मध्यपुरथिमि नगरपालिकाका ६ जना वडाध्यक्षले वडा क्षेत्रको विकासका लागि छुट्याएको बजेट कटाएर अक्सिजनसहितको आइसोलेसन बनाउने घोषणा गरेका छन् ।
नगरपालिका क्षेत्रमा कोरोना संक्रमितहरूको संख्या दिनानुदिन थपिँदै गइरहेको र संक्रमितहरूले उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्था रहेको भन्दै ६ जना वडाध्यक्षहरूले विकासका लागि छुट्याएको बजेट कटाएर अक्सिजनसहितको आइसोलेसन बनाउने सामूहिक घोषणा गरेका हुन् ।
वडा नं. १ का अध्यक्ष सुरज खड्का, २ का अध्यक्ष राम थापामगर, ३ का अध्यक्ष प्रेमबहादुर कुटु, ४ का अध्यक्ष कुमार श्रेष्ठ, ५ का अध्यक्ष इन्द्रबहादुर प्रजापति र ६ का अध्यक्ष रामकाजी चक्रधरले संयुक्त विज्ञप्ति जारी गर्दै सिन्टिटारस्थित कृषि विकास बैंकको केन्द्रीय तालिम प्रतिष्ठान भवनमा नगरपालिकाले सञ्चालन गरिरहेको ५० शय्याको आइसोलेसनलाई स्तरोन्नति गर्ने बताएका छन् । सो आइसोलेसनमा अक्सिजन र दक्ष चिकित्सकहरूको पनि व्यवस्थापन गर्ने जारी विज्ञप्तिमा उल्लेख छ ।
चालू आर्थिक वर्ष ०७७/७८ को विनियोजित बजेटको योजना तथा कार्यक्रमहरूबाट प्रत्येक वडाबाट १५ लाख रुपैयाँका दरले कुल ९० लाख रुपैयाँ छुट्याएर आइसोलेसन व्यवस्थापन गर्ने योजना बनाएको वडा नं. २ का अध्यक्ष राम थापामगरले जानकारी दिए ।