१८ हजार १७० पदाधिकारी र कर्मचारीले सम्पत्ति विवरण बुझाएनन्, पाँच हजारका दरले जरिवाना गर्न अख्तियारलाई सिफारिस

बिहिबार, २३ बैशाख, २०७८
डिजिटल संस्करण

सम्पत्ति विवरण पेस नगर्ने १८ हजार एक सय ७० पदाधिकारी एवं कर्मचारीलाई कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सिफारिस गरिएको छ ।  सार्वजनिक पद धारण गरेका व्यक्तिले नियमित रूपमा सम्पत्ति विवरण पेस गर्नुपर्ने भए पनि अटेरी गर्ने जनप्रतिनिधि, पदाधिकारी, निजामती कर्मचारी, शिक्षक र प्रहरीसँग जनही पाँच हजार जरिवाना असुल गर्न राष्ट्रिय सतर्कता केन्द्रले बिहीबार अख्तियारलाई सिफारिस गरेको हो ।


सतर्कताका अनुसार गत आर्थिक वर्ष ०७६-७७ मा सम्पत्ति विवरण नबुझाउनेमा संघका १३ हजार आठ सय ४४, प्रदेशका दुई सय ६३ र स्थानीय तहका चार हजार ६४ पदाधिकारी, कर्मचारी छन् ।  ०७६-७७ मा सम्पत्ति विवरण नबुझाउनेमध्ये सात हजार चार सय ५१ शिक्षक छन् ।

त्यसैगरी, तीन हजार चार सय २९ निजामती कर्मचारी र एक सय ६१ प्रहरीले पनि सम्पत्ति विवरण पेस गरेका छैनन् । जिल्ला समन्वय समितिका २८ जनाले पनि सम्पत्ति विवरण बुझाएका छैनन् । जनकपुर उपमहानगरपालिकाका कुनै पनि जनप्रतिनिधिले सम्पत्ति विवरण नबुझाएको सतर्कताले जनाएको छ । 

प्रतिवेदनअनुसार गत आवमा ६ लाख ५० हजार एक सय २८ जनले मात्र सम्पत्ति विवरण बुझाएका छन् । सतर्कताका सूचना अधिकारी हरिप्रसाद शर्माका अनुसार आर्थिक वर्ष ०७५-७६ मा त्यस अघिल्लो आवमा पाँच लाख ८९ हजार पाँच सय ५२ ले सम्पत्ति विवरण बुझाएका थिए भने १७ हजारभन्दा बढीले विवरण पेस गरेका थिएनन् ।

सार्वजनिक पदमा बहाल व्यक्तिले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० अनुसार नियुक्तिको ६० दिनभित्र र हरेक आर्थिक वर्ष कानुनबमोजिम सम्पत्ति विवरण पेस गर्नुपर्ने व्यवस्था छ । पदाधिकारी÷कर्मचारीले सम्पत्ति विवरण बुझाए–नबुझाएको सम्बन्धमा राष्ट्रिय सतर्कता केन्द्रले अनुगमन गर्ने गर्छ ।

अख्तियारले भ्रटाचार निवारण ऐनअनुसार सम्पत्ति विवरण नबुझाउने राष्ट्रसेवक कर्मचारीलाई पाँच हजार रुपैयाँका दरले जरिवाना गर्नेछ । सम्पत्ति विवरण नबुझाउनेमाथि अख्तियारले अकुत सम्पत्ति आर्जनको आशंकामा छानबिनसमेत अघि बढाउन सक्ने कानुनी व्यवस्था छ ।

सतर्कताका सचिव दिनेशकुमार घिमिरेले अख्तियारलाई प्रतिवेदन पेस गरेका थिए । अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राईले समयमै सम्पत्ति विवरण पेस नगर्ने सार्वजनिक पद धारण गरेका व्यक्तिउपर आयोगबाट कानुनी कारबाही हुने बताए ।

सुझावित समाचार