कोरोना माहामारीसँग जुधिरहेको भारतको कारुणिक दृश्य - नवजात शिशुहरूसमेत अक्सिजन अभावमा

सोमबार, २० बैशाख, २०७८
डिजिटल संस्करण

-भारतको राजधानी नयाँदिल्लीस्थित बाल अस्पताल मधुकर रेन्बोले आइतबार बिहान एक सूचनामार्फत आफूसँग भएको अक्सिजन सकिनलागेको सार्वजनिक गरेको छ । अस्पतालको सूचनालगत्तै आम आदमी पार्टीका विधायक राघव चड्ढाले पाँचवटा अक्सिजन सिलिन्डर उपलब्ध गराएको जानकारी दिए । तर अस्पतालमा चार नवजात शिशुसँग ५० भन्दाबढी अक्सिजन सपोर्टमा उपचार भइरहेको छ । 

- दिल्लीकै गुरुग्रामस्थित केयर न्यु बर्न एन्ड चाइल्ड अस्पतालले पनि शनिबार अक्सिजन संकट भएको सूचना प्रकाशित गरेको थियो । यस अस्पतालमा पनि ६ जना नवजात शिशु एनआइसियू र दुईजनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । यी आठ नवजात शिशुको जीवन रक्षाका लागि अस्पतालले अक्सिजन सहयोग गर्न सूचनामार्फत अपिल गरेको छ । 

- नयाँदिल्लीमै गत शुक्रबार बिहान २५ परिवारले निकै दुःखद पीडा व्यहोर्नुप¥यो । सर गंगा रामपाल अस्पतालमा केही दिनदेखि कोरोना संक्रमणको उपचार गराइरहेका उनीहरूको आफन्तको अक्सिजन अभावमा ज्यान गएको अस्पताल प्रशासनले जानकारी दियो । अस्पतालका मेडिकल प्रमुखले अक्सिजन कमीले उनीहरूको निधन भएको पुष्टि गरे । 

दिल्लीजस्तो सहरमै अक्सिजन अभावका कारण कोभिड संक्रमित र अन्य बिरामीले ज्यान गुमाएको र उपचारबाट वञ्चित हुनुपरेको यी त प्रतिनिधि घटना मात्रै हुन् । दिल्लीका यी दृश्यले भारतका अन्य राज्यको अवस्था कस्तो होला भनेर अनुमान गर्न सहजै सकिन्छ ।

भारतका अस्पतालहरूमा एक सातादेखि अक्सिजनको हाहाकार छ । दिल्लीका केही सुविधासम्पन्न अस्पतालले समेत गम्भीर बिरामीहरूलाई अक्सिजन सुविधा भएका अस्पतालमा रिफर गरिरहेका छन् । गम्भीर अवस्थाका संक्रमितलाई २४सै घन्टा अक्सिजनको सहयोग आवश्यक पर्छ । संक्रमणका कारण इम्युनिटी पावर कमजोर हुने भएकाले उनीहरू आफँैले श्वास–प्रश्वास लिन सक्दैनन । यसैकारण जीवन रक्षार्थ २४सै घन्टा अक्सिजन दिनुपर्ने हुन्छ । 

सर गंगाराम अस्पतालले अहिले पनि ६० जना कोरोना संक्रमित जीवनमृत्युको सँघारमा रहेको जनाएको छ । निरन्तर अक्सिजन दिन नसकिए उनीहरूको जुनसुकै वेला ज्यान जान्छ । कानपुरमा गत साता अक्सिजनको कमीका कारण एक दर्जनभन्दा बढी कोभिडका बिरामीको निधन भयो । 

अस्पताल पुगेका बिरामीले अक्सिजन नपाएको मात्रै होइन घरमै आइसोलेसनमा बसिरहेका बिरामीले समेत औषधि नपाएको समाचारहरू आइरहेका छन् । कानपुरका पत्रकार प्रवीण मेहताले अस्पतालमा मात्र नभएर सामान्य कोभिडका बिरामीले औषधि नपाएर संघर्ष गरिरहेको बताएका छन् । ‘अस्पतालबाहेक होम आइसोलेसनमा रहेका बिरामी पनि अक्सिजन र औषधि नपाएर ज्यान गुमाउन बाध्य छन्,’ उनले भने । भारतमा कोरोनाको दोस्रो लहर अनियन्त्रित भएपछि सबै संयन्त्रले काम गर्न छाडेका छन् । 

सबै प्रदेशमा हाहाकार
भारतमा एक सातायता दिनहुँ साढे तीन लाखभन्दा बढी संक्रमित भइरहेको समाचार सार्वजनिक भइरहेका छन् । महाराष्ट्र, गुजरात तथा मध्यप्रदेशमा अक्सिजन अभावका कारण अस्पतालहरूले ‘अक्सिजन अभाव’ भनी साइनबोर्ड नै राख्न थालेका छन् । 

भारतका धेरै राज्यहरूमा अक्सिजन सिलिन्डर भर्नेको लम्बेतान लाइन लागेको छ । हैदराबाद सहरको केही निजी कम्पनीहरूले सिलिन्डर भाडामा लिएर चर्को मूल्यमा अक्सिजन सिलिन्डर भरिरहेको समाचार आइरहेका छन् । जसका कारण विपन्न बिरामीहरू अक्सिजन नपाएकै कारण ज्यान गुमाउन बाध्य भइरहेका छन् भने कतिपय मृत्युको प्रतीक्षा गरिरहेका छन् । सरकारी अस्पतालहरूले कोरोनाका बिरामीलाई सही समयमा उपचार दिन सकिरहेका छैनन् भने बिरामीले बेडसमेत पाएका छैनन् । यस्ता घटनामा सरकार र राज्यका मुख्यमन्त्रीहरूको ध्यान नगएको भन्दै विभिन्न सामाजिक संस्थाहरूले आलोचना गरिरहेका छन् । 

कमजोर नीति
सात महिनाअघि पनि भारतमा यस्तै समस्या भएको थियो । त्यसवेला संक्रमित दर त्यति नबढेका कारण सरकारले सरकारी तथा निजी अस्पतालमा अक्सिजन तत्कालै उपलब्ध गराएको थियो । तर, यो समयको दृश्य निकै फरक छ । अप्रिलयता भारतमा कोरोना संक्रमण नियन्त्रणबाहिर गएको छ । अधिकांश स्वास्थ्य संस्थाहरूले १५ प्रतिशत बिरामीलाई मात्रै अक्सिजन सप्लाई गरिरहेको छ । ८५ प्रतिशत ग्राहक अक्सिजनको प्रतीक्षामा छन् । 

सिनियर चिकित्सक राजेश भूषणले मेडिकल माफियाकै कारण भारतमा अचानक अक्सिजन कमी भएको दाबी गर्छन् । भारतमा अहिले दैनिक ७५ सय मेट्रिक टन अक्सिजन सप्लाई भइरहेको एजेन्सीहरूले जनाएका छन् । गत वर्षको सेप्टेम्बरको दोस्रो साता दोस्रो लहरको कोरोना देखापरेको थियो । त्यसपछिको तीन महिनामा यो तीवग्रतिमा फैलिएको डाक्टर भूषणको भनाइ छ ।

पुणेस्थित एक अस्पतालका डाक्टर सिद्धेश्वर सिन्डेले अकल्पनीय अवस्थासँग लडिरहेको बताए । उनी भन्छन्, ‘अस्पतालका केही बिरामीहरूले धम्की दिइरहेका छन्, २४ घन्टाभित्र आइसियूमा भर्ना गर्न नसकिए अस्पतालमा तोडफोड गर्ने कुरा गर्छन् ।’ अप्रिलको दोस्रो तथा तेस्रो सातादेखि पुणेमा धेरै संक्रमित देखिएको उनले बताए । गत साता मात्र भेन्टिलेटर नहुँदा बिरामीहरूलाई नजिकको सहरमा रिफर गर्न बाध्य भएको उनको सुनाए । महाराष्ट्रको पुणे अहिले निकै जोखिमपूर्ण अवस्थामा रहेको उनको विश्लेषण छ । यहाँ तेस्रो लहरको कोरोना संक्रिय हुन थालेको उनको अनुमान छ । पुणेमा दैनिक १२ सय मेट्रिक टन अक्सिजन उत्पादन हुन्छ । यो कोभिडका बिरामीलाई मात्रै ठिक्क हुने उनले बताए । अन्य रोगका बिरामीले अक्सिजन पाउनन नसकेको उनले बताए ।

पुणेको अर्को समस्या भनेको युवाहरूलाई समेत अक्सिजन दिनुपरिरहेको छ । सिद्धेश्वर भन्छन्, ‘गम्भीर बिरामीलाई तत्कालै अक्सिजन उपलब्ध गराउन नसक्दा उनीहरूको कुनै पनि समय निधन हुन सक्छ । तर, अस्पतालमा युवा बिरामीहरूलाई पनि अक्सिजन चाहिरहेको छ, यसबाट के थाहा पाउन सकिन्छ भने कोरोनाले युवादेखि वृद्धवृद्धा निकै समस्यामा छन् ।’

अगाडि बढ्न नसकेको अक्सिजन प्लान्ट
आफ्नै प्लान्ट भएको केरलाले अन्य सहरमा अक्सिजन वितरण गरिरहेको छ । केरलाबाहेक अन्य प्रमुख सहर तथा प्रान्तमा अक्सिजन प्लान्ट निकै कम छन् । प्रधानमन्त्री नरेन्द्र मोदीले विभिन्न सहरमा अन्सिजन प्लान्ट निर्माण हुने गत अक्टोबरमा घोषणा गरेका थिए । त्यसवेला उनले देशको एक सय ६३ स्थानमा अक्सिजन प्लान्ट निर्माण भइरहेको जानकारीसमेत दिएका थिए । उनले घोषणा गरेको आठ महिनापछि केवल ३३ स्थानमा मात्र प्लान्ट स्थापना भएको छ ।  
 एजेन्सीको सहयोगमा

See More On

सुझावित समाचार