नेपालमा कोरोना संक्रमणबाट मंगलबार हालसम्मकै सर्वाधिक मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा देशभर ५५ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार अहिलेसम्म संक्रमणबाट मृत्यु हुनेको संख्या तीन हजार चार सय १७ पुगेको छ । सोमबार ३७ र आइतबार २७ संक्रमितको मृत्यु भएको थियो । वैशाखमा मात्रै तीन सय ५९ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा सात हजार ६ सय ६० जनामा संक्रमण पुष्टि भएको छ ।
यो संख्या पनि एकै दिन धेरै संक्रमित देखिएको अहिलेसम्मकै उच्च हो । मंगलबार १६ हजार एक सय ३१ जनाको पिसिआर गरिएको थियो । त्यसमा सात हजार पाँच सय ८७ जनालाई संक्रमण देखिएको छ । त्यस्तै, पाँच ७१ जनाको एन्टिजेन परीक्षण गर्दा ७३ जनाको पजिटिभ रिपोर्ट आएको छ । देशभर अहिले ५९ हजार सात सय ९८ जना सक्रिय संक्रमित छन् ।