेन्सलाई जिल्ला संकट व्यवस्थापन समिति मातहत ल्याएर सञ्चालन गर्न लागिएको हो । 

समितिले यसरी सञ्चालन गर्दै छ एम्बुलेन्स 
समितिले चार एम्बुलेन्सहरूलाई दोलखा प्रहरीको सञ्चारसँग कनेक्सन गराएर आवश्यक सूचनाका आधारमा बिरामी ओसारपसारका लागि खटाउनेछ । प्रहरी प्रमुख रिजालका अनुसार सबै एम्बुलेन्सको चालक कक्षलाई बार लगाएर कोभिडका मात्रै बिरामीलाई जिल्लाभित्र र राजधानीका अस्पतालसम्म लैजाने व्यवस्था गर्न लागिएको हो । 
एम्बुलेन्सका चालकहरूलाई खान, बस्न र अन्य आवश्यक सुविधासहित स्वास्थ्य बिमासमेत समितिले नै गर्ने जनाइएको छ । चालकलाई जिल्लाभित्र बिरामी बोकेबापत प्रतिटिप पाँच सय र राजधानी जानुपरे एक हजार अतिरिक्त सुविधासमेत उपलब्ध गराउने निर्णय भएको समितिले जनाएको छ । जसका लागि बिरामीहरूले एम्बुलेन्स प्रयोग गरेबापत सरकारी दररेटका आधारमा रकम बुझाउनुपर्ने रिजालले जानकारी दिए । 

उनका अनुसार कोभिडका बिरामीलाई सहज ढंगले उपचार सेवा प्रदान गर्न यो अभियान सुरु गरिएको हो । अब कोभिडका बिरामीले सवारी साधन नपाए बुधबारबाट सीधै प्रहरीलाई खबर गर्न सकिने डिएसपी रिजालले बताए । 

दोलखामा मंगलबारसम्म सक्रिय संक्रमितको संख्या २०७८ मा मात्रै २ सय २३ पुगेको छ भने मृत्यु हुनेको संख्या दुईजना रहेको जिल्ला स्वास्थ्य कार्यालय दोलखाकी पब्लिक हेल्थ अफिसर सपना केसीले जानकारी दिएकी छन् । उनका अनुसार मंगलबार मात्रै जिल्लाको मेलुङ गाउँपालिकाकी एक महिलाको कोभिडकै कारण निधन भएको छ । सोमबार कालिञ्चोक गाउँपालिकाका एक पुरुषको निधन भएको थियो ।
 

सुझावित समाचार