जनतालाई राहत दिन किनेको पाँच हजार केजी चामल गोदाममै कुहियो

कुहिएको चामलबारे जनप्रतिनिधि बेखबर, फाल्नुपर्ने चामल राख्न दुई हजारको कोठा भाडामा

शनिबार, २५ बैशाख, २०७८
डिजिटल संस्करण
जनतालाई राहत दिन किनेको पाँच हजार केजी चामल गोदाममै कुहियो

नगरपालिकाको बेवास्ताले कुहिएको पाँच हजार केजी चामल । अहिले यो कुहिएको चामल मासिक दुई हजार भाडा तिरेर राखिएको छ । तस्बिर  चिरञ्जीवी घिमिरे/नयाँ पत्रिका

झापाको गौरादह नगरपालिकाले जनतालाई राहत दिन किनेको पाँच हजार केजी चामल गोदाममै कुहिएको छ । गत वर्ष नगरपालिकाले खरिद गरेको चामल जनतालाई दिन नपाउँदै कुहिएको हो । गत वर्ष कोरोना महामारीका समयमा भएको लकडाउनका समयमा जनता भोकै पर्दा नबाँडी राखेको चामल कोदाममै कुहिएको हो । पानी चुहिने भवनमा स्टोर गरेर राख्दा ठूलो परिणामको चामल कामै नलाग्ने भएको छ । 

नगरपालिकाको बेवास्ताका कारण पाँच हजार केजी चामल नष्ट भएको छ । उक्त चामल नगरपालिकाले ३८ रुपैयाँ प्रतिकेजीका दरले खरिद गरेको थियो । नष्ट भएको चामलको मूल्य एक लाख ९० हजार पर्न जान्छ । ‘पाँच हजार केजी चामल कुहिएको छ । यो काम नलाग्ने अवस्थामा पुगेको छ,’ गौरादह नगरपालिकाका स्टोर प्रमुख अर्जुनभाइ दाहालले भने, ‘केलायो भने केही चाहिँ काम लाग्ला कि ! तर, त्यो पनि भन्न सकिन्न । त्यसै त खान सकिँदैन ।’

चामलसँगै १५ बोरा भुजा पनि छ । त्यो भुजा पनि काम नलाग्ने अवस्थामा पुगेको दाहालले जानकारी दिए । नगरपालिकाले गत वर्ष वडानम्बर–१ स्थित पुरानो सरकारी सहकारी भवनमा यो चामल स्टोर गरेर राखेको थियो । भवन जीर्ण भएको थियो । त्यही कारण चामल कुहिएको उपप्रमुख गीता भेटवालले जानकारी दिइन् । तर, कति परिणाममा चामल कुहिएको छ भन्ने जानकारी जनप्रतिनिधिलाई समेत छैन । ‘व्यवस्थापन भइसक्यो । काम नलाग्ने चामल फालिसक्यो भन्ने जानकारी आएको थियो,’ भेटवालले भनिन्, ‘तर, त्यत्रो पाँच हजार केजी त हैन होला ? ताततातै प्याकिङ गरेर चामल ल्याइयो । पछि पानीले भिज्यो । अनि चामल बिग्रिएको हो ।’ 

बिग्रिएको चामल राख्न पनि नगरपालिकाले भाडाको सटर लिएको छ । यसअघिको भवनमा विगतदेखि नै ब्याडमिन्टन खेल्ने गरेका थिए । चामल राखेका कारण खेल्न नपाइएकाले स्थानीयको आग्रहमा त्यहाँबाट चामल हटाएर भाडाको घरमा कुहिएको चामल राखिएको छ । कामै नलाग्ने चामल राखेबापत नगरपालिकाले उक्त सटरको दुई हजार तिर्नुपर्छ । जनतालाई राहत दिन खरिद गरिएको चामल जनतालाई भोकै बनाएर गोदाममा थन्काइएको थियो । 

आवश्यकताभन्दा बढी चामल खरिद गरेर लाखौँ रकम नस्ट पार्ने जनप्रतिनिधि भने कुहिएको चामलका बारेमा बेखबर छन् ।  एक लाख ९० हजारको चामल कुहिएर नस्ट हुँदा पनि नगर प्रमुख रोहितकुमार साह आफूलाई जानकारी नभएको बताए  । ‘मलाई अहिलेसम्म प्रतिवेदन पेस गरेको छैन । मलाई स्टोरबाट जानकारी आएको छैन । बिहान म अफिस जाँदा पनि जानकारी पाइन,’ उनले भने, ‘मैले चामल बिग्रेको देखेकै छैन । बोरा उठाउँदा दुई÷चार केजी झरेर बिग्रिएको होला । अरू मलाई चाहिँ जानकारी छैन ।’ 

जनता भन्छन् : नगरपालिकाले हामीलाई दिन कजुस्याइँ गर्यो, कोदाममै कुहाएर फालेछ
 झापा गौरादह–२ दलुका सुकुम्बासी प्रिति हस्दालाई गत वर्ष लकडाउनका समयमा पहिलो चरणमा नगरपालिकाले राहत दिएन । कारण उनी अर्काको अधियाँ खेती गर्थे । उनले त्यसवेलासम्म अधियाँ गरेर ल्याएको धान सकिसकेका थिए ।
तर, नगरपालिकाले उनलाई सम्पन्न देख्यो । घरमा खाने चामल नै नभएपछि नगरपालिका गएर हात फिजाए । उनलाई बल्ल–तल्ल राहत पाए । तर, दश केजी चामल । 

‘१० जनाको परिवारलाई दश केजी चामल त हात्तीको मुखमा जिरा जस्तो मात्र भएको थियो । कति दिन त भोकै बस्यौँ,’ उनले भने, ‘त्यसवेला नगरपालिकाले हामीलाई चामल दिन कजुस्याइँ गर्यो । तर, अहिले कुहाएर फालेछ । त्यो वेला हामीलाई दिएको भए केही छाक त टार्ने थियौँ ।’ 

दोस्रो लहरको कोरोना संक्रमण फैलिएसँगै जिल्ला प्रशासन कार्यालय झापाले निषेधाज्ञा जारी गरेको छ । यो समयमा मजदुरले काम पाउन छाडेका छन् । रोजगार गुमेसँगै दलुका सुकुम्बासी भोकै पर्ने खतरा छ । ‘कामबाट निकाली सके । काम नगरी बसेको तीन दिन भयो । घरमा भएको सकिन लाग्यो,’ दलुका सुकुम्बासी मुन्सी हस्दा भन्छन्, ‘पोहोर साल पनि कति दिन त भोकै बसियो । नगरपालिकाको ताल यही हो । यसपटक पनि कति लकडाउन हुने हो । हाम्रोचाहिँ बिजोग हुनेभयो ।’

See More On

सुझावित समाचार