तीनवटा अस्पताल चहार्दाचहार्दै परियारको मृत्यु

बुधबार, २२ बैशाख, २०७८
डिजिटल संस्करण

कोरोना संक्रमणको डरले आरपी मेडिकलको गेटमै शव छाडेर भागे आफन्त

धनुषामा कोरोना लक्षण देखिएका एक बिरामीको उपचार नपाएर मृत्यु भएको छ । धनुषाको मिथिला नगरपालिका स्थायी घर भएका, तर पछिल्लो केही वर्षदेखि बटेश्वर नगरपालिका–४ स्थित ससुरालीमा बस्दै आएका ४५ वर्षीय लोकबहादुर परियारको मंगलबार बिहान मृत्यु भएको हो ।

बन्धुप्रसाद बास्तोला प्रजिअ, धनुषा

अस्पतालमा बेड छैन भने त्यसको व्यवस्थापन गर्न सकिन्थ्यो वा बाहिरै राखेर उपचार गर्न सकिन्थ्यो । कुनै निजी अस्पताललाई नै भनेर केही गर्न सकिन्थ्यो होला । तर, यो विषयमा हामी कसैलाई थाहा भएन । परियारको अवस्थाबारे समयमै जानकारी भएन, दुःखद घटना भयो ।

चार/पाँच दिनदेखि रुघाखोकी तथा ज्वरो औषधि खाइरहेका परियारलाई सोमबार साँझ ८ बजेतिर श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि जनकपुरको प्रादेशिक अस्पताल लगिएको थियो । अस्पतालमा आइसियू बेड खाली नभएको भन्दै फर्काइयो । परियारलाई राति नै स्थानीय जानकी हेल्थ केयरमा उपचारका लागि लगियो । परियारसँगै रहेका कुरुवाले उपचार गराउनुभन्दा पूर्व नै आइसियूमा राखेर उपचार गर्दा लाग्ने खर्चबारे जिज्ञासा राखे । उपचार महँगो रहेको भन्दै त्यहाँबाट परियारलाई जानकी हेल्थ केयर एन्ड शिक्षण अस्पतालनजिकै रहेको रामजानकी हस्पिटल लगियो । त्यहाँ पनि उपचार महँगो रहेको, आफूले त्यति महँगो उपचार गराउन नसक्ने भन्दै परियारले गाउँमै लिएर जान आग्रह गरेको एम्बुलेन्सचालक रामबाबु महतोले बताए ।

‘निजी अस्पतालमा उपचार गराउन पैसा थिएन र सरकारी अस्पतालमा बेड नभेटेपछि बिनाउपचार घर फर्के,’ चालक महतोले भने । जनकपुरमा कुनै अस्पतालमा भर्ना नभएपछि गाउँकै बटेश्वर बजारमा रहेको आरपी मेडिकल हलमा उपचारका लागि पुग्दा परियारको मृत्यु भइसकेको उनले बताए । 

‘परियारको अक्सिजन लेबल क्रमशः कम हुँदै गयो,’ उनले भने, ‘त्यसमा एमबुलेन्समा रहेको अक्सिजन लगाएर चेक गर्दा ४५ मात्रै थियो । अक्सिजनको अभावमा उनको मृत्यु भएको हो ।’ आरपी मेडिकल हलका सञ्चालक सुबोध साहले जनकपुरबाट फर्काएर ल्याएलगत्तै बिहानै बिरामीको मृत्यु भएको जानकारी दिए । 

बटेश्वर गाउँपालिकाकी उपाध्यक्ष प्रमिलादेवी महतोले घटनापछि मात्र आफूहरूलाई थाहा भएको बताइन् । उनले भनिन्, ‘कुनै प्रकारको समस्या भए जानकारी गराएको भए केही पहल गर्न सकिन्थ्यो । तर, यहाँ कसैले थाहा पाएनन् । मान्छेको ज्यान गइहाल्यो ।’

जनकपुर प्रादेशिक अस्पतालका मेसु प्रमोद यादवले परियारको मृत्युको विषयमा सञ्चारमाध्यमबाट मात्र खबर पाएको बताए । उनले भने, ‘राति परियारलाई उपचारका लागि आइसियूमा ल्याइएको थियो, तर त्यसमा ६/७ वटा बेड मात्रै छ, बेड नभएपछि हामीले बिरामीलाई बाहिर नै पठाउने गर्छौं ।’ 

धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले घटनापछि मात्रै आफूहरूले थाहा पाएको बताए । ‘अस्पतालमा बेड छैन भने त्यसको व्यवस्थापन गर्न सकिन्थ्यो वा बाहिर राखेर उपचार गर्न सकिन्थ्यो । कुनै निजी अस्पताललाई नै भनेर केही गर्न सकिन्थ्यो होला । तर, यो विषयमा हामी कसैलाई थाहा भएन,’ उनले भने, ‘परियारको अवस्थाबारे समयमै जानकारी भएन, दु:खद घटना भयो ।’ मृतकमा कोरोना लक्षण देखिएकाले नेपाली सेनाले शवको सोही गाउँमा व्यवस्थापन गरेको प्रजिअ बास्तोलाले बताए । मृतकको स्वाब संकलन गरिएको उनले बताए ।

See More On

सुझावित समाचार