कोरोना संकटमा गंगालाल अस्पतालले सुरु गर्‍यो अक्सिजन उत्पादन

दैनिक एक सय ३५ सिलिन्डर अक्सिजन उत्पादन हुने, कान्ति बाल अस्पतालमा पनि अक्सिजन प्लान्ट स्थापना गरिने

सोमबार, २० बैशाख, २०७८
डिजिटल संस्करण

गंगालाल राष्ट्रिय हृदय केन्द्रमा निर्मित अक्सिजन प्लान्टले अक्सिजन उत्पादन सुरु गरेको छ । काठमाडौं महानगरपालिकाको दुई करोड ७५ लाख रुपैयाँ लागतमा स्थापना गरिएको प्लान्टबाट आइतबारदेखि अक्सिजन उत्पादन सुरु भएको हो ।

महानगर र अस्पतालबीच १५ माघ ०७६ मा अक्सिजन प्लान्ट स्थापना गर्ने सम्झौता भएको थियो । काठमाडौं महानगरले गंगालालमा अक्सिजन प्लान्ट स्थापना गर्ने निर्णय गर्दा अहिलेको जस्तो अक्सिजनको अत्यधिक माग नभएको स्मरण गर्दै प्रमुख विद्यासुन्दर शाक्यले त्यसवेला गरेको निर्णयबाट अहिलेको कोरोना महामारी व्यवस्थापनमा लाभ बताए ।

‘गंगालाल हृदय केन्द्र र कान्ति बाल अस्पताल गरी दुई ठाउँमा हामी अक्सिजन प्लान्ट स्थापना गर्दै छौँ । दुई ठाउँबाट दैनिक करिब दुई सय सिलिन्डर अक्सिजन उत्पादन हुन्छ । अबको केही दिनमा कान्तिको प्लान्टबाट पनि अक्सिजन उत्पादन सुरु हुन्छ । यसबाट कोरोनाका बिरामीमा प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरेको छु ।’ 

प्रमुख शाक्यले कुनै कारणले अस्पताल आउँदा अक्सिजन नपाएर बिचल्ली नहोस् भनेर महानगरले यस्तो निर्णय गरेको बताए । ‘घरमा बस्दा सर्जिकल मास्क भए पुग्छ । अस्पतालमा पुगेपछि अक्सिजनको मास्क चाहिन्छ । त्यसैले सबैभन्दा राम्रो घरमा बसेर संक्रमणको चक्र तोड्नु नै बुद्धिमानी हुन्छ,’ उनले भने ।

प्लान्टको दैनिक ४७ लिटरका १३५ सिलिन्डर अक्सिजन उत्पादन गर्ने क्षमता छ । यसमध्ये गंगालालमा दैनिक करिब ९० सिलिन्डर अक्सिजन खपत हुन्छ । बाँकी अक्सिजन भरेर अन्यत्र पठाउन सकिनेछ । यो (अक्सिजन भर्ने) प्रणाली जडान हुन बाँकी छ । प्लान्टमा ३७ किलोवाटको एअर कम्प्रेसर, ३ डिग्री सेल्सियससम्म चिसो पार्ने एअर ड्रायर, एक हजार लिटर क्षमताको एअर ट्यांक, दुईवटा अक्सिजन जेनेरेटरलगायत उपकरण राखिएका छन् । 

गंगालालमा आन्तरिक पाइप प्रणालीबाट अक्सिजन बिरामी भएको ठाउँमा पुर्याइएकाले सिलिन्डर नचाहिने भएकाले खर्च जोगिएको प्रमुख शाक्यले बताए । ‘चाहिएको वेलामा उपलब्ध हुन सक्ने गरी अक्सिजन भएपछि सिलिन्डर जोहो गरिरहनु पर्दैन । नचाहिने सिलिन्डर फिर्ता गरिदिनोस्,’ उनले भने, ‘गंगालालले बिरामीसँग अक्सिजनको पैसा लिँदैन र भेन्टिलेटरको पनि पैसा लिँदैन । यो निःशुल्क सेवा सञ्चालन गर्न महानगरले गरेको सहयोग उल्लेख छ ।’ 

अस्पतालका कार्यकारी निर्देशक डा.चन्द्रमणि अधिकारीले अक्सिजन प्लान्ट सुरु हुनुले कोरोनाका बिरामीलाई सहयोग पुग्ने बताए । उनले मुटु र मिर्गौला डायलासिस गर्ने उपकरण जडानका लागि काठमाडौं महानगरसँग अपेक्षा रहेको बताए । ‘एउटै बिरामीको मुटु उपचार र मिर्गौलाको डायलासिस गर्नुपर्ने अवस्थामा कठिन भइरहेको छ । गंगालालमै डायलासिस गर्ने उपकरण भइदिए मुटुको उपचार गराउन आउने बिरामीले डायलासिस गर्न अर्को अस्पताल जानुपर्ने थिएन । यसका लागि महानगरसँग हामीले अपेक्षा राखेका छौँ,’ अधिकारीले भने ।

मुटुका बिरामीलाई निःशुल्क अक्सिजन उपलब्ध गराउने
मुटुको समस्या भएर गंगालाल हृदय केन्द्रमा उपचार गर्न आउने बिरामीलाई निःशुल्क अक्सिजन उपलब्ध गराउन प्लान्ट स्थापना गरिएको महानगरले जनाएको छ । यसका लागि महानगर र केन्द्रबीच १५ माघ ०७६ मा सहिद सप्ताहका कार्यक्रम पारेर सहमतिपत्रमा हस्ताक्षर भएको थियो । केन्द्रको २४औँ स्थापना दिवस तथा सहिद सप्ताहको कार्यक्रम पारेर महानगरका प्रमुख शाक्य र केन्द्रका कार्यकारी निर्देशक डा.अधिकारीले उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल र प्रदेश सभा सदस्य दीपक निरौलाको उपस्थितिमा सहमतिपत्रमा हस्ताक्षर गरेका थिए । यसका लागि महानगरले तीन करोड रुपैयाँ छुट्याइएको थियो । 

महानगरसँगको सम्झौताबमोजिम हृदय केन्द्रले प्लान्ट र यससम्बन्धी उपकरण खुला प्रतिस्पर्धाबाट खरिद गरेको हो । बोलपत्रबाट छनोट भएको प्रस्तावकले कबोल गरेको रकमबराबरको पैसा महानगरले केन्द्रको बैंक खातामा पठाएको थियो । प्लान्टको निरन्तर सञ्चालनका लागि पूर्वाधार तयार पार्ने, जनशक्ति खटाउने, विद्युत् प्रणाली जडान गर्ने, जनशक्ति खटाउने तथा मर्मत–सम्भार केन्द्रले गर्नेछ । केन्द्रमा प्लान्ट अनामिभले जडान गरेको हो । ‘अक्सिजन प्लान्टको वारेन्टी पाँच वर्षको हो । त्यसपछि तीन वर्षसम्म यसमा केही भए हामी निःशुल्क मर्मत गर्नेछौँ,’ अनामिभका इन्जिनियर बिजन अर्यालले भने । 

सुझावित समाचार