अक्सिजन उत्पादक कम्पनीहरूले सरकारले अक्सिजन आपूर्तिका लागि तत्काल वैकल्पिक व्यवस्था नगरे भारतमा भन्दा ठूलो संकट नेपालमा देखापर्ने चेतावनी दिएका छन् । कोभिड– १९ संक्रमितको संख्या बढेसँगै अक्सिजन अभावमा बिरामीको मृत्यु भएको तथा अस्पतालका आइसियू र भेन्टिलेटर सञ्चालनमा समस्या भएको समाचार आइरहँदा अक्सिजन उत्पादकहरूले भविष्यमा अझै ठूलो समस्या आइपर्ने चेतावनी दिएका हुन् ।
अक्सिजन उत्पादक संघका महासचिव नारायण तिमिल्सिनाले बजारमा अक्सिजनको असाध्यै ठूलो अभाव भएकाले २४सै घन्टा प्लान्ट चलेको अवस्थामा पनि थेग्न सक्ने अवस्था नरहेको बताए । उनले तत्काल सरकारले अक्सिजन आपूर्तिका लागि वैकल्पिक व्यवस्था नगर्ने हो भने यो समस्या चौगुणले वृद्धि हुने चेतावनी दिए ।
उनले सरकारले अक्सिजन आपूर्ति सहज बनाउन बाहिरबाट आयात गर्ने कि स्वदेशी उत्पादनको क्षमता वृद्धि गर्ने भन्नेबारेमा छिटो निष्कर्षमा पुग्नुपर्ने बताए । उनले अहिले काठमाडाैं उपत्यकामा मात्रै आठवटा प्लान्ट सञ्चालनमा रहेको र दुईवटा प्लान्टहरू मर्मतको क्रममा रहेको जानकारी दिँदै सबै प्लान्ट पूर्ण क्षमतामा सञ्चालन गर्दा पनि वर्तमान अवस्थामा अक्सिजनको माग थेग्न नसकिने बताए । अहिले दैनिक झन्डै नाै हजार ग्यास सिलिन्डर उत्पादन भइरहेको पनि उनले जानकारी दिए ।
सगरमाथा अक्सिजन नेपाल प्रालिका अध्यक्षसमेत रहेका तिमिल्सिनाले घरमा अनावश्यक अक्सिजन स्टक नराख्न तथा घर, अस्पताल, इन्डस्ट्रिजमा भएका खाली सिलिन्डर उद्योगमा फिर्ता गरेर सर्वसाधारणको जीवन रक्षाका लागि सहयोग गर्न आह्वान पनि गरे ।