नयाँ पत्रिकाकर्मी पाण्डेसहित १२ जनालाई राष्ट्रिय पत्रकारिता पुरस्कार

शनिबार, २५ बैशाख, २०७८
डिजिटल संस्करण

नयाँ पत्रिकाकर्मी शुरोजंग पाण्डेसहित १२ जना राष्ट्रिय पत्रकारिता पुरस्कारबाट सम्मानित हुने भएका छन् ।  छैटौँ राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा सरकारले प्रदान गर्ने जनही एक–एक लाख राशिको सो पुरस्कार पाण्डेसहित १२ जनालाई प्रदान गर्ने निर्णय भएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले शुक्रबार आयोजित कार्यक्रममा घोषणा गरेको हो । पाण्डे करिब दुई दशकदेखि पत्रकारितामा क्रियाशील छन् ।  

हरेक वर्ष नियमित रूपमा प्रदान गरिने वरिष्ठ पत्रकार सम्मान र राष्ट्रिय पत्रकारिता पुरस्कार गत वर्ष कोभिड संक्रमणका कारण घोषणा गरिएको थिएन । ०७६ र ०७७ दुवै वर्षको पुरस्कारबाट यस वर्ष वरिष्ठ पत्रकार सम्मान दुई–दुईसहित चारजनालाई तथा राष्ट्रिय पत्रकारिता पुरस्कार १२ जनालाई प्रदान गरिने घोषणा भएको छ । कोरोना महामारीका कारण पुरस्कार वितरण परिस्थिति सामान्य बनेपछि गरिने मन्त्रालयले शुक्रबार आयोजित भर्चुअल कार्यक्रममार्फत जनाएको छ ।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ, मन्त्रालयका सचिव हरिप्रसाद बस्याललगायतले पुरस्कृत पत्रकारहरूलाई बधाई दिए । विगतमा भने राष्ट्रपति कार्यालयमा आयोजना गरिने कार्यक्रममा राष्ट्रपतिबाट सो पुरस्कार वितरण गर्ने प्रचलन थियो ।

जसअनुसार वरिष्ठ पत्रकार सम्मानबाट अग्नि शिखा (मरणोपरान्त), हर्ष सुब्बा, रघु मैनाली र शार्दूल भट्टराईलाई सम्मान गर्ने निर्णय भएको सञ्चार मन्त्रालयले जनाएको छ । वरिष्ठ पत्रकारिता पुरस्कार प्राप्त गर्ने पत्रकारले जनही दुई लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

त्यसैगरी, राष्ट्रिय पत्रकारिता पुरस्कारबाट नयाँ पत्रिकाकर्मी पाण्डेसहित पत्रकारहरू उजिर मगर, मातृका पौडेल, दिलीप थापामगर, शीतल साह, संगिता खड्का, शेषराज दाहाल, हेमन्त विक, दुर्गाप्रसाद शर्मा, दिपेन न्यौपाने, नितु पण्डित र पुनम पौडेल पुरस्कृत हुने मन्त्रालयले जनाएको छ ।

सुझावित समाचार