नेपालमा एकै दिन ५८ संक्रमितको मृत्यु, आठ हजार ६५९ मा संक्रमण पुष्टि

देशभर ६६ हजार तीन सय ५२ जना सक्रिय संक्रमित

बुधबार, २२ बैशाख, २०७८
डिजिटल संस्करण

कोरोना संक्रमणबाट एकै दिन ५८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा प्रवक्ता डा. जागेश्वर गौतमले बुधबार आयोजित नियमित प्रेस ब्रिफिङमा यो जानकारी दिएका हुन् । यो संख्या एकै दिन मृत्यु हुने हालसम्मकै धेरै हो । 

कोरोना संक्रमण पनि हालसम्मै धेरैमा पुष्टि भएको छ । गौतमका अनुसार नेपालमा पछिल्लो २४ घन्टामा आठ हजार ६ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पिसिआर विधिबाट आठ हजार ६ सय पाँच र एन्टिजेन विधिबाट ५४ जनामा संक्रमण पुष्टि भएको गौतमले बताए । 

गौतमका अनुसार काठमाडौंमा तीन हजार आठ सय ४९, ललितपुरमा पाँच सय १८ र भक्तपुरमा चार सय ५८ जनामा संक्रमण पुष्टि भएको छ । 

देशभरका प्रयोगशालाबाट बुधबार २० हजार सात सय ५६ नमुनाको पिसिआर परीक्षण गरिएको छ भने ६ सय १६ जनाको एन्टिजेन परीक्षण गरिएको गौतमले बताए । 

देशभर ६६ हजार तीन सय ५२ जना सक्रिय संक्रमित रहेका छन् । संस्थागत आइसोलेसनमा चार हजार सात सय ६४ र होम आइसोलेसनमा ६१ हजार पाँच सय ८८ जना रहेका छन् । 

पछिल्लो २४ घन्टामा एक हजार नौ सय ९३ जना संक्रमणमुक्त भएका छन् ।

एक–अर्कालाई संक्रमणको दृष्टिले हेरेर दूरी दुई मिटर कायम गर्न, मास्कको सधैँ प्रयोग गर्न र हातको सरसफाइमा सधैँ ध्यान दिन उनले अनुरोध गरे । 

सुझावित समाचार