कमिसनखोरका अघिल्तिर सरकारको लाचारी

शुक्रबार, २४ बैशाख, २०७८
डिजिटल संस्करण

खोप खरिद प्रक्रियामा समेत कमिसन खान एजेन्टहरू लागिपरेको समाचार बाहिरिएसँगै महामारीमा पनि व्यापारिक संस्थाहरू कमिसन खान कसरी लाग्छन् भन्ने छर्लंग भएको छ । कैयौँ साना तथा गरिब मुलुकले कोरोनाविरुद्धको खोप पाउन नसकिरहेको वेलामा सरकारले आफ्ना नागरिकलाई जोगाउने हेतु ५० लाख डोज खोप भारतको खोप उत्पादक सेरम इन्स्टिच्युटबाट खरिद गर्ने भएको थियो । तर, स्थानीय एजेन्टको दबाबमा पर्दा सरकार आफ्नै निर्णय कार्यान्वयन गराउने मामिलामा अनिर्णयको बन्दी बन्न पुगेको छ । यसअघि सरकारले भारतकै सेरम इन्स्टिच्युटबाट १० लाख डोज खोप ल्याएको पनि थियो । खोप ल्याउने विषयमा भएको डिलकै आधारमा प्रधानमन्त्री केपी शर्मा ओलीले २३ फागुनमा सबै नेपालीलाई खोप लगाइने घोषणा पनि गरेका थिए । तर, समय उस्तै रहेन । 

नागरिकको जीवनसँग खेलबाड गर्ने बिचौलिया र उनीहरूलाई आडभरोसा दिने जो–कसैलाई पनि ठेगान लगाउन नसक्ने हो भने मन्त्रीलाई नैतिकताले पनि त्यहाँ बस्न मिल्नेछैन ।

सेरम इन्स्टिच्युटसँग नेपाल सरकारले गरेको सहमति नेपालकै उसको एजेन्ट हुकुम डिस्ट्रिब्युसन एन्ड लजिस्टिक प्रालिले कुल ३२ करोड ४३ लाख कमिसनको दाउमा हाललाई रोकिदिएको छ । यसबाट झन्डै तीन करोड नेपाली जनताको जीवनमाथि खेलबाड हुन गएको स्पष्ट छ । जनवरीमा भएको समझदारीमा पहिलो खेपमा १० लाख डोज खोप फेब्रुअरीमा पठाउने र दोस्रो खेप मार्चमा पठाउने कबोल गरिएअनुसार नै १० लाख डोज खोप नेपाल आयो । र, त्यसै आधारमा सरकारले सबै जोखिम समूहसम्म खोप पुर्याउन सकिने विश्वास लियो । तर, स्थितिले त्यति वेला पलट खायो, जब स्थानीय एजेन्ट आफ्नो कमिसनका लागि सक्रिय भयो । 

खोप खरिदमा देखिएको कमिसन खाने खेलले रेन्ट सिकिङ प्रवृत्तिको वास्तविक अनुहार त देखिएको छ नै, यसले यहाँका राजनीतिज्ञ र प्रशासकहरूप्रति पनि शंकाको दृष्टिले हेर्नुपर्ने बनाइदिएको छ । किनभने कुनै पनि व्यवसायीले राजनीतिज्ञ र प्रशासकको सहयोगविना यस्तो कार्य गर्न सक्दैन । एउटा कुरा के हो भने कमिसन एजेन्ट, तिनलाई संरक्षण गर्ने राजनीतिक नेतृत्व र स्वास्थ्य मन्त्रालयबीच चलेको रस्साकस्सीले खोप ल्याउने समय गुज्रिँदै जाँदा भारतमा कोरोनाको दोस्रो लहरले च्याप्दै लग्यो र भारतमै खोपको माग तथा आपूर्तिबीच ठूलो खाडल सिर्जना भयो । यी सबै घटनाक्रमको कुल योग नेपालमा खोप आउन सकेन । 

सेरमसँग भएको प्रारम्भिक सम्झौता र एजेन्टको चलखेलको समयकै बीचमा स्वास्थ्य मन्त्रालयले खोप खरिदको अवसर गुमायो । सेरमसँगको मात्र होइन, कुनै वैकल्पिक व्यवस्थापनतिर पनि सरकारको ध्यान जान सकेन । अहिले स्वास्थ्यमन्त्री र मन्त्रालयसमेत कमिसन एजेन्टतिर फर्केर धारेहात लगाउने, तर खोप ल्याउन नसक्ने अवस्थामा फसेका छन् । स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले सार्वजनिक रूपमा व्यक्त गरेका विचारलाई आधार मान्ने हो भने उनले मन्त्रीको कुर्सीमा बस्ने र झन्डावाल गाडीमा ओहोरदोहोर गर्ने आत्मबल कसरी प्राप्त गरिरहेका होलान् भन्नुपर्ने हुन्छ ? तर, नागरिकहरूको जीवनसँग खेलबाड गर्ने बिचौलिया र उनीहरूलाई आडभरोसा दिने जो–कसैलाई पनि ठेगान लगाउन नसक्ने हो भने मन्त्रीलाई नैतिकताले पनि त्यहाँ बस्न मिल्नेछैन । 

सम्पादकको रोजाइ

सुझावित समाचार